दसैँ पर्व,हराउँदै मौलिक संस्कृति

सुशीला रेग्मी/रामपुर (पाल्पा), १६ असोज । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो ।

पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताउनुभयो । उहाँका गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । “बारीका कान्लामा बाबियो पिङ बाट्न नकाटिकन संरक्षण गरेर राखिन्थ्यो, दसैँँ आउन लाग्यो भनेपछि तल्लो गाउँका स्थानीयवासी (बेँसी) हाम्रा गाउँमा आएर बाबियो काटेर लैजादा बल्ल दसैँँ आयो भन्ने आभास हुन्थ्यो”, उहाँले भन्नुभयो, “हिजोआज त कमैले बाबियो खोज्नुहुन्छ, हाम्रै गाउँमा पनि पहिलाजसो पिङ पातलो राख्न थालियो” ।

उहाँका अनुसार विक्रम्दी, भञ्ज्याङबारी, कुसुण्डे, गोलैचे, सर्पराज, छत्तिवनडाँडा, गिजिनडाँडालगायतका विभिन्न गाउँमा काठबाट बनेको चर्खे पिङ राख्ने गरिएकोमा अहिले यो पिङ हराउँदै गएको छ । केही ठाउँमा लिङ्गे पिङ भने राखेको पाइन्छ । पहिलेको तुलनामा यो पिङ पनि कमै राख्ने गरिन्छ ।

पिङ राख्न गाउँका सबै साथीभाई बिहानै उठेर बाबियो खोजेर पिङ राखेको स्मरण गर्नुहुन्छ, महेन्द्र तिवारी । गाउँमा अनिवार्यजसो दसैँँ र तिहारमा लिङ्गे पिङ राख्ने गरिएकामा अहिले यो राख्न छाडिदै गएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरदेखि टाढाका गाउँमा पुगेर बाबियो खोजेर ल्याइन्थ्यो, गाउँले सबै जम्मा भएर बाटेर पिङ तयार पारिन्थ्यो, अहिले पिङ बनाउन बाँबियो खोज्ने, बाट्ने झण्झट गर्न छाडियो ।”

दसैँँँ सुरु हुनुअघि गाउँका विभिन्न बारी, कान्लामा पुगेर बाबियो काटेर पिङ बनाउन भ्याइनभ्याइ हुने रामबहादुर रानाका दिन अहिले फुर्सदिलो बनेको छ । महिना दिनअघिदेखि नै गाउँघरमा आफँैले नेतृत्व गरेर पिङ हाल्ने रामबहादुर अहिले दसैँँ चाडमा बाँबियो काट्ने, पिङ बाट्ने गर्न छाडेको धेरै वर्ष भएको बताउनुहुन्छ ।

“पिङ खेल्न पहिलाजसो रहर मान्न सबैले छाडेपछि गाउँमा बाँबियो काटेर दुःखसँग तयार पार्न छाडियो, सबै आफ्नै दैनिकीमा व्यस्त बने, गाउँघरमा बजार वस्ती बढ्दै जाँदा पार्कहरु बनेका छन्, सानासाना बालबालिकालाई त्यही लगेर कृत्रिम पिङ खेलाउन थाल्ने क्रम बढ्यो”, उहाँले भन्नुभयो ।

परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको हो । आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । हिजोआज परम्परादेखि नै पाल्पामा चलनचल्तीमा आएको चर्खे, लिङ्गे जस्ता पिङ लोप हँुदै गएको छ । यद्यपि, चर्खे पिङको चुलनामा लिङ्गे पिङ भने पूर्णरुपमा विस्थापित भइसकेको छैन । तर लिङ्गे पिङ पहिलेजसो बाक्लोमात्रामा भने भेटिँदैन ।

चर्खे पिङ नखेलेसम्म दसैँँ आएको अनुभूति नहुने गरेको अनुभव सुनाउनुुहन्छ, बलबहादुर राना । चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको भए पनि अहिले कतै देख्न नपाउँदा संस्कृति नै हराउन पुगेकामा उहाँ चिन्ता गर्नुहुन्छ ।

चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एकपटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो । कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाई छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा राख्न छाडेको उनीहरुले बताए ।

पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढाटाढाबाट दसैँँका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ । दसैँँका दिन एक पटक भएपनि जमिन छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिने गरिन्छ ।

आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिदैनन् । सानासाना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घर–घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । गाउँघरमा चनचल्तीमा आएको चर्के पिङ, लिङेपिङ र घुमाउने पिङ खेलेर मज्जा लिदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने, खुसी साटासाट गर्ने गरिन्थ्यो । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन् ।

माटोले सिंगारिन छाडे घरका भित्ता

दसैँँ आउनु महिना दिन गावै घर लिपपोत गर्न रातो रसेतो माटोको बन्दोबस्तो गरेर घरघरमा राखिन्थ्यो । गाउँमा घर सिंगारेर चिटिक्क बनाउने छिमेकीबीच होडबाजी नै चल्थ्यो । खोलाका किनार, वनजङ्गलमा माटो खोजेर घर सजाउँदा गाउँ नै सुन्दर देखिन्थ्यो । तर हिजोआज भने खोला, वजनजङ्गलमा धाएर माटो खोजेर घर लिपपोत गर्ने चलन हराउँदै गयो ।

घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो, कालो माटोको तुलनामा बजारमा आएका विभिन्न रङ्गरोगनलगायतका वस्तुको प्रयोग बढ्न थालेको छ । बजारमा तयारी अवस्थामा पाइने विभिन्न वस्तुप्रति स्थानीयवासीको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम हुन थालेको छ ।

पछिल्ला वर्षमा गाउँघरमा पाइने वस्तुलाई उपभोग गर्न छाडेर महँगा मूल्यका वस्तु खरिद गरी घर सिंगारपटार गरेर घर सजाउने क्रम बढ्दो छ । हिजोका दिनमा माटोले पोतिएका घरका भित्तामा कमेरो र रातो माटोको ठाउँमा रङरोगन, चुना लगाउन थालेको राधिका पाण्डेयले बताउनुभयो । उहाँका अनुसार गाउँमा कमेरो माटो खोजेर घर लिपपोत गर्नै छाडियो ।

“वन तथा व्यक्तिको जग्गा जोडिएको ठाउँमा माटो निकाल्न पाइँदैनथ्यो । बिहान ३ वजे नै उठेर लाइट बालेर खोलाका किनारबाट माटो खोजेर ल्याइन्थ्यो, कहिलेकाँही रातिमा लुकेर ल्याइएको माटो वनका व्यक्ति तथा जग्गाधनीले खोसेर धेरै पटक रित्तै फर्किएर घर फर्कन्थ्यौँ”, उहाँले विगतलाई सम्झँदै भन्नुभयो ।

घरका भित्ता सेतो, रातो र कालो माटोको सुन्दर सजावट हेर्दै सबैलाई आकर्षित बनाउँछ । रङरोगन सजावटको महत्व कमै मात्रामा लिइन्छ । यसरी कृत्रिम वस्तुको प्रयोग दिनप्रति दिन बढ्दै जादा हाम्रा पुराना मौलिक संस्कार, संस्कृति हराउन पुगेका छन् । यसले चाडपर्व खर्चिलो र भड्किलो पनि बन्दै गएको छ ।

दसैँँमा चङ्गा उडाउने चलन हराउँदै

दसैँँँँमा चङ्गा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ । चाडपर्व सुरु भएदेखि गाउँघरमा साथीभाइ, आफन्त रमाइलो गर्दै आकाशमा चङ्गा उडाउने चलन रहे पनि अहिले यो कतै देख्न पाइँदैन । खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो ।

मनोरञ्जन मात्रै नभई परिवारमा खुसी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गर्दछ । खुल्ला चउर, सडकमा बसेर पालैपालो आकाशमा चङ्गा उडाउँदा गाउँ नै रमाइलो देखिन्थ्यो । हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिदैन । यस्ता पुराना संस्कृतिहरु हिजोआज लोप हुन पुगेका छन् ।

गाउँगाउँमा सबै कुराको सुविधा पुग्नु, ठूलाठूला घर भवन बन्दै जाँदा पुराना संस्कार संस्कृतिमा परिवर्तन आउन थालेको छ । पहिला गाउँमा चङ्गा उडाउने होडबाजीले कसका चङ्गा कति माथिसम्म पुग्यो भन्ने प्रतिस्पर्धामा उडाइने गरेपनि अहिले भने यस्तो संस्कृति गाउँबाट हटीसकेको युवा ओमप्रकाश रेग्मी बताउनुहुन्छ ।

खुला आकाशमा रङ्गमय चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । तर पूरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही स्कुल विद्यालयमा तल्ला कक्षामा पढ्ने सानासाना बालबालिकालाई दसैँँ ैँका बेला चङ्गा बनाएर देखाउने गरिएको छ । रामतुलसी मावि रामपुर पाल्पाका पूर्व बालविकास तहका बालबालिकालाई संस्कृति सिकाउन चङ्गा बनाउने र उडाउन सिकाउँदै टीका जमरा लगाएर यस वर्षको दसैँँ ैँपर्व विदा गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।