नेपालको कवाडी बजारमा भारतीय नागरिक
बेलबारी (मोरङ), २६ असोज । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी सङ्कलन केन्द्र रहेका छन् । सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा छ कवाडी सङ्कलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक भारत विहारकै समी जैसवाल हुनुहुन्छ । सङ्कलकहरुले गाउँसहरका विभिन्न भागबाट सङ्कलन गरी ल्याएको कागज प्रतिकिलो रु २०, धातुजन्य सामान प्रतिकिलो रु ५५, गाडीका पुराना टायर रु दुई सय देखि पाँच सयसम्म र सिसाको बोतलप्रति ओटा डेढदेखि दुई रुपैयाँसम्ममा खरिद बिक्री गर्छन् ।
यस्ता सामग्री उद्योगमा पु¥याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ । गाउँगाउँमा गएर पुराना सामान सङ्कलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको जैसवाल बताउनुहुन्छ । राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन । भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ । यही पेसाले आफ्नो परिवार चलेको जैसवाल बताउनुहुन्छ । (रासस)
पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली
काठमाडौँ, २६ असोज ९रासस० ःमौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ ।
हाल मधेस प्रदेशमा सामान्य बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । उक्त प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिममा मौसम सुधार हुँदै गएको छ भने पूर्वमा केही स्थानमा आशिंक बदली हुने देखिएको छ ।
महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


