पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला
स्याङ्जा, २९ असाेज । स्याङ्जाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए । घटनाबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा एक सय मिटर तल करिब १५ फिट गहिराईबाट उनको शव फेला पारेको हो ।
कालीगढ पलायनले टक्सारको धातु व्यवसाय सङकटमा
टक्सार (भोजपुर), २९ असोज (रासस) ःइतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै सङ्कटमा परेको छ ।
स्थानीयवासीका साथै दक्षकालीगढसमेत विस्थापित हुन थालेपछि टक्सारमा अहिले चार पाँच घरले मात्र धातुको व्यवसाय गर्दे आइरहनुभएको छ । विगतमा भोजपुरको टक्सारमा बनेका धातुका सामग्री बिक्रीका लागि अन्यत्र जाने गरेको भए पनि अहिले जिल्ला बाहिर बनेका धातुका सामग्री भोजपुरमा बिक्रीका लागि आउने गरेको व्यवसायी नवराज श्रेष्ठले बताउनुभयो ।
अहिले बजारमा बिक्रीका लागि राखिएका धातुका सामग्री धेरै मात्रमा धरानबाट आउँछ । अहिले केही घर बाँकी रहेका टक्सारका व्यवसायी पनि माग अनुसारका सामग्री मात्र उत्पादन गर्ने गरेको स्थानीय साजुकाजी शाक्यको भनाइ छ । शाक्यले भन्नुभयो, “विगतमा जस्तो धातु व्यवसाय अहिले छैन, ऐतिहासिक टक्सार बजार अहिले नाममा मात्र सीमित बन्न पुगेको छ ।”
टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचाँैरा, डबका नेपालभित्र मात्र नभएर विदेशमासमेत प्रसिद्ध रहेको थियो । ऐतिहासिक कलामा पोख्त कालीगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको हो ।
कालीगढको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीयस्तरमा खानी सञ्चालन नभएकोले तराईबाट आवश्यक कच्चापदार्थ र कोइला ढुवानी गर्दा महँगो हुने भएकाले पनि टक्सारबाट कालीगढको विस्थापन हुने क्रम बढेको स्थानीयवासी बिमल शाक्यले बताउनुभयो ।
टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन् । यहाँ निर्मित हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत् र भारतको दार्जिलिङ्, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ । टक्सारबाट विस्थापन हुने क्रम नरोकिएकाले पनि यो बजारको धातु उद्योग पनि सङ्कटमा परेको स्थानीयवासी बिमल रणपहेलीको भनाइ छ । —


