काठमाडौँ उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह

पूर्णप्रसाद मिश्र/काठमाडौँ, ४ मङ्सिर । काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ ।

काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य भएका छन् ।

काँठ क्षेत्रमा पनि यसअघिको स्थानीय तह निर्वाचनमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको तुलनामा उत्साहपूर्ण सहभागिता देखिएको काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिनुभयो ।

“यस क्षेत्रको सहरी भेग काठमाडौँ महानगरपालिका–६ को सरस्वतीनगर र बौद्ध क्षेत्रमा रहेको मतदान केन्द्रभन्दा गोकर्णेश्वर नगरपालिका- ३ स्थित तारेभीर क्षेत्रका मतदातामा उत्साह देखिएको छ”, उहाँले भन्नुभयो, “गोकर्णेश्वर नगरपालिकाकै बढी जनघनत्व भएका जोरपाटी, गोकर्णभन्दा कम जनघनत्व भएको सुन्दरीजल, कागेश्वरी क्षेत्रमा मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।”

यस निर्वाचन क्षेत्रको काँठ भेगमा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत हाराहारीमा मतदान भएको मतदान अधिकृत शाहीले जानकारी दिएको निर्वाचन क्षेत्र अधिकृतको कार्यालयले जनाएको छ ।

त्यही समयभित्रमा सहरी क्षेत्रमा भने करिब ४० प्रतिशत हाराहारीमात्र मतदान भएको छ । मतदानस्थलमा भेटिएका मतदातामा उत्साह भने धेरै देखिएको छैन ।

स्थानीय तह निर्वाचनमा जति पनि उत्साह मतदातामा नदेखिएको गोकर्णेश्वर नगरपालिका-१ का स्थानीयवासी रोशन पोखरेलले बताउनुभयो । स्थानीय तह निर्वाचनमा स्थानीयस्तरकै धेरै उम्मेदवार हुने भएकाले धेरै मतदाताको सहभागिता रहने गरेको थियो ।

राजनीतिक दल र तीनै तहमा यसअघि निर्वाचित जनप्रतिनिधिको गतिविधिले पनि मतदातामा मतदान गर्न जाने जाँगर नदेखिएको उहाँको भनाइ छ ।

राजनीतिक दल र तिनका प्रतिनिधिले निर्वाचनमा वाचा अनुसार काम नगर्ने, विधिभन्दा पनि राजनीतिक रङका आधारमा काम गर्ने, विभिन्न विवादास्पद गतिविधिमा जनप्रतिनिधि मुछिने गरेकाले पनि निर्वाचनप्रति मतदाताको उत्साह बढ्न नसकेको हो ।

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पनि सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमै मतदाताको उत्साह बढी देखिन्छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकासँग सीमा जोडिएको यस क्षेत्रको शङ्खरापुर नगरपालिकाका वडा नं. १, २, ३ र ४ मा बढी मतदाताको उत्साह देखिएको जनाइएको छ ।

काठमाडौँ जिल्ला क्षेत्र नं २ मा पर्ने महानगरपालिकाका–९ र ३२ मा मतदाताको कम उत्साह छ । वडा नं ९ का मतदाता सुरेश नेपाल राजनीतिक दलले यो क्षेत्रलाई प्रयोगशालाका रुपमा विकास गर्न खोजेकाले पनि मतदातामा उत्साह कम हुँदै गएको बताउनुहुन्छ । यो क्षेत्रमा ठूला दलले पटक–पटक बाहिरका उम्मेदवार उठाउने गरेका छन् । ठूला नेताले चुनाव लड्ने र जितेपछि अरु क्षेत्रमा जाने गरेकाले मतदाता रुष्ट हुने गरेका छन् ।

काठमाडौँ-३ मा सोमबार बिहानमात्र मतगणना हुने

काठमाडौँ-३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो ।

सोमबार बिहान ७ बजेपछि मतगणना नसकिएसम्म निरन्तर गणना भइरहने उहाँले सुनाउनुभयो । विगतका संसदीय निर्वाचनमा सबै क्षेत्रको कार्यालय राष्ट्रियसभा गृहमा राख्ने गरिएको थियो ।

यस वर्ष सबै क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय छुट्टाछुट्टै राखिएको छ । मतगणना पनि सबै क्षेत्रमा गरिने छ । काठमाडौँ–३ को मतगणना यसपटक चामुण्डा माध्यमिक विद्यालयमा गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको छ । एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने जानकारी पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकको पनि मतगणना सकेरमात्र मत यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने जनाइएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।