पदयात्रीका रोजाइमा ‘देवचुली डाँडा’

त्रिवेणी, १३ मङ्सिर । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सहतदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ । अहिले सो स्थान नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको रोजाइमा पर्ने गरेको छ ।

यहाँबाट नवलपुरका विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भागहरू अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिने जनाइएको छ ।

पर्यटकीय दृष्टिले ‘देवचुली डाँडा’ निकै रमणीय रहेको स्थानीय लोक तिमिल्सिनाले बताउनुभयो । प्राकृतिकरूपमा निकै सुन्दर ठाउँ रहेको र यहाँ घुम्दा निकै रमाइलो अनुभूति भएको उहाँले सुनाउनुभयो । “साँच्चै देवचुली डाँडा निकै रमाइलो ठाउँ रहेछ, पहिलोपटक आएँ, डाँडाबाट नजिकै देखिने हिमशृङ्खला, पहाडका टाकुरा र दक्षिणमा देखिने फाँट निकै मनमोहक लाग्ने”, उहाँले भन्नुभयो । पदयात्राका क्रममा बीच भागमा आवश्यक मात्रामा होटल, अघिल्लो दिन आउनेका लागि स्तरीय आवासको व्यवस्था भए अझै राम्रो हुने उहाँले बताउनुभयो ।

सो स्थान पूर्व–पश्चिम राजमार्गको दलदलेबाट उत्तरतर्फ रहेको छ । देवचुली डाँडा जाने दुईवटा मार्ग छन् । एउटा देवचुली नगरपालिकाको कीर्तिपुर हुँदै र अर्को कुसोतबाट पोखरी हुँदै देवचुली डाँडा जान सकिन्छ । कीर्तिपुर र पोखरीसम्म यातायातको सुविधा छ । पोखरी हुँदै जाँदा करिब २० किलोमिटर दलदलेबाट उत्तर लाग्नुपर्छ । कीर्तिपुरबाट जाँदा १२ किलोमिटरको दूरी पर्छ । त्यसपछि भने पैदलमार्ग सुरु हुन्छ । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुली डाँडा पुग्न सकिन्छ ।

देवचुली डाँडा जाने धेरैजसो पोखरी हुँदै जाने गरेका छन् । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले धेरैले यो मार्ग प्रयोग गर्ने गर्दछन् । यो मार्ग भएर जाने कतिपय अघिल्लो साँझ नै बोझापोखरी पुग्ने गर्दछन् । यहाँ घरबाससमेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहानै पैदलयात्रामा निस्कने गर्दछन् । कतै वन, बीच भागतिर एकाध घर र साना–साना फाँट छिचोल्दै देवचुली डाँडा पुगिन्छ । देवचुली डाँडा पदयात्राका लागि जिल्लाकै उत्कृष्ट गन्तव्य रहेको कावासोतीका बुलेट सिग्देलले बताउनुभयो । तर पदमार्गलाई थप व्यवस्थित बनाउने, बीच–बीचमा विश्रामस्थल निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, पदमार्गमा बाटाको सङ्केत चिह्न राख्ने हो भने अझै राम्रो हुने उहाँले बताउनुभयो । “केही पूर्वाधारको आवश्यकता रहेको छ, पदमार्ग राम्रो बनाउने, विश्रामस्थल, खानेपानीको व्यवस्था ठाउँ–ठाउँमा बनाउन सके अझै राम्रो हुने थियो”, उहाँले भन्नुभयो । रोट्रयाक्ट क्लब अफ नवलपुर सिटीका अध्यक्षसमेत रहनुभएका सिग्देलले देवचुली डाँडाको विकासमा सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।

सो स्थान जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यभित्रसमेत पर्ने गर्दछ । डाँडाबाट देखिने प्राकृतिक दृश्यसहित यहाँ प्राकृतिक गुफा, तीनकन्या माईको मन्दिर, भ्यूटावरलगायतका संरचनासमेत छन् । परापूर्वकालमा यहाँ पाँच पाण्डवहरू गुप्तवास बसेको किंवदन्तीसमेत रहेको छ । थारू समुदायले प्रत्यक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ ।

देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा नगरकै गौरव रहेकाले यस क्षेत्रको विकासमा आफूहरु लाग्ने बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासमा देवचुली डाँडालाई प्राथमिकता दिएर समेटिएकाले आवश्यक पूर्वाधार निर्माणमा नगर लागिपर्ने उहाँले जानकारी दिनुभो । “देवचुली डाँडा हाम्रो प्रमुख पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन आवश्यक परे निजी क्षेत्रलाई समेत समेटेर यस क्षेत्रलाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएका छौँ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो । देवचुली नगरपालिकाको नामाकरणसमेत यसै डाँडाको नामबाट गरिएको हो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।