ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो

केदार मगर/खोटाङ, ९ पुस (रासस) ः सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो ।

करिब रु ५५ करोड ८७ लाख लागतमा विसं २०७७ साउन १० गतेभित्र सक्नेगरी विसं २०७३ साउन ११ गते सम्झौता गरे पनि कालोपत्रको काम अपुरै राखेकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

योजना प्रमुख खकुरेलका अनुसार खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) कालोपत्रको काम ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

त्यस्तै उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का सम्झौता पनि तोडिएको जनाइएको छ । मैनाचुली–शिद्धिसाइ प्रकाश जेभीले करिब रु ११ करोड १७ लाखको लागतमा कालोपत्र सम्पन्न गर्नेगरी विसं २०७८ चैत २८ गते सक्ने गरी विसं २०७५ भदौ १४ गते ठेक्का सम्झौता गरेको थियो ।

कालोपत्रका लागि ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले बताउनुभयो । गाईघाट–दिक्तेल सडक अन्तरगतकै सिम्पानी–माहुरे (२३ किलामिटर) सडकखण्डको कालोपत्र गर्ने काममा पनि ठेकेदार कम्पनीको ढिलासुस्ती भएको स्थानीय बासिन्दाले बताएका छन् ।

विसं २०७७ असार २९ गते सक्नेगरी विसं २०७३ असार २० गते सम्झौता भएको थियो । उक्त योजनाको फेरि आगामी असार मसान्तसम्ममा म्याद थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढार्इंले बताउनुभयो ।

सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र सडकमा कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गको सडक कालोपत्रको ठेक्का तोडिएपछि निर्माणाधीन सडक अलपत्र परेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक निर्माण गरेको २८ वर्षसम्ममा पनि कालोपत्र नहुँदा हिउँदको समयमा करिब छ महिनामात्र सञ्चालन हुँदै आएको छ ।

दिक्तेल–गाईघाट एक सय ४२ किलोमिटर सडकमध्ये एक सय एक किलोमिटर सडकखण्ड कालोपत्र गर्न तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विसं २०७३ मा रु दुई अर्ब ६८ करोड बजेट विनियोजन गर्नुभएको थियो । ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ ।

दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुल बिहीबारबाट सञ्चालनमा ल्याइएको छ । फोक्सिङटारमा निर्माणाधीन मोटरेवल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत सहजता हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

सुनकोसीमा मोटरेवल पक्की पुल नहुँदा करिब छ महिना पूर्वी तराईसँगको सिधा सम्पर्कविच्छेद हुँदै आएको थियो । फोक्सिङटारमा मोटरेबल पक्की पुल सञ्चालनमा आए पनि निर्माणाधीन सडकको काम पूरा हुने अवस्था छैन ।

हिउँदमा धुलो र वर्षामा हिलोका कारण करिब छ महिना अवरुद्ध हुँदै आएको उक्त सडकखण्डमा पक्की पुल बने पनि उपयोगविहीन हुने देखिन्छ । फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।