सङ्कटमा छन् झलनाथले सम्झिएका असला

रामबहादुर थापा/गण्डकी, १९ माघ (रासस) : नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गर्नुभयो । पचास वर्षअघिको समाज, शिक्षा र राजनीतिका विषयमा अनुभव पनि साट्नुभयो ।

पूर्वी इलामका खनाल र पश्चिमका केसीबीचको चिनजान भने शिक्षकका रुपमा सुरु भएको थियो । केसी २०२५/२६ सालतिर बाग्लुङ गलकोटमा रहेको गलकोट माध्यामिक विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो । विद्यालयमा विज्ञान पढाउने शिक्षकका रुपमा इलामका खनाललाई उहाँले नै बोलाउनु भएको थियो ।

शिक्षणसँगै राजनीति सुरु गर्नुभएका उहाँहरुमध्ये खनाल प्रधानमन्त्री भइसक्नुभएको छ भने केसी उपप्रधानमन्त्री भइसक्नुभएको छ । यतिबेला खनाल नेकपा (एकीकृत समाजबादी) पार्टीमा सम्मानित नेताका रुपमा र केसी राष्ट्रिय जनमोर्चाका अध्यक्षका रुपमा राजनीतिमा सक्रिय हुनुहुन्छ ।
अन्तरङ्ग कुराकानीका क्रममा नेता खनालले दरमखोलाका असला माछाको प्रसङ्ग उप्काउनुभयो । केसीप्रति इङ्कित गर्दै खनाल भन्नुभयो, “कहिलकाहिँ उहाँ घण्टौँसम्म माछा मार्नुहुन्थ्यो, सँधै खुवाउनुहुन्थ्यो, त्यो दरमखोलाको माछा भनेको नेपालकै राम्रो र मिठो माछामा पर्दोरहेछ ।”

उहाँले थप्नुभयो, “दरमखोलाको असला माछा राणाकालमा पनि राणाजीहरुले ल्याएर खाँदारहेछन्, त्यहाँ अलि विशेष खालको, स–साना दहमा पनि प्रशस्त माछा पाइने के ।” यत्तिकैमा माछाको प्रसङ्ग सकिन्छ । कुराकानी अन्तै मोडिन्छ ।

पाँच दशकभन्दा अघिको सन्दर्भलाई लिएर पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री जस्ता राज्यको उच्च आहोदोमा पुगेका व्यक्तिले सम्झिएको दरमखोलाको असला माछाको स्थिति अहिले के होला त ?

उत्तर भने अप्रिय छ !

गलकोट नगरपालिका-९ का गोम रानाले सानैदेखि दरमखोलामा माछा मार्नुहुन्थ्यो । जलारीका रुपमा उहाँको लामो अनुभव छ । रानाले जाल खेल्दा पहिलेझैँ माछा पर्न छाडेको धेरै भइसक्यो । उ बेलाको दरमखोलामा पाइने असला माछा यतिबेला भने लोपोन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो । “विषादी हाल्ने, पासो थाप्ने र करेन्ट लगाउँदा असला माछा घट्दै गए”, रानाले भन्नुभयो, “कुनै दिन दरमखोलाबाट असला माछा हराएर जान्छ कि भन्ने पिर लाग्छ ।”

अव्यवस्थित गिट्टीबालुवा झिक्ने, फोहोर फ्याँक्ने, खोला मासेर संरचना बनाउने जस्ता प्रवृत्तिले दरामखोलाका माछाको बासस्थान खल्बलिएको छ । असला माछाको मुख्य आहारा लेउ हो । लेउ लाग्ने ढुङ्गामा हिलो र फोहोर जम्न थालेपछि माछा पनि कम हुँदै गएको उहाँको अनुभव छ । दुषित पानीले पनि माछालाई हुर्कन र बढ्न नदिएको उहाँले सुनाउनुभयो ।

सहरोन्मुख गलकोटमा आवादीसँगै खोलानालामा फोहोर र दुर्गन्ध एकैसाथ बढेका छन् । अनियन्त्रित नदीजन्य पदार्थको उत्खननका कारण पनि माछालगायतका जलचर सङ्कटमा छन् ।

माछाको अवैध सिकारलाई नियन्त्रण गर्न खोजिएपनि लुकिछिपी माछा मार्ने प्रवृत्ति रोकिएको छैन । पहिले माछा मार्न जाल खेल्ने, भुक थाप्ने र हत्केला खेल्ने चलन थियो । दरमखोलाको असला माछा मारेरै जीवन निर्वाह गर्ने परिवार पनि थिए । अहिले उनीहरु आयआर्जनको अर्को बाटो रोज्न बाध्य छन् ।

पहिलेझैँ ढुङ्गाको कुरमा हात छिराएपछि माछा हात लाग्ने स्थिति अहिलै छैन । दिनभर खोला चहारेर जाल हान्दा पनि मुस्किलले माछा पर्छन् । माछा लुक्ने कुर फोहोर, प्लाष्टिक, लुगाफाटाका टुक्रा र सिसाले भरिएको स्थानीयको गुनासो छ ।

मानिसले मरेका कुखुरासमेत खोलामा मिल्काउने गरेका छन् । चिसो, सफा र बगिरहेको पानी मन पराउने असला माछा हराउँदै जानुमा एउटा कारण खोला दुषित हुनु पनि हो । असला माछा कम हुँदै जाँदा मूल्य भने उकालो लागेको छ ।

एक किलो आलो असला माछा रू ११ सयसम्म बिक्री हुन्छ । सुकुटी माछा प्रतिकिलो रू १० हजारसम्म बिक्री हुन्छ । होटल, रेष्टराँमा त अझ महँगो पर्छ । पहिले माछा जति भनेपनि पाइन्थ्यो, भाउ सस्तो थियो । अहिले असला माछा पाउनै कठिन छ, भाउ भने छोइनसक्नु भएको स्थानीयको गुनासो छ ।

दरमखोलाछेउ बनाइएको तलाउमा ‘रेम्बो ट्राउट’सँगै असला माछाको व्यावसायिकपालन गर्दै आउनुभएका हुम थापाले असला माछालाई मानिसबाट जोगाउन स्थानीयस्तरमा सचेतना जगाउनुपर्ने बताउनुहुन्छ । केही वर्ष माछा मार्न रोक लगाएमा संरक्षणमा टेवा पुग्न सक्ने उहाँको विश्वास छ लापरवाहीका कारण दरमखोलाको असला माछा सङ्कटमा परेको थापाको बुझाइ छ ।

“विष प्रयोग गर्ने, करेन्ट लगाएर माछा मार्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ, यसमा नगर र स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ”, थापाले भन्नुभयो, “खासगरी खोला आसपासका बस्तीका युवालाई असला माछा संरक्षणको कुरा बुझाउनुपर्छ ।”

मनपरी हिसाबले सिकार हुने र खोलानालाको पर्यावरण पनि बिग्रदै जाँदा रैथाने जातको असला माछा सँधैका लागि हराएर जाने उहाँको चिन्ता छ । दरमखोला मात्रै नभएर बागलुङको बडिगाड, ठेउलेलगायतका खोलानालामा पनि असला माछा मुस्किलले पाइन थालेका छन् ।

रेष्टुराँ व्यवसायीसमेत रहनुभएका थापाले दरमखोलाको असला माछा ‘ब्राण्ड’ बनिसकेको बताउनुभयो । होटल, रेष्टुँरामा पनि असला माछाको परिकार ग्राहकको रोजाइमा पर्ने गरेको छ । दरखोलाको असला माछाको सुकुटी विदेशमा समेत कोसेलीका रुपमा लिएर जाने चलन छ । पोखरा, काठमाडौं जस्ता सहरमा पनि दरमखोलाको असला माछा पुग्छ ।

मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख महम्मद इकवाल हुसेनले मानवीय गतिविधिले असला माछाको बासस्थान नष्ट भइरहेको बताउनुभयो । “असला चिसो पानीमा हुने माछा हो, उसको प्राकृतिक वातावरण खल्बलिँदै गएकाले संख्या पनि घट्दो छ”, उहाँले भन्नुभयो, “बेलैमा संरक्षणको पहल नभए असला प्रजाति नै लोप हुनसक्छ ।”

विष्फोटक पदार्थ, विषादी प्रयोग गरी माछा मार्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ । “माछा मार्दा, नियन्त्रण गर्दा जलचर संरक्षण ऐन–२०१७ अनुसार गर्नुपर्छ, त्यसको उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ” प्रमुख हुसेनले भन्नुभयो ।

उहाँले असलालगायत स्थानीय जातका माछाको संरक्षणका लागि जनस्तरमा सचेतना जगाउनुपर्ने धारणा राख्नुभयो । असला माछाले वनस्पतीजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने जीव गंगटा, झिँगे माछा, शंखे किरा, जलीय झारपात र किराफट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञहरु बताउँछन् ।

खोलानालाको पानी दुषित भएमा असला माछालाई रोग लाग्ने गरेको उनीहरुको भनाइ छ । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । १० देखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ । असला स्वादिलो माछामा गनिन्छ । यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा ९ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक-मङ्सिर र माघ-फागुनमा प्रजनन गर्छ ।

मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । यो स्वादिष्ट र गुणकारी मानिन्छ । नेपालमा ६ सय देखि ३५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।