‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र

खोटाङ, १९ चैत (रासस) :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ ।

प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न गर्ने रु दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ ठेक्का सम्झौता भएको निर्माणाधीन रङ्गशालामा ढेड महिनादेखि ठेकेदार कम्पनीले कुनै पनि काम गरेको छैन । सुरुआती चरणमै काम नभएपछि प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले ठेकेदार कम्पनीलाई पठाउनुभएको पत्रमा समयमै निर्माण सुरु नगरी सम्झौतामा उल्लेखित समयभित्र कार्य सम्पन्न नभएमा कार्यालयबाट म्याद थप नहुने उल्लेख गरिएको छ ।

नगरपालिकाले ठेकेदार कम्पनीलाई लेखेको पत्रमा निर्माणसम्बन्धीको मासिक प्रगति विवरण पेस गर्नसमेत भनिएको छ । रङ्गशालाको काम गर्दागर्दै ठेकेदारले बिनाकारण काम रोकेर अलपत्र छाडेको स्थानीय बासिन्दाले बताएका छन् ।

योजनाको सम्झौताबमोजिम पहिलो किस्ता पेश्की भुक्तानी भइसकेको तर निर्माण सुरु नभएको जनाउँदै नगरपालिकाले समयमै योजना सम्पन्न हुनेमा विश्वास गर्न सकिने अवस्था नभएको जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा एकमात्र माटिकोरे खेलमैदानलाई रङ्गशालाको रूप दिने गरी काम सुरु गरिएको थियो ।

विसं २०८१ वैशाख २९ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ असार २९ गते सम्झौता गरिएको रङ्गशाला निर्माणका लागि भन्दै केही दिन स्काभेटर र टिपर निर्माणस्थल लगिएको थियो । अहिले निर्माणस्थलमा कुनै पनि औजार नरहेको जनाइएको छ ।

जिल्लाका दशवटै स्थानीय तहले खेलमैदान निर्माणको काम सुरु गरे पनि अहिलेसम्म कुनै पनि सम्पन्न भएको छैन । जिल्लाका हरेक स्थानीय तहले ‘एक वडा, एक खेलमैदान’को अवधारणसहित खेलमैदान निर्माणको काम सुरु गरेको थियो ।

जिल्लामा व्यवस्थित खेलमैदान नहुँदा करिब छ महिना खेलकुदका गतिविधिसमेत शून्यजस्तै हुने गरेको छ । खेलमैदान अभावमा स्थानीय युवा तथा फुटबल क्लबहरूले हिउँदको समयमा खुला चौरमा खेलकुदका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सोल्मा स्पोर्टस् क्लबले मात्र अहिलेसम्म मापदण्डअनुसारको खेलमैदान निर्माण गरेको छ । ठूलो धनराशि खर्च भए पनि बुइपामा निर्माणाधीन खेलमैदान अझै सञ्चालनमा आउन सकेको छैन ।

केपिलासगढी गाउँपालिकामा निर्माणाधीन बाक्सिला खेलमैदानसमेत अलपत्र अवस्थामा छ । वडा नं ४ बाक्सिला बजारका स्थानीय छ जना दाताले निःशुल्क उपलब्ध गराउनुभएको रु ४६ करोड बढी मूल्यको जग्गामा प्रदेश सरकार तथा गाउँपालिकाको लगानीमा खेलमैदान निर्माण सुरु गरिएको हो ।

पाँच वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको बाक्सिला खेलमैदान अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड रहने निर्माण उपभोक्ता समितिले जनाएको थियो । प्रतियोगिता भएको समयमा कम्तीमा पनि ५० हजार बढी दर्शक बस्न सक्ने गरी प्यारापिट बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।