वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

गण्डकी, ३१ वैशाख (रासस) :रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ ।

विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो । उमेरले ३० वर्ष पुगेका बरुवाल पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गर्नुभयो । त्यहाँ उहाँको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन ।

यता घरमा परम्परागत खेती किसानी गर्दै आउनुभएका उहाँका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहानुहुन्थ्यो । उहाँको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो । नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाअन्तर्गत उहाँको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाखा्रपालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् ।

आयोजनासँगको सम्झौताअनुसार उहाँले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भुइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापलनका लागि पूर्वाधार तयार गर्ने काम गरिसक्नुभएको छ ।

लक्षित कामका लागि निर्धारित कुल रु ३८ लाख ७२ हजार तीन सय तीन लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानवापत रु १९ लाख २८ हजार छ सय ५२, प्रभु बैंकको ऋण लगानी रु ११ लाख ७० हजार र स्वलगानी रु सात लाख ७३ हजार छ सय ५२ रहेको धनबहादुर बरुवालले जानकारी दिनुभयो ।

सम्झौताअनुसार अनुदानवापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उहाँले बताउनुभयो । आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरासमेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआइपीको अनुदान थप प्रेरक बनेको उहाँको भनाइ छ ।

“भौगोलिक अवस्थितिलगायतका कारण खोर निर्माण आदिमा सम्झौताभन्दा पनि बढी व्यक्तिरूपमा खर्च भइसकेको त छ नै तर यो लगानीका लागि एनएलएसआइपी नै मुख्य प्रेरणाको स्रोत हो”, उहाँले भन्नुभयो । खोरमा मात्रै रु २९ लाख खर्च भइसकेको र करिब रु १८÷१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उहाँले जानकारी दिनुभयो । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आउनुभएको छ भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

बरुवालका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जङ्गल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ ।

सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उहाँले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताउनुभयो । नारायणका बुवा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यापार व्यवसायमा लाग्नुभयो । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उहाँले झण्डै १५÷१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाल्नुभयो । बाह्र–तेह्र वर्षअघिसम्म खच्चड पालेको र छ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उहाँको अनुभव छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)बाट दूध, खसी बोकाको मासु र पश्मिनाको उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण तथा आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेको आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाका लक्षित क्रियाकलापहरू केन्द्रमा आयोजना व्यवस्थापन कार्यालय र क्लष्टर तहमा विराटनगर, हेटौँडा, बुटबल र पोखरामा अवस्थित चारवटा विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत कार्यान्वयन भइरहेको र वंशावलीमा आधारित नश्ल सुधार कार्यक्रम राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामार्फत सञ्चालन भइरहेको छ । आयोजनाअन्तर्गत देशभरका विभिन्न जिल्लामा पाँच सय ५९ वटा उपआयोजना सञ्चालन भएकामा दुई सय १३ सम्पन्न भइसकेको र हालसम्म अनुदानवापत एक अर्ब ३२ करोड भुक्तानी दिइसकिएको खड्काले जानकारी दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।