पोर्चुगलका नेपालीहरुको पोल खोल्ने मेरो हिम्मत : विश्वास दीप तिगेला

विश्वास दीप तिगेला,युके । लिस्बनको रो डोस आन्जुस कर्नरमा केही युवा र एक युवति उभिएका थिए । लगभग २०/२१ बर्षका युवा र ति युवा भन्दा सुन्दरी युवती चाहि अझ भर्खर की हुन की जस्तो लाग्ने । युवकले हातमा समाएर ढोका भित्र लैजान चाहान्थ्यो सायद तर म आउदै गरेको देख्ने बित्तिकै युवतीले अर्काको हात समाउन लाज लाग्दैन भनी कराई तर म चुपचाप नसुने झै गरि, नदेखे झै गरि सरासर बाटो काटेर अलि पर्तिरको चोक सम्म पुगे र गाडी दौडीरहेको रोडको बाटो काट्न रोकिए, बाटो तर्नुअघि फर्किएर हेरे तर युवायुवतीद्वय थिएनन ।

म अर्को रोडको वरिपरि घुमे र फर्किए अनि अलि खुल्ला ठाँउ भएको चर्चको आँगनमा दुई युवाहरु देखे अनुमान लगाए यिनीहरु पक्कै नेपाली हुनुपर्छ । उनीहरु नजिक गएर सोधे– हो उनीहरुद्धय हिजो मात्र आईपुगेका रहेछन । पोखरा निवासी राम कार्की जी २८ दिनमै र यलिन फगामी जी ५६ दिनमा क्रोयसियाबाट हिडदैहिडदै आईपुगेका रहेछन । यस अघिपनि दुबई, कतार र मलेसिया गईसकेका ३२ बर्षिय फगामी संग निक्कै रोचक अनुभवहरु रहेछन । क्रोयसियामा केही महिना काम गरेर पासपोर्ट त्यहिको कम्पनीमै छोडेर पोर्चुगल ल्याउने एजेन्टलाई २८ सय यूरो पैसा तिरेर बाटो लागेका रहेछन ।

हिड्दै आउदा उनी ठाँउठाँउमा पक्राउ परे । एक ठाँउमा त उनलाई ११ दिन क्लोज जेल राखियो, शुरुमा त डर लाग्यो त्यसपछि त सामान्य लाग्न थाल्यो । क्लोज जेलमा खाना बस्न पाइने भएकोले आनन्दै हुने तर ओपन जेलमा चाहि ति सुविधा नपाईने तर प्रत्येक दिन आउदै आफ्नो हाजिरी जनाउनु पर्ने हुन्थ्यो रे ।

(विश्वास दीप तिगेला)

बाटोमा प्रहरीले पक्रियो भने सबैभन्दा पहिला पोर्चुगल ल्याउने एजेन्टले दिएको गुगल म्याप मोबाईलबाट डिलिट गर्ने र कुनैपनि डकुमेन्ट मोबाईलमा नराख्ने । कहाँबाट आएको भनी सोध्यो भने जुन देशबाट आएको हो त्यो देशबाट नभनी अर्कै देशबाट आएको भन्ने अन्यथा पक्रे लगतै आफूले भनेको देशमा फोन गर्ने र त्यहा रेकर्ड भेटेमा तुरुन्त त्यहि देशमा फर्काई दिने भएकोले ढाँटनु परयो । क्रोयसियाबाट आएको हो भने स्लभाकियाबाट भनिदिने तब रेकर्ड भेट्दैन र यो साच्चै शरणार्थी नै रहेछ भनी छोडिदिने गरेको उनले बताए ।

पोचुर्गल ल्याउने एजेन्सीले यो देशको यो ठाँउमा आईपुग्नु भन्ने गुगलमा ठाँउ दिने, त्यो ठाँउमा जसरी पनि कतै बस चढेर, कतै रेल चढेर कतै ट्याक्सी चढेर पुग्नु परयो । धेरै नेपालीहरु भएपनि एजेन्सीले चारपाँच जनाको भिन्नभिन्नै टिम बनाई दिएको र कतैकतै एजेन्सीको मान्छे पनि संगै हुने तर कतै पक्राउ परिहाल्यो भने ति एजेन्सीको ब्यक्तिलाई पनि हामी जस्तै बटुवा हो भन्नुपर्ने बताए । फगामीका अनुसार जब इटाली टेक्यो तब ढुक्क हुने, पक्रिहाले पनि ताकेता नगर्ने, हिड्दै अर्को देश पुग्ने आप्रवासी हुन भन्ने बुझाईको कारण छाडिदिने बताए । गजब चाहि नेपाली युवाहरु भन्दा युवतीहरु बढि पोर्चुगल भित्रिरहेको जानकारी भयो, फगामी कै समुहमा पनि युवतीहरु बढिरहेको बताए । साईप्रस, इजरायल, युएई लगायतबाट पोर्चुगल आउने गरेको पाईयो, सम्झन्छु यत्रो हिम्मत गरेर जंगलजंगलको बाटो हुदै, भरे, भोली के होला कसो होला, दुःख विराम हुदा कसो होला कुनै प्रवाह नगरि हिम्मत गर्ने चलीहरु कस्तो बहादुर होलान म गम खान्छु । कति नेपाली युवायुवती त्यसरी चुनौती मोलेर बाटो लाग्नेहरु मध्ये बीचबाटैमा हराए होलान, आपतविपतमा परे होलान म पिरोलिन्छु । के साच्चै नै हामी नेपालीहरुको यो बाँध्यता नै हो त? उसो त के कुरालाई हामीले बाँध्यता मान्ने त्यो पनि छलफलको विषयहोला । भोक लाग्दा खाना खानुपर्ने त्यो बाँध्यता होला, जाँडोमा न्यानो लुगा लगाउनु बाँध्यताहोला तर भोक लाग्दा मासुभात नै हुनुपर्छ, जाडोमा नयाँ लुगा नै हुनुपर्छ भन्ने चाहि बाँध्यता होइन तब हामी कुन बाँध्यताले भौतारिरहेका छौ? साच्चै नै हाम्रो देशमा केही छैन? किन यत्रो विध्न मरिहत्ते नेपाली युवायुवतिको?

उसो त कुनै समय विश्वका ५० भन्दा बढि मुलुकलाई औपनिवेश बनाउने पोर्चुगल देशकै युवायुवतिहरु पोर्चुगलमा छैनन, राम्राराम्रा अवसर र रोजगारकै निमित्त देश छोडेर अन्य मुलुक गएका छन । एक तथ्याङ्क अनुसार ३१ प्रतिशत पोर्चुगिस युवाहरु देश छोडेर अन्यत्र गएका छन एकातिर भने नेपालीहरु धेरैभन्दा धेरै पोर्चुगलमा ओईरिन्दो छ । अहिले पुगनपुग एक लाखको हाराहारीमा नेपालीको संख्या पुगेको अनुमान छ । सम्झन्छु अबको दश बर्षपछि पोर्चुगलमा नेपालीहरुको अवस्था कस्तोहोला?

केही हप्ता अघि अप्रिल (२०२३) अन्तिम देखि विश्वकै ठूलो जनसंख्या भएको मुलुक भारत बनेको छ भने, विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक चीन बनिसकेको अवस्था छ र केही दशकमा विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक भारत बन्दैछ तर हामी इकोनमिक्स इमिग्रेन्ट अर्थात अवसरको पछाडी लाग्ने आप्रवासीहरु चाहि एशिया छोडेर अन्यत्र गईरहेका छौ । विश्वको अर्थतन्त्र चाहि एसियामा भित्रन्दैछ । हामी सहि दिशामा छौ की गलत गरिरहेका छौ बहस हुन आवश्यक छ भन्ने लाग्दछ । पोर्चुगलमा धेरै नेपालीहरु सपरिवार पनि बसोबास गर्दै आएका छन र उनीहरुबीच डिभोर्सका निक्कै गुनासाहरु सुनिए त्यसको कारण के? अहिले सामाजिक संजालमा नेपाली युवायुवती जो विदेशमा छन विशेषतः गल्फ मुलुकमा भएकाहरुको तौरतरिका हेर्दा वास्तवमा नेपाली समाज कता गईरहेको छ अर्थात कस्तो नेपाली समाज निर्माण हुदैछ गम्भिर चिन्ताको विषय हो भन्ने लाग्दछ, यो विषयमा नेपाल सरकारले ध्यान दिनु ढिला गर्नुहुदैन । सरकारको मुख्य काम भनेकै समाजलाई अनुगमन गर्दै समाजलाई सरल, सभ्य बनाई सन्तुलनमा राख्न आवश्यक नियम कानुन निर्माण गर्नु हो । छोरा मान्छे र छोरी मान्छेको संख्यामा सन्तुलन नहुदा कतै बहूपति प्रथालाई मान्यता दिएको पाइन्छ भने छोरी मान्छेको जनसंख्या बढि भएको मुलुकमा बहूपत्नि प्रथालाई मान्यता दिने गरेको पाइन्छ तर नेपाल सरकारले यो विषयमा चिन्तन गर्न बाँकी नै छ र ढिला भईसकेको हो पनि लाग्दछ । कुनै कारणबाट समाजमा एकजना मात्र खराब प्रवृत्तिको ब्यक्ति निर्माण भएको खण्डमा सिंगो समाजलाई आहात पुग्नजान्छ, समयमै ध्यान नपुरयाउदा ढिला हुनगई भोली ठूलो धन, जनको लगानी गर्नुपर्ने हुन सक्दछ ।

युवा भएपछि विदेश जानुपर्छ भन्ने, पैसा कमाए पछि घर बनाउनै पर्छ भन्ने, आफ्नो देशमा भन्दा अरुकै देशमा काम गर्नुपर्छ भन्ने गलत सोचलाई कसरी परिवर्तन गर्नेहोला? आनन्दले बालबच्चा सहित गाँउमै रमाईरहेकालाई गोठालामै एफएम रेडियो मार्फत विदेशको फलना देशमा यस्ता र तेस्ता जागिर खुल्यो भनी रातदिन लोभ्याउने प्रवृतिले हाम्रो समाज कस्तो बनाउदैछौ सबैले सोच्नुपर्दछ । कहि कतै हाम्रो गलत संस्कारको कारणले पो हो की हामी अत्यधिक विदेशिन लहर चलेको? जस्तैः धेरै जनासंग चिनजान नभएका ब्यक्ति काठमाडौंमै आनन्दले लेबर मिस्त्री जागिर गरिरहेका छन तर जो समाजमा चिरपरिचित छन त्यस्तोलाई लेबर मिस्त्री आदि काम गर्न अप्ठयारो पर्ने गरेको सत्य हो भने हामीले समाजलाई कसरी ब्यवस्थापन गर्ने सोच्ने पो हो की? अन्य मुलुकमा चाहिने भन्दा बढि चिनजान गर्ने संस्कार छैन र उनीहरुलाई फूर्सद पनि हुदैन त्यस्ता समाजलाई कोल्ड सोसाइटी भन्दछौ तर नेपालीहरुको समाज वंम सोसाइटी अर्थात न्यानो समाज जहाँ कुनै कुरा एकैछिनमा प्रचारप्रसार हुने र अर्काको अनावश्यक चियोचर्चा गर्ने, ससाना काम गर्नेलाई खिसिटियुरी गर्ने ।

अन्य मुलुकमा छिमेकीको ढोका ढकढकाउनुलाई असभ्य मानिन्छ, अर्काको कामको चियोचर्चा गर्नुलाई असभ्य मानिन्छ । त्यो प्रवृतिलाई हामी नेपालीहरुले पनि पारिवारिक, सामाजिक अभ्यासबाट वातावरण बनाउन अझै नथाल्ने हो भने स्वदेशमै काम गर्ने मानसिकता विकास हुदैन र यसरी नै ब्रेन ड्रेन निरन्तर रहने देखिन्छ । उसो त कसरी रोजगारी सिर्जना गर्ने, सो रोजगारीको अवसर कसरी वितरण गर्ने, महिनामा ५ हजार रुपैयामा जीबन गुजारा चल्ने ठाँउमा ५० हजार तलब दिएको देखिन्छ भने शहरमा गुजारा चलाउन २० हजार चाहिन्छ भने तलब १५ हजार दिने गरेको एकातिर छ त्यस्तै एकै जनाले यगौंयुग जागिर गरिरहदा अन्यले अवसर पाएका छैनन ।

रोजगारी चाहि हटिया खर्चको सिद्धान्तमा ब्यवस्थापन गर्ने हो भने तब बल्ल अवसर पाउछ र सरकारलाई पनि सहज हुन्छ । हटिया खर्चको सिद्धान्त भनेको हाट भर्न जादा जस्लाई जति खर्च चाहिन्छ त्यति नै ठिक्क दिने अर्थात सामान्यतया कतिले परिवार पालिन्छ त्यहि हिसाबमा तलब कायम गर्ने । मानिलिउ गाँउको एक शिक्षकको निमित्त मासिक ४५ हजार बजेट छ भने सो गाँउमा १५ हजारले जीबिकोपार्जन हुन्छ भने ३ जना शिक्षकलाई जाँगिर दिऔं । सो ४५ हजारको बजेटले ३ परिवार पालिनुले समाजमा ठूलो प्रभाव पार्दछ । अरु बढि कमाउनेलाई अलि बढिबढि कर लगाउने तब लगभग बराबरको स्थितीमा ल्याउने अन्तर्राष्ट्रिय अभ्यास रहेको पाइन्छ । सरकारले एकाधलाई यसआराम र धनी बनाउने नीत होइन, समाजमा सबैजना सहजतापूर्वक पालिने, अवसरहरु बाँडिने अवधारणा ल्याउनु पर्दछ तब मात्र विदेशै जानुपर्छ भन्ने सोच र बाँध्यतामा परिवर्तन हुनसक्दछ । त्यसमा बालबच्चाहरुको निमित्त शिक्षा निशुल्क अर्थात शिक्षा मौलिक हक हो ब्यापार होइन भनी बोर्डिङ हटाई दिने हो भने नानीको पढाईको निमित्त भनी विदेशिने बाँध्यता घटनेछन् ।

उसो त विश्वब्यापी विकसित ग्लोबलाइजेशन, यातायात र संचार प्रविधिको विकासले निर्माण भएको कस्मोपोलिटिन समाजमा मानिसहरु राम्रो अवसरको खोजीमा एकदेशको नागरिक अर्को देशमा जानेक्रम त पूर्ण रुपमा कहिपनि रोकिने देखिन्न तर धेरै संख्यामा गईरहेका छन भने थोरै संख्यामा सिमित गर्न चाहि अवश्य सकिन्छ ।

आफ्नो उज्वल भविश्यको निमित्त ठूलो चुनौती मोलेर पोर्चुगलको राजधानी लिस्बन आईपुगेकाद्धय भाई राम कार्की र एलन फगामी दुवै चिन्तित देखिन्थे, अब कहाँ कसरी अरु प्रकृया शुरु हुन्छ बुझ्न चाहिरहेका थिए । केही समय पश्चात उनीद्धय नेपालीले नै संचालन गरेको होष्टेल लिस्बान एन्जेलमा भात पकाई खान छिरे । प्रतिब्यक्ति १५ यूरोमा सुत्नु र चामल किनेर ल्याई आफै पकाई खान मिल्ने कोठामा ६ जना एकै कोठामा रहेको बताए र आजभोली नै कामको खोजीमा गाँउ जाने पनि बताए । लिस्बनमा नेपाली रेष्टुरेण्ट लगभग २ सयवटा रहेको जानकारी भयो । त्यसपछि म रो डोस आन्जोस रोडको रेष्टुरेण्ट एभरेष्टको नजिकै रहेको वानवानवान सेन्टर छिरे, पानी किन्दै सोधे बहिनी तपाई नेपाली हो? हो दाई उनले भनिन । दुई भाई मध्ये भित्ताका सानो भाईले हातले बोलाउदै आउनुहोस भने म नजिक गए, के के सुविधा छ तपाईहरुको मैले सोधे उनले भिजिटिङ कार्ड अर्थात सम्पर्क र सेवा उल्लेख भएको गोजीमा राख्न मिल्ने कागजको टुक्रा देखाउदै विस्तारमा बताए । उनीहरुको काम चाहि नेपालबाट लिस्बन आईपुगेकाहरुको निमित्त कागजपत्र बनाई दिने सेवा रहेछ । कुनैब्यक्ति कागज विना पुगेका फगामी जस्तालाई वानवानवान एजेन्सी आफैले नेपाली दुतावास स्पेनमा पासपोर्ट बनाउनको निमित्त अप्वईन्टमेन्ट बुक गरेर आफैले बिहानै ५ बजे बसमा लगेर करिब १२ बजे दुताबास पुगि काम सिध्याएर साँझ लिस्बन फर्काउने उनीहरुको सेवा रहेछ । सोहि अफिस संगै जोडिएको अर्को ढोका आप्रवासीहरुको नाम दर्ता गर्ने पोर्चुगल सरकारको कार्यालय रहेछ त्यसैले पनि त्यो आन्जोस अर्थात रो डोस आन्जोस क्षेत्रमा नेपालीहरु धेरै भेटिन्दो रहेछ । मलाई मन परेको पक्ष चाहि के हो भने नेपाली रेष्टुरेण्टहरु भुइतलामै रहेछन । प्रहरी आउदा पनि उनीहरुले केही गदैनन् रहेछ । उनीहरुलाई सम्भवत थाह होला यी नेपालीहरु यूरोपको डकुमेन्ट बनाउन मात्र यहा आएका हुन ।

म धेरै पटक मलेशिया पुगेको छु त्यहा प्रायः नेपालीहरुको रेष्टुरेण्टहरु एक तला वा दुईतला माथि हुनेगर्दछ भने मलेसियन प्रहरी आउदा नेपालीहरुलाई दुःख दिने भएकोले प्रहरी आउदा नेपालीहरु टाढाटाढा भाग्ने गर्दछन तर आन्जोसमा त्यस्तो देखिएन । मेरो एक रात नेपाली समाज पोर्चुगलका अध्यक्ष कुमार योञ्जन जीले संचालन गर्नुभएको सांग्रिला होष्टलमा बित्यो, होष्टल सरसफाई पनि एकदमै राम्रो थियो । नेपाली रेष्टुरेण्टहरु पनि सामान्य स्टाण्डरकै थिए ।

रेष्टुरेण्ट संचालक मित्रहरुले भन्नु भयो युकेमा एकजना कर्मचारीलाई दिने पैसाले लिस्बोनमा ४ जनालाई दिन पुग्दछ । त्यसैले यहा ब्यवसाय गर्दा सेभिङ हुने अर्थात पैसा बच्ने जानकारी भयो । लिस्बोनमा धेरै नेपालीहरु रहने त्यसमध्ये धेरै नेपाली संग ठोकिने ठाँउ चाहि आन्जोस नै रहेछ । केही नेपालीहरु घरविहीन (होमलेस) भएर भौतारिएर सडकतिर पनि सुत्छन भनेको कतैकतै सुने तर मैले मेरो आँखाले चाहि देख्न पाइन । प्रत्येक ब्यक्तिको आआफ्नो जिन्दगी हुन्छ, अनेक बाँध्यताहरु हुन्छन सायद कसैकसैको त्यस्तो जीबन पनि होलान तर सधै त्यस्तो नहोस कामना गर्दछु । लिस्बन नेपालीहरुले बैधानिक डकुमेन्ट बनाई यूरोप छिर्ने केन्द्र भएकोले कम्तिमा २ बर्षमा वैधानिक कार्ड बन्ने र करिब ५ बर्ष पछि यूरोपको पासपोर्ट भन्ने तब यूरोपको २८ मुलुकहरु मध्ये जुनसुकै मुलुकमा सेवा गर्न, आजीबन घुमफिर एवं वसोबास गर्न सकिने भएकोले धेरै नेपालीले बर्षौको त्याग गरेर पोर्चुगलको सेवा गरिरहेको देखिन्छ । मलाई लाग्छ पोर्चुगलमा अहिले सबैभन्दा राम्रो कमाई अन्य यूरोपियन मुलुकबाट नेपाली ल्याउने एजेन्सीले गरिरहेका छन, धेरै भन्दा धेरै नेपाली आउन, सबैले डकुमेन्ट बनाउन कामना गर्दछु सिर्फ मेरो प्रार्थना चाहि नेपालीको बदनाम नहोस, अरुअरु नेपालीहरु आउने बाटो बदनामको कारण कहिल्य नरोकियुन ।

पोर्चुगल म रहदै आएको मुलुकबाट नजिकै भएकोले घुम्न जाने लामै योजना हो र तत्कालै निर्णय गरि लण्डनको ग्याटविक एयरपोर्ट हुदै लिस्बन उत्रिए । मौषम लोभलाग्दो न्यानो थियो । एयरपोर्टबाट बाहिर निस्किए ट्याक्सीको लाईन जीबनमा त्यति लामो कहिल्य बसेको थिइन । मित्र सोम जीले ट्याक्सी सस्तो छ भन्नु भएको थियो, लाइन देख्दा साच्चै सस्तै छ र त लामो लाइन छ भन्ने भयो र पनि करिब ५० मिनेट लाइन बसेपछि बल्ल एउटा ट्याक्सी मेरो भागमा परयो । ड्राईभरले ट्याक्सी गुडाउनु संगै फतफताउन शुरु गरयो । मेट्रो भनेको चाहि बुझ्दछु तर म चुप बसे । एयरपोर्टबाट निस्कन्दा निक्कै ट्राफिक लाग्यो करिब आधा घण्टापछि बल्लतल्ल आन्जुसको एक स्पोर्टस क्लवको गेटमा रोकेर १८.५० यूरो भन्यो, फिर्ता छैन भन्न थाल्यो ल तैले राख भने । पछिबाट बुझेको त ति ड्राईभरले त रिसाएजस्तो गरेर, सामान्य उठ्ने भाडा भन्दा बढि ठगेका रहेछन । गेटमा केही नेपालीहरु संग भेट भयो, एनआरएन पूर्व अध्यक्ष शेष घले, पूर्व उपाध्यक्ष सोनाम लामा, निवर्तमान उपाध्यक्ष थर्क सेन र यूरोप कोअर्डिनेटर उल्का घिमिरे आउनु भयो र सहमति, सहकार्य, एकता र आधिकारिकता विषयक एनआरएन पोर्चुगलको कार्यक्रम शुरु भयो ।

अघिल्लो दिन मात्र एनआरएन युकेको विशेष महाधिवेशनमा विधान शंसोधन र आर्थिक अनुसन्धानको जिम्मेवारीको बारेमा प्रिजेन्टेसन गर्नुपरेको कारण राम्रो सुत्न नपाएकोले अर्धचेतमै म पनि अतिथिको रुपमा बसे र आफ्नो कुराहरु राखे पछि साँझ ग्रिल एण्ड चील रेष्टुरेण्टमा निक्कै लामो चिन्तनका कुराहरु भए । रात एकैठाँउ काट्न पर्छ भन्ने कुरा आयो र हामी एयरपोर्ट नजिकको ब्लू रेडियसन होटल पुग्यो । साथीहरुको भोलीपल्टै नेदरल्याण्डमा कार्यक्रम भएकोले वहाहरु बिहानै एयरपोर्ट लाग्नुभयो भने मेरो चाहि सम्पर्क भक्तपुरे अनन्य मित्र रमेश कडेलसंग भयो र वहाले आफ्नो ठेगाना लेखि पठाउनु भयो अनि काठमाडौंको पठाऔ एप्स जस्तै वोल्ट डाउनलोड गर्नुहोस भन्नु भयो, डाउनलोड एकैछिनमा भयो र सो ठेगाना लगाउने वित्तिकै पैसा काट्यो त्यसको ५ मिनेटमै ट्याक्सी आयो तब वहा बस्नुहुने साकाबेमको नम्बर १७ अपार्टमेन्ट पुगे र त्यहाबाट हामी ट्याक्सीमै आलमेदा पुगेर लिस्बन शहर घुमाउने टुरिष्ट वस हप अन हप अफ पक्रियौ तब हाम्रो घुमघाम धुमधाम चल्यो र अग्लोहोचो जस्तो भूभाग त्यस्तैमा बसेको साच्चै सुन्दर लिस्बन शहर साच्चै नै मनमोहक लाग्यो । त्यै माथि निलो फूल्ने शिरिषको फूलले शहरलाई अर्कै सौन्दर्यता दिईरहेको थियो भने डिलैमा रहेको सुन्दर सामुन्द्रिक सतहले वयस्कहरु नाङ्गै आकर्षक बनाई रहेको थियो, रमेश जी र म चाहि तछाडमछाड गर्दै हेरिरहेका थियौ कतै टिकटकमा कतै फेसबुकमा लाईभ मार्फत आफ्नो खुसिको चिच्याहट बुलन्द गरिरहेका थियौ । समुन्द्रको डिलमा रहेको काईसा दो स्रोद्रेमा बस रोकियो र हामी त्यहिबाट एकछिन उत्रिएर केही माथि हिडदै रमेश जीले आफूले काम गर्ने वाइसास्यादो अर्मदायी प्लाजामा लैजानुभयो र त्यहाको स्पेशल खाना अर्डर गरे असाध्य स्वादिलो थियो, जब रमेश जीले मलाई मेरो साथी घुम्न आएको भनी चिनाए तब त्यो बेलाको दोकानी दानेलाले पैसा लिन मानिनन, लाग्छ पोचुगिसहरु धेरै मिलनसार हुदा रहेछन ।

हामी पोर्चुगिस नोवल (जलसेना) म्यूजियममा छिर्यौ असाध्य आकर्षक लाग्यो । पोर्चुगिसले पहिलो पटक दिशा पत्ता लगाउने कम्पास मेसिनको आविश्कार गरेकै कारणले पोर्चुगिस नोवल धेरै प्रभावकारी थियो भन्ने जान्न पाउदा खुसि लाग्यो तब हामीले अझ टाढा जान्दै गरेको सटल अर्थात हप अन हप अफ बस चढनुपर्ने, फर्कन्दै गरेको बसमा पो चढिएछ तब हामीलाई अघि चढेको अलमेदा ल्याईपुरयाई । अलमेदामा मेरो पुस्तक रमेश कडेल जीलाई दिदै मात्र थिए, भेट्ने सल्लाह बमोजिम सोम शेर्पा, धन शेर्पा, कुमार योञ्जन, टेक थापा गाडी लिएर टुप्लुक्क आईपुग्नु भयो र निक्कै टाढाको काबो डा रोका अर्थात यूरोपको अन्तिम जमिनको भागमा पुरयाउनु भयो । सो स्थान कति रमाईलो बर्णन गरि साध्य छैन । सुन्दर सामुद्रिक तट, मच्चिमच्चि छालको उफाई, हेर्दा आकास जोडिने समुन्द्रीक क्षितिज हुन पनि त्यो भागबाट शिधै जाँदा अमेरिकाको न्यूयोक सिटीमा मात्र जमिन भेटिने रहेछ । सो ठाँउमा पर्यटकहरुको भिड् पनि उस्तै थियो । फर्कन्दा फेरी समुन्द्रको डिलैडिलको यात्रा आह साच्चै नै रमाइलो रहयो । टेक थापा सरले मलाई पटकपटक राजनैतिक विषयहरुको उठान गरिदिनुहुदा झनै रौनक बढथ्यो र साँझपख पुनः धन शेर्पा सरको रेष्टुरण्ट एभरेष्टमा आएपछि टेकसर संगको राजनैतिक गफ उग्र मच्चियो, मध्यरात हुन लागेको पत्तै भएन तब गजब चाहि त्यहि रेष्टुरेण्टको अर्को कोठामा नेपाली समाज पोर्चुगलका अध्यक्ष कुमार योञ्जन सरको आफ्नै होष्टेल रहेछ, अति सफा र राम्रो रहेछ उक्त होष्टेल ब्यू रेडियसन होटलको भन्दा कम थिएन । लगभग मध्ये रातमा एकैछिन हाम्रो घर रेष्टुरेष्ट एण्ड कल्चर हाउसमा पुगेर चिनजानका मित्र प्रकार गजमेर जीको बाध्यवादन र सुन्दर साँस्कृतिक प्रस्तुती हेरेर फकियौ र बडो आनन्दका साथ सांग्रिला होष्टेलमा निदाए । बिहान उठ्ने बित्तिकै रोडको एक चक्कर लागाए, राम कार्की र एलन फगामी भाईहरुलाई भेटे ।

आज मेरो बसाईको अन्तिम दिन पुनः धन सर, टेक सर र कुमार सरले लार्गो डि मोन्टी अर्थात सबैभन्दा अग्लो डाँडामा लैजानु भयो जहाँबाट लिस्बनको चारैतिर देख्न सकिने रहेछ र त्यहाको किल्ला बारमा प्रत्येक प्रेमी जोडीहरुले चाँबी झुण्डाउने चलन रहेछ, हामी प्रेमी हौ, हाम्रो सम्बन्ध यो चाँबी बाँधिए झै नखोलियोस, नछुटोस भनेर बाँचा गर्ने ठाँउ रहेछ । वातावरण रमाईलो थियो त्यसैले धन सरलाई, कुमार सर र टेक सरलाई तपाईहरुले बाँध्नु भएको पोचुगिस चाँबी चाहि कुन हो भनेर सोधे हाँस्नु भयो तर देखाउनु भएन । आसा छ अर्को पटक खुल्नुहुनेछ । त्यहि डाँडाबाट जहाजहरु आएको देखिन्थे तब मलाई हतार लागि सकेको थियो नजिकैको रोअ डोस सापाडोस रोडको द गुड प्यालेसमा निखुर पोचुगिस खानाको स्वाद चाख्यौ । पोर्चुगिसहरुले पनि राज्मा (सिमी बोडीको दाना) र चामल मिसाएर खाना खादो रहेछन गजब लाग्यो । अफ्रिकनहरुले पनि उनीहरुको खानामा धेरैभन्दा धेरै राज्मा मिसाएर खाने गरेको मैले पाँए त्यति मात्र होइन ल्याटिन अमेरिकामा पनि राज्माको प्रचलन रहेको पाँए । लाग्छ खानेकुराको परिकारको अध्ययन पनि निक्कै रोचक हुने रहेछ ।

त्यसपछि हामी एयरपोर्ट तर्फ हानियौ, बाटैमा पर्दो रहेछ सोम शेर्पा सरको स्टोर त्यहिबाट सोम सर पनि गाडिमा चढ्नु भयो । केहीबेरमै लिस्बन एयरपोट पुग्यौ । म भित्र छिर्ने बेला भयो वहाहरुले शुभ यात्राको कामना गर्दै पवित्र खदा लगाईदिनु भयो र विदाको हात हल्लाए । थाह छैन यहाहरुको गुण मैले भविश्यमा तिर्न सक्छु या सक्दिन तर आजीबन रिणी बनेको छु । सो दिन फ्लाईट क्यान्सल गरेर बसौ भन्ने पनि आग्रह थियो पुरा गर्न सकिन, जति समय बिताईयो आनन्दले बित्यो सद्भावले बित्यो र कहिल्य नविर्षने पल बन्यो, आभारी छु, रिणी छु र आकर्षक रोचक घरका राता छानाहरु छिचोल्दै लिस्बनको एयरपोर्टबाट लण्डनको लुटन एयरपोर्ट तर्फ मेरो जहाज मोडियो केहीबेरमा लिस्बन शहर छलियो तर मनले झलझलि सुन्दर लिस्बन शहरलाई देखि रहेको छु ।

-तिगेलाको फेसबुकबाट साभार

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।