अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

–डम्मर बुढामगर
ढोरपाटन, १५ असार (रासस) : बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाउनुभयो । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाउनुभएको छ । सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । दुर्गाबहादुरले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाए ।

बिरुवा सप्रिँदै गएपछि धेरैको ध्यान स्याउ लगाउनेतर्फ जान थालेको छ । वर्षौँदेखि गाईभैँसी र खेतीकिसानी गर्दै आउनुभएका ओलीले अहिले गाउँका अन्य स्थानीयलाई पनि स्याउ लगाउनुपर्छ भन्ने योजनामा पुर्याउनुभएको छ । हाल उहाँको बगानमा २७ नयाँ बिरुवा र २० पोहोर साल लगाएका गरी ४७ स्याउका बोट छन् । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन हुन्छ भन्ने पत्रिकामा पढेको भरमा ओलीले परीक्षणका लागि स्याउ लगाउनुभएको हो । अर्नाकोट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्छ ।

ओलीले कृषि निर्देशनालय गण्डकी प्रदेशबाट ७५ प्रतिशत अनुदानमा बिरुवा लिएर खेती सुरुआत गर्नुभएको हो । बागलुङमा अहिलेसम्म ढोरपाटन र निसेलढोरमा मात्रै व्यावसायिकरूपमा स्याउ उत्पादन हुने गरेको छ । निसीखोला, ताराखोलालगायतका केही ठाउँमा स्याउ लगाए पनि राम्रो उत्पादन हुनसकेको छैन । अर्नाकोटमा परीक्षणका लागि लगाएका बिरुवाले फल दिन थालेपछि धेरै स्थानीय आकर्षित हुन थालेको दुर्गाबहादुर बताउनुहुन्छ । उहाँले अर्नाकोटमा सिँचाइको निकै ठूलो समस्या रहेको भन्दै यसको व्यवस्थापन हुनसके राम्रो स्याउ उत्पादन गर्न सक्ने बताउनुभयो ।

“यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिइनँ, यो ठाउँमा के–कस्तो हुन्छ एकपटक विचार गरौँ न भन्ने हिसाबले बिरुवा लिएर लगाएको, पोहोर जेठमा लगाएको अहिले नै फल दियो, यसले हामीलाई धेरै हर्षित बनाएको छ”, ओलीले भन्नुभयाmे, “सिँचाइको समस्याले गर्दा बिरुवा बचाउन निकै हम्मे भयो, खानेपानीको हाहाकार भएको ठाउँमा स्याउ लगायौँ, त्यही पनि बिरुवा बचाउन सफल भयौँ, सरकारले यहाँ सिँचाइको राम्रो व्यवस्था मिलाइदिने हो भने व्यावसायिकरूपमा धेरै स्याउ उत्पादन गर्न सकिने थियो ।”

स्थानीय चेतबहादुर कुँवरले पनि अघिल्लो वर्ष २७ वटा बिरुवा लगाउनुभएको थियो । अहिले सबैले फल दिएको उहाँले बताउनुभयो । कुँवरले लगाएकै सालमा फूल फुल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताउनुभयो । स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उहाँ बताउनुहुन्छ । गाउँमा अहिलेसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको कुँवरले बताउनुभयो ।

कुँवर भन्नुहुन्छ, “यहाँ यसरी स्याउ फल्ला भन्ने पत्याएका थिएनौँ, तर अहिले चकित पार्ने गरी मसिनै बोटमा फल्यो, यसले हामीलाई हर्षित बनाएको छ, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरूलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आशा पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।”

निसीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तारा परियारले स्याउ फल्न थालेपछि कृषकलाई आवश्यक प्राविधिक तथा अन्य सहयोग गाउँपालिकाले गरिरहेको बताउनुभयो । अहिले यहाँका कृषकले तीन रोपनीमा एक सय ५० बिरुवा लगाएकामा अधिकांशले फल दिन सुरु गरेको बताउनुभयो । परीक्षण सफल हुँदै गएको भन्दै अब अन्य कृषकले पनि स्याउखेती गर्न चाहेमा गाउँपालिकाले सहयोग गर्ने उहाँको भनाइ छ ।

“फुजी जातको स्याउ यहाँको हावापानी, वातावरण र ‘हाइट’का लागि एकदम राम्रो हुन्छ, कृषकले पनि हावापानी सुहाउँदो स्याउको जात छनोट गर्नुभयो, अहिले नै राम्रो फल देखिएको छ, यसको परीक्षण सफल हुन्छ भन्नेमा हामी ढुक्क छौँ”, परियारले भन्नुभयो, “त्यहीअनुसार स्याउ राम्रो हुँदै गयो भने भविष्यमा यो ठाउँ स्याउ उत्पादनका लागि प्रख्यात हुने देखिन्छ ।”

निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौँ अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको थियो । अहिले गाउँपालिकाले निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ । चालु आर्थिक वर्षमा भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार वडा नं ५ र ६ मा चार सय ५० स्याउका बिरुवा लगाइएको छ । गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु सात लाखबाट स्याउखेती विस्तार गर्न थालिएको हो । यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाउन थालेको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।