धनकुटा महालक्ष्मी नगरको जितपुरमा देवी महालक्ष्मीको प्यागोडा शैलीको मन्दिर निर्माण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ७ जितपुरमा देवी महालक्ष्मीको मन्दिर निर्माण गरिएको छ ।
प्रदेश सरकारको १ करोड ५० लाख बराबर लागतमा शहरी विकास तथा भवन निर्माण कार्यालय मार्फत मन्दिर निर्माण गरिएको हो । विशेषज्ञहरुबाट पुरातात्विक (प्यागोडा) शैलीमा देवी महालक्ष्मीको मन्दिर निर्माण गरिएको निर्माण कम्पनी पूजा कन्ट्रक्शन महालक्ष्मी ७ का सञ्चालक परिर्वतनराज पौडेलले जानकारी दिनुभयो ।
यो मन्दिरले नगरको धार्मिक तथा पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अहिले मन्दिर निर्माण र मन्दिर परिसर वरिपरि पर्खाल लगाउने काम मात्र सकिएको महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज रायले बताउनुभयो ।
मूर्ति तथा मन्दिरसम्म पुग्ने सडक भने बजेट अभावको कारण बनाउन बाँकी नै रहेको नगर प्रमुख रायले बताउनुभयो । सम्भवभए नयाँ आर्थिक वर्षमा बाँकी काम गरिने उहाँको भनाई छ ।
ठेक्का पाएको निर्माण कम्पनीले ६ महिना अघि मन्दिरको काम पूरा गरी नगरलाई हस्तान्तरण गरेको थियो ।






