कुशल भुर्तेलले आठ चौक र दुई छक्का प्रहार गर्दै बनाए अर्धशतक
काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’विरुद्ध नेपाली टिमका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
बुधबार श्रीलंकाको पी सारा ओभलमा यूएईले प्रस्तुत गरेको १५८ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालका लागि तेस्रो क्रममा ब्याटिङका लागि आएका कुशलले ३३ बलमा ५० रन पूरा गरेका हुन् । उनले आठ चौक र दुई छक्का प्रहार गरे ।
त्यसअघि, नेपालले इनिङको पहिलो बलमै अर्जुन साउदलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । अर्जुनलाई यूएईका मुहम्मद जवादुल्लाहले एलबीडब्लूको धरापमा पारेका थिए ।
जारी खेलको १० ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ७३ रन जोडेको छ । हाल क्रिजमा कुशल भुर्तेलसँगै रहेका देव खनाल १८ रनमा खेलिरहेका छन् ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।


