निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

रुपन्देही । बुटवलको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएपछि स्थानीय त्रसित भएका छन् । प्रहरीले केही युवालाई पक्राउ गरे पनि सबै पक्राउ परेका छैनन् ।

बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका थिए । घाइतेको उनको टाउकोमा ६० वटा टाँका लगाइएको छ।

कालिकापथमा बुटवल उपमहानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने बताइरहेको छ। अहिले पनि कालिकापथमा खासगरी रात्रिकालीन व्यवसाय जम्ने गर्दछ। तर दिउँसै युवामाथि सडकमा खुलमखुला खुकुरी प्रहार भएपछि सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ।

रात्रिकालीन बजार चलेकै अवस्थामा युवाबीच हानाहान भइरहेको कालिकापथमा दिउँसो पनि युवा समूहले खुकुरी प्रहार गर्नुले बुटवलको सुरक्षा व्यवस्थाप्रति सबैले प्रश्न उठाएका छन्।

दिउँसै खुकुरी नचाउँदै सडकमा हानाहान गर्नुले बुटवलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको स्थानीय हरि अर्यालले बताए। नागरिकमा त्रास पैदा गरेको भन्दै सुरक्षाको प्रत्याभूति दिन उनले प्रहरी गम्भीर भएर लाग्नुपर्ने बताए।

सामान्य विवादले उग्र रूप लिएपछि खत्रीमाथि ३ युवा जाइलागेका थिए। इलाका प्रहरी कार्यालयका अनुसार खत्रीलाई आक्रमण गरेको आरोपमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले खत्रीमाथि आक्रमण गर्ने अन्य घटनापछि फरार रहेका र उनीहरूको खोजी भइरहेको बताए।

पक्राउ परेकाहरूलाई शरीर अंगभंगको अभियोगमा मुद्दा दायर गरिएको थापाले बताए। प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट सोमबार म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढेको जनाइएको छ।

दर्जन बढीको समूहमा आएका युवाले बीच बाटोमा रोकेर खुकुरी, हेलमेट, इँटालगायत हतियार प्रयोग गरी खत्रीलाई आक्रमण गरेको पीडित पक्षले आरोप लगाएका छन्।

कुटपिटमा परेका निर्मल खत्री कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीका छोरा हुन्। यो विवाद कालोपत्रे गर्न ठिक्क पारेको सडकमा ट्रक लैजाने क्रमबाट सुरु हुन्छ।

कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबीले बिहीबार साँझ निर्माणाधीन कालिकापथअन्तर्गत बुटवल ११ योगीकुटी नजिकै सडक पिच गर्न प्राइमर (कालोपत्रे) लगाएर राखेको अवस्थामा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किन्छ।

त्यसपछि सञ्चालक डिबीले कादरीसँग क्षतिपूर्ति माग राख्छन्। अर्को दिन शुक्रवार पैसा दिने सहमति भए पनि शुक्रवार कदरीले पैसा दिनुको सट्टा डिबीसँग भनाभनमा उत्रिए र पैसा दिनुको डिबीसँग उनी निहुँ खोज्न थाले ।

डिबीले शुक्रवार निर्मललाई कादरीकोमा पैसा लिन मानिस पठाए तर कादरीले निर्मललाई पैसा दिनुको सट्टा थर्काउने योजनामा लागे । सोही योजना अनुसार शुक्रवार बिहान कादरीसँगै सरोज शेरचन, किशन र गणेश भन्ने लोक बहादुर कुँवर जम्मा भएका हुन्छन्। उनीहरूले जम्मा भएर व्यवसायी निर्मललाई धम्क्याउँदै पैसा नदिने बताउँछन्।

त्यसपछि निर्मलले पैसा नदिएर केटाहरू लिएर कुट्न आएको भन्दै सवाल जवाफ गर्छन्। सामान्य हात हालाहाल पनि त्यही बेला हुन्छ। त्यसपछि कादरीको समूह त्यहाँबाट जान्छ।

झगडा भएको विषय निर्मल खत्रीले साथीहरू सुमन गुरुङ, सुमन बस्याल, झविन गौतमलाई फोनमार्फत बताउँछन्। अनि उनीहरू निर्मललाई भेट्न योगीकुटी आइपुग्छन्।

उनीहरूले छलफलबाटै घटना साम्य गर्न भन्दै मिलनचोकतर्फ जाँदै गर्दा कादरीको समूहले निर्मलको टिमलाई बीच बाटोमै मोटरसाइकलले बाटो छेकेर निर्मलमाथि जाइलागे । उनीहरूबाट बच्न भागेका निर्मललाई स्थानीय केही युवाले नजिकैको किराना पसलको सटरमा बन्द गरेर सुरक्षित राखे।

त्यहीबेला एम्बुलेन्स आउँदा कुटपिट गर्ने कादरीको समूह प्रहरी आएको भन्दै तितरवितर भएर र निर्मललाई तिलोत्तमाको क्रिमशन अस्पतालमा लगिएको थियो । हाल खत्री अस्पतालबाट घर आएका छन्। अहिले पनि अस्पतालमा उनी फलोअपका लागि जाने गरेका छन्।

आइतबार पक्राउ परेका तीनै जनालाई शरीर अंगभंग अभियोगमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । अन्य युवा भने फरार छन् ।

थापाका अनुसार निर्माणाधीन बुटवलको कालिका पथ सडकमा कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीले बिहीबार साँझ सडक पीच गर्नका लागि कालोपत्रे लगाएर राखेका थिए ।

निर्माण सम्पन्न नहुँदासम्मका लागि सवारी साधन चल्न रोक लगाइएको भएपनि स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किएको थियो । भत्किएको सडकमा निर्माण व्यवसायी खत्रीले कादरीलाई क्षति दिनुपर्ने माग गरेपछि कादरीले शुक्रवार लिन घर बोलाएका थिए ।

सहमति अनुसार रकम लिन गएका खत्रीका छोरा निर्मल खत्रीलाई कादरीले ३० जना भन्दा बढी युवा बोलाएर कुटपिट गर्दै चक्कु प्रहार गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।- नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।