राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर

भोजपुर, १० साउन (रासस) : राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका छवटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो ।

बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बाढीले ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहँुचभन्दा बाहिर रहेको उहाँको भनाइ छ । “राउते खोलाको बाढीले हाम्रो वडामा करोडौँको क्षति भएको छ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “यो खोला भएर बनेका सबै सडक बगाएको अवस्था छ । सडक अवरोध हुँदा दैनिकी निकै कष्टकर बनेको छ । यहाँको क्षतिको विषयमा राज्यले ध्यान आवश्यक छ ।”

बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । जेठ ३१ गते राति आएको बाढीले एक इन्जिनियरको ज्यानसमेत गएको थियो ।

“बाढीका कारण एक महिनादेखि यातायात सञ्चालनमा समस्या छ”, उहाँले भन्नुभयो, “खोलाले धेरै ठाउँमा कटान गरेकाले कतिपय बस्ती जोखिमा छन् । सिँचाइ कुलो बगाउँदा किसानलाई खेती गर्न समस्या रहेको छ । यस्तो अवस्था हुँदा पनि राज्यको खासै ध्यान पुगेको देखिँदैन ।”

बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासी मानबहादुर सुनारले बताउनुभयो । जनतामा ठूलो विपत्ति पर्दासमेत राज्यको ध्यान नगएको उहाँको भनाइ छ । “बाढीले यति ठूलो क्षति पुर्याउँदा पनि राज्य ध्यानले नदिएको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “बाढीले सडक बगाउँदा दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ । तत्काल पहिलाको सडक भएको स्थान मर्मत गर्न सकिने अवस्था छैन । वैकल्पिक मार्गको खोजी गरेर भए पनि यातायात सञ्चालनमा ल्याउन पहल हुन आवश्यक छ ।”

विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय सन्तोष राईले बताउनुभयो । छिमेकी जिल्ला खोटाङसँगै वडाका नागरिकलाई अस्पताल लैजान समस्या भएको उहाँको भनाइ छ । सडकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “बाढीले सडक बगाउँदा जिल्लाको पश्चिमी क्षेत्रको जनजीवन निकै कष्टर बनेको अवस्था छ”, उहाँले भन्नुभयो, “एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था छ । बिरामीलाई अस्पताल पुर्याउन सकिने अवस्था छैन । उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ ।”

राउते खोलाको शिरमा डाँडापाखा रहेकाले वर्षा हुनासाथ आसपासको क्षेत्रमा धेरै जोखिम रहेको स्थानीयवासी टङ्क घिमिरेले बताउनुभयो । असार ८ मा खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पुर्याएको उहाँको भनाइ छ । बाढीले अहिले सडक भएको स्थान गहिराएर लगेकाले अर्को ठाउँबाट सडक विस्तार गर्न आवश्यक रहेको घिमिरेको भनाइ छ ।

“यो खोलाको शिर निकै ठूलो छ”, उहाँले भन्नुभयो, “खोलो थुनिएर बाढी बस्तीमा पस्दा क्षति गरेको छ । माथिल्लो भेगको धेरै ठाउँमा पहिरो गएकाले जुनसुकै अवस्थामा बाढी बस्तीमा छिर्ने देखिन्छ । त्यही स्थानबाट सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन । पहिला सर्भे भएको ठाउँबाट वैकल्पिक सडक विस्तार गर्न आवश्यक छ ।”

गाउँपालिकाले विपद् कोषबाट सडक सञ्चालनमा ल्याउन पहल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले राज्यका अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ । “बाढीको कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको अवस्था छ”, प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “स्थानीयको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाको विपद् कोषबाट मर्मत गरेर सञ्चालनको तयारीमा जुटेका छौँ । धेरै ठाउँमा सडक बगाएको छ । गाउँपालिकाको बजेटले मात्र सबै ठाउँमा मर्मत गर्न असम्भव देखिएको छ । त्यसका लागि माथिल्लो निकायमा ध्यानकर्षण गराएका छौँ ।”

बाढीको कारण समस्या परेका स्थानीयलाई तत्काल केही आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । पाइप वितरण गरेर खानेपानी तथा सिँचाइ कुलो सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ ।

“बाढीको कारण निकै ठूलो क्षति भएको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “सडक सञ्चालन गर्नका लागि काम सुरु गरेका छौँ । धेरै ठूलो क्षति भएकाले गाउँपालिकाको बजेटले धान्ने अवस्था छैन । क्षतिको विवरण सङ्कलन गरेर प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटका लागि माग गरेका छौँ । अन्य निकायसँग पनि गाउँपालिकाले आवश्यक सहयोग जुटाउनका लागि पहल गरिरहेको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।