आफ्नै होटलमा खाजा खान आएका प्रहरीलाई किन मारे आमाछोराले ?

काठमाडौ । यही साउन ८ गते बागलुङस्थित प्रहरी चौकी भीमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन भइरहेको खबर प्रहरी चौकीमा आयो । उक्त सूचनाका आधारमा चौकी इन्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल केही प्रहरी जवानसहित खोलातर्फ लागे ।

तर खोलामा अवैध उत्खनन भइरहेको भन्ने सूचना भने गलत रहेछ । यद्यपि गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो। सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै थियो ।

गाउँपालिकाकै दुर्गम ठाउँ वडा नं १० को दर्लिङमा बैंकसँगको सहकार्यमा गाउँमै भत्ता वितरण हुँदै थियो । ठूलो परिमाणमा नगद लिएर गाउँ पुगेका बैंक र गाउँपालिकाका कर्मचारीलाई सुरक्षा दिने जिम्मेवारी पनि भीमगिठे प्रहरी चौकीकै थियो ।

खोला किनारबाट फर्किएपछि वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेलले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको ठाउँमा प्रहरी जवान खटाए । भत्ता वितरणको काम साँझ ५ बजेतिर सकियो। चौकीमा आकस्मिक काम भने चलिरहेकै थियो । तर औपचारिक काम सकिएपछि भने जिम्मेवारी हल्का भएको थियो ।

नयाँ आर्थिक वर्ष सुरु भएकाले गाउँपालिकाले कुनै पनि नदी तथा खोला किनार र बगरको ढुङ्गागिट्टी बालुवा ठेक्कामा लगाएको छैन । त्यसै पनि हरेक वर्ष जेठको १५ देखि असोजको १ गतेसम्म खोला तथा नदी किनारको उत्खनन गर्न नपाइने व्यवस्था छ । त्यही कानुनी व्यवस्था कार्यान्वयन गर्दै प्रकृति जोगाउन खोला चहारेको वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेलको टोली नागरिकलाई सुरक्षा दिन सामाजिक सुरक्षा वितरणमा खटिएको थियो ।

दिनभरि प्रकृति र नागरिकको सुरक्षामा खटिएका पौडेलले रात परेपछि आफ्नै प्राण भने जोगाउन सकेनन् । साउन ८ गते बागलुङको बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा उनको दुःखद निधन भयो ।

‘उहाँ बालबालिका, युवादेखि वृद्धवृद्धा सबैसँग मिलनसार व्यवहार गर्नुहुन्थ्यो’, भीमगिठेका युवा दिनेश शर्माले भने, ‘उहाँको मृत्युको खबरले त्यो दिन खाल बजार भरिभराउ भएको थियो, सबैको मन अशान्त देखिन्थ्यो ।’

आशा होटलमा उनी पहिलोपटक गएका भने होइनन् । प्रायः औपचारिक काम सकिएपछि उनी खाजा खान त्यहाँ पुग्ने गरेको स्थानीय बताउँछन् । सधैँ भोक मेट्ने होटलमा नै उनको देहलीला मेटियो । ‘काममा निकै इमान्दार हुनुहुन्थ्यो, तर मैले राम्रोसँग भने संगत गरिनँ’, बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पौडेललाई सम्झँदै भने।

प्रहरी अधिकृत नै मृत भेटिनु, हत्याको आशङ्का गरिनुलगायतका कारणले यतिबेला जिल्लाको बडिगाड गाउँपालिकालगायत मध्यपहाडी लोकमार्ग क्षेत्र आशङ्काको भुमरीमा छ । होटलमा खाजा खान गएका प्रहरी चौकी इन्चार्ज पौडेलको हत्याका विषयमा नागरिकमा प्रश्न छन्। पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

पक्राउ परेका होटल सञ्चालक आशा कुँवर तथा उनका छोरा विमल कुँवरको बयानका आधारमा हत्या भएको भन्न सकिने प्रमाण भेटिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का बताउँछन् । यद्यपि हत्याको कारण खुलेको छैन ।

‘सामान्य विवादपछि टाउकोमा प्रहार गरेको, ढलेपछि छातिमा लात्तिले हानेको र पर्दाले घाँटी थिचेर मारेको देखिन्छ’, प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हत्यापछि समेत आरोपितले निकै चलाखीपूर्ण तरिकाले सुनको सिक्री लुकाउने वडाध्यक्षलाई खबर गर्ने र आफैँ मृत्यु भएको बनाउने प्रयत्न गरेको एक प्रहरी अधिकृतले बताए। उनको शवको परीक्षण गण्डकी अस्पताल पोखरामा गरिएको थियो ।

‘शव परीक्षणको रिपोर्ट दुई हप्तामा आउँछ, त्यति बेलासम्म अनुसन्धानका अन्य पाटाबाट पनि धेरै खुल्ने छ’, प्रहरी निरीक्षक राजाराम खड्काले भने, ‘हत्या किन गरियो भन्ने विषय खोजीको विषय हो ।’ पर्वतको कुश्मा नगरपालिका–९ स्थायी घर भएका पौडेलको श्रीमती र बच्चा काठमाडौँमा बस्छन्। पौडेलको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

केही समय राष्ट्रियसभा अध्यक्षको सुरक्षामा समेत खटिएका पौडेल केही समयअघि मात्रै बागलुङ फर्किएका थिए ।-टिभी अन्नपूर्ण

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।