शिक्षण पेशासँगै उद्घोषणमा जमेका ‘केपी’

महेन्द्रनगर, १५ साउन (रासस) : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका केपी कलौनीले शिक्षण पेशा अङ्गालेको साढे एघार वर्ष भयो । हाल कैलालीको तेघरीमा रहेको नेपाली सेनाको सैनिक आवाशीय विद्यालयमा कार्यरत कलौनीको परिचय शिक्षक मात्र नभई सुदूरपश्चिम प्रदेशमै एक कुशल उद्घोषणका रुपमा परिचित छ ।

विसं २०६० देखि स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीको कला र प्रभावकारी उद्घोषणकै कारण उहाँको माग सुदूरपश्चिमसँगै भारतमा प्रवासीहरुले आयोजना गर्ने ‘स्टेज’ कार्यक्रममा धेरै छ । काठमाडाँैदेखि भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न नेपाली समाजले आयोजना गर्ने कार्यक्रममा पारिश्रमिक लिएर उद्घोषणका लागि जाने कलौनीसित कैलाली र कञ्चनपुरका स्थानीय रेडियो एफएममा काम गरेको अनुभव छ ।

दुई दशकदेखि उद्घोषणमा सक्रिय कलौनीले हालसम्म मेला÷महोत्सवमा स्टेज कार्यक्रम मात्रै साढे तीन सयभन्दा बढी सञ्चालन गरिसकेको बताउनुभयो । “मेला÷महोत्सवमा साङ्गितिक कार्यक्रम दर्शकलाई थप स्वादिलो बनाउन उद्घोषकको अहम भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “विद्यालयमा अध्यापन र स्टेजमा कार्यक्रम सञ्चालन फरक भए पनि दुवैतिर सक्रियताका साथ अघि बढेकै छु ।”

शनिबारलगायत बिदाका दिन स्टेज कार्यक्रममा उद्घोषकका रुपमा देखिने कलौनीले स्टेज कार्यक्रमबाट पारिश्रमिक स्वरुप राम्रै रकम पाउने गरेको बताउनुभयो । “यहाँ हुने मेला÷महोत्सवमा काठमाडौँलगायत अन्यत्रबाट उद्घोषक तथा कार्यक्रम सञ्चालक बोलाउने गरेको भए पनि सुदूरपश्चिममै प्रतिभावान उद्घोषक प्रर्याप्त उत्पादन भइसकेका छन्”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा हुने कार्यक्रममा यहाँका प्रतिभावान कार्यक्रम सञ्चालकलाई स्थान दिनुपर्छ ।”

सुदूरपश्चिममा उद्घोषकका रुपमा परिचय बनाएका कलौनी कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाका साथै भारतको राजधानी नयाँ दिल्ली, देहरादुन, पिथौरागढ लगायतका सहरमा पुगिसकेका छन् । ‘रङमञ्च’ कार्यक्रमबाट स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीलाई सुदूरपश्चिममा हुने हरेक मेला, महोत्सव र विभिन्न कार्यक्रममा बोलावट हुने क्रम बढ्दो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

“उद्घोषण कलाको आफैँमा चुनौती र अवसर पनि हो”, कलौनीले भन्नुभयो, “कार्यक्रमलाई रोचक ढङ्गबाट प्रभावकारी रुपमा सञ्चालन गरिरहेकै कारण यहाँ कार्यक्रममा बोलाउने क्रम बढ्दै गएको छ ।” स्नाकोत्तर तह अध्ययन पूरा गरेका कलौनी सैनिक आवाशीय विद्यालयमा स्वास्थ्य शिक्षा विषयका शिक्षक हुनुहुन्छ । “सकभर बिदाको दिन पारेर कार्यक्रम मिलाइरहेको हुन्छु”, एघार वर्षदेखि शिक्षण पेशामा रहका कलौनीले भन्नुभयो, “अति महत्वपूर्ण कार्यक्रम भए स्कूलबाट बिदा लिएर पनि गएको अवस्था छ ।”

लोक दोहोरी प्रतिष्ठानमा आबद्ध रहेका कलौनीले स्टेज कार्यक्रमले दामसँगै परिचय पनि बनाएको बताउनुभयो । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामी मेला÷महोत्सव सञ्चालन र थप मनोरञ्जनात्मक बनाउन उद्घोषकको ठूलो भूमिका रहने गरेको बताउनुहुन्छ ।

“केपी कलौनी सुदूरपश्चिममा उद्घोषणका साथै कलाकारिता क्षेत्रको प्रतिभावान नाउँ हो”, अध्यक्ष धामीले भन्नुभयो, “यहाँका हरेक कलाकारसित स्टेज कार्यक्रममा उहाँको सहकार्य बेजोड रुपमा हुँदै आएको छ ।” उहाँले उद्घोषण पनि कलाकारिताभित्रको एउटा महत्वपूर्ण पक्ष भएको जनाउँदै कलाकारको प्रस्तुत र दर्शकबिचको पुलका रुपमा अहम भूमिका रहने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।