सिर्जनात्मक,खोजमूलक र सत्य तथ्य सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई कांग्रेस केन्द्रिय सदस्य कोईरालाको आग्रह
धनकुटा । नेपाल प्रेस युनियन धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुलाई आज पद हस्तान्तरण गरिएको छ । निर्वाचन समितिका संयोजक खगेन्द्र प्रसाद घिमिरेको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोईरालाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच नव निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै पमुख अतिथि कोईरालाले सञ्चारकर्मीहरुलाई र्सिजनात्मक, खोजमूलक र तथ्य सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालहरुमा कतिपय तथ्यहिन कुराहरु पनि बढी प्रचारप्रसार भईरहेको पाईएको भन्दै यस्ता कुराहरुले आम मानिसलाई निराश बनाउने र नकरात्मक सन्देश जाने गरेको उल्लेख गर्नुभयो । त्यसैले यस्ता नकरात्मक कुराहरु न्यूनिकरणका लागि पनि सञ्चारकर्मीहरुले र्सिजनात्मक, खोजमूलक र सत्य तथ्यपूर्ण सामाग्री सम्प्रेषण गर्नपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि कोईराला सहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, नेपाल प्रेस युनियनका संघ, प्रदेशका अतिथिहरुलाई युनियनका निर्वतमान जिल्ला अध्यक्ष हिमा चेम्जोङले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन युनियनका निर्वमान सचिव विकास घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई सचिव विजय सन्तोषी राई, पूर्व केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ ,संविधानसभा सदस्य अञ्जना ताम्ली सहित महाधिवेशन प्रतिनीधि लगायतको उपस्थिती थियो ।
नेपाल प्रेस युनियन धनकुटाको १० औ अधिवेशनबाट विनोद घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको थियो ।


