पर्यटन विकासमा बगरफाँटका युवा

ध्रुवसागर शर्मा/ गलेश्वर (म्याग्दी), २ भदौ : म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित ‘बगरफाँट रिभर साइड युवा क्लब’का युवाहरु यहाँको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीको सरसफाइमा आज बिहानैदेखि जेटेका छन् । हातमा गैची, बेल्चा, कोदालो र गल लिएका युवाहरु पर्यटकीय क्षेत्रको सरसफाइ गर्न र परिचय बोर्ड राख्न भेला भएका थिए ।

खेलकुदमार्फत गाउँ तथा जिल्लामा पहिचान बनाउन सफल यहाँका युवाहरु पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने अभियानमा लागेका हुन् । पहिलो चरणमा कोप्रे झरना, उडाइनो छहरा र घुमाउने चौतारीको सरसफाइ गरी परिचय बोर्ड राख्ने काम आज बिहान सम्पन्न गरिएको क्लबका सचिव सचिन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशस्तै प्राकृतिक र पर्यटकीय सम्भावनाहरु रहेको बगरफाँट गाउँलाई पर्यटनमार्फत संसारभरि चिनाउने अभियानमा क्लबका युवा लागेका छन् ।

यहाँ पानी उड्ने उडाइनो छहरा, आन्तरिक पर्यटकहरुले खचाखच हुने कोप्रे झरना, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर, शिवाल, गुफा लगायतका पर्यटकीय स्थल रहेका सचिव सचिन कार्कीले जानकारी दिनुभयो ।

प्रचारप्रसार, मर्मतसम्हार र संरक्षणको अभावमा ‘बत्ती मुनिको अँध्यारो’जस्तै बनेका यहाँका पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने क्लबका अध्यक्ष सुनिल थापाले बताउनुभयो । “पुछारमा नागबेली पर्दै म्याग्दी खोला कलकल गरी बगिरहेको छ, सिरानमा विशाल चट्टाने पहरो र पहरोमा दुई खण्ड हुँदै बगेको उडाइनो छहरा, आप्रे छहरा र कोप्रे झरना छन्”, उहाँले भन्नुभयो, “बीचको समथर भागमा मिलेको बस्तीसहितको बगरफाँटमा देखिने गाउँ र उर्वर फाँटको हरियालीले यहाँ आउने पर्यटकहरु मक्खै पर्ने गर्दछन् ।”

बगरफाँट गाउँ पर्यापर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको अध्यक्ष थापाको भनाइ थियो । यहाँ गरिएको केरा र तरकारी खेतीले गाउँको सौन्दर्य अझै बढाएको उहाँले बताउनुभयो ।

बाहिरबाट यहाँ आएका मानिसको मुखबाट ‘आहा बगरफाँट!’ भन्ने शब्द निस्कने गरेको स्थानीय मीनबहादुर कार्कीले बताउनुभयो । बगरफाँट गाउँ घुम्न र यहाँका पर्यटकीय स्थलहरुमा रमाउन टाढाटाढाका मानिसहरु आउन थालेका उहाँले बताउनुभयो ।

स्थानीय समावसेवी नारायण कार्कीको अगुवाइमा बगरफाँटको पलाँसे क्षेत्रमाथि रहेको चट्टानको थुम्कोमा दुर्गा भगवतीको मन्दिर निर्माण गरिएको क्लबका पूर्वअध्यक्ष एवं सल्लाहाकार इन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । यहाँ मन्दिरसम्म पुग्नका लागि बनाइएका आकर्षक सिँढी, पक्की बाटो र मन्दिरको तल्लो भागमा अलगअलग थान बनाई राखिएका विभिन्न देवीदेवताका मूर्तिले गाउँको सौन्दर्यलाई बढाउनाका साथै धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गएको उहाँको भनाइ थियो ।

सचिव कार्कीका अनुसार यहाँको पर्यटन विकासका लागि युवाले दोस्रो चरणअन्तर्गत आकर्षक बगैँचा र पिकनिक स्पोट (वनभोज स्थल) निर्माणका लागि तयारी सुरु गरेका छन् । “यसका लागि आवश्यक बजेट नगरपालिकाबाट प्राप्त भएमा निर्माण कार्य निकै सहज हुने थियो”, उहाँले भन्नुभयो, “बजेट पाएनौँ भने पनि काम रोक्दैनौँ, देश विदेशमा रहनुभएका यहाँका युवा साथीहरुसँग सहयोग मागेर भए पनि काम अगाडि बढाउनेछौँ ।”

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेट दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदका साथै पर्यटन प्रव््द्धनका क्षेत्रमा काम गरिरहेकाले उनीहरुको कामलाई पालिकाले सदैव सहयोग गर्ने बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । युवाहरुले गाउँलाई चिनाउँदै समाजलाई सङ्गठित बनाउने उद्देश्यले काम गरिरहेकाले यस कार्यबाट पर्यटन विकासमासमेत टेवा पुगेको उहाँको भनाइ थियो ।

वडाध्यक्ष कार्कीका अनुसार युवाहरूको पहलमा यहाँ ५५ मिटर चौडाइ, एक सय मिटर लम्बाइको खेलमैदान निर्माण भएको छ । “करिब रू २५ लाखको लागतमा निर्माण भएको उक्त खेलमैदानमा गत चैत २८ गतेदेखि चार दिनसम्म प्रथम रिभरसाइड सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको थियो”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष कार्कीले बगरफाँट खेलाडीहरूको गाउँ भएको बताउँदै यहाँका युवाले जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा सम्मानित हुँदै आएका बताउनुभयो । उहाँका अनुसार गत माघमा पोखरामा भएको फुटसल प्रतियोगितामा क्लबका युवाले प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए ।

यहाँका युवा सङ्गठित भई खेलकुद, पर्यटन विकासका साथै अन्य सामाजिक र जनचेतनामूलक काममा लागेका छन् । कोरोनाको समयमा क्लबका युवाले घरघरमा पुगेर औषधि, मास्क, स्यानिटाइजरलगायत सामग्री वितरण गर्ने, बिरामीलाई अस्पतालसम्म पु¥याउनेलगायत काम गर्दै आएका स्थानीयले बताएका छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।