स्व. केदेमको परिवारलाई जापान चुम्लुङ्द्वारा सहयोग प्रदान
झापा । उच्च शिक्षाको अध्ययनको क्रममा जापान पुगेकाे केश समयमै निधन भएका बचन केदेमको परिवारलाई किरात याक्थुङ चुम्लुङ जापानले सहयोग गरेको छ । अल्पायुमै निधन भएका केदेमकाे परिवारलाई सहानुभूति स्वरूप चुम्लुङ जापानले आर्थिक सहयोग प्रदान गरेकाे हाे ।
किरात याक्थुङ् चुम्लुङ्, जापानको प्रतिनिधित्व गर्दै किरात याक्थुङ् चुम्लुङ झापालबाट गत भदौ ५ गते चुम्लुङकर्मीकाे उपस्थितिमा एक लाख ४५ हजार ७ सय ४० रुपैयाँ स्व. बचन केदेमको दिदी सुमित्रा केदेमलाई हस्तान्तरण गरिएको थियाे ।हस्तान्तरण कार्यक्रममा कियाचु संघीय सदस्य चन्द्रकला सुब्बा, इक्सा सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे लगायत उपस्थित भएको कियाचु झापा अध्यक्ष सेसेहाङ फियाकले जनाए । स्व. केदेमका दिदी सुमित्रा केदेमलाई दमकस्थित निवासमा भेटघाट गरी कियाचु, जापानले सङ्कलन गरी पठाएको रकम हस्तान्तरण गरिएको उनले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, चुम्लुङ् दमक नगर पालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्र कन्दङ्वा लगायत स्थानीय समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
ताप्लेजुङ् मेरिङ्देन गाउँपालिका वडा नं. २ स्थायी निवासी बुबा आशिकराम केदेम र आमा स्व. मनकुमारी ओख्राबुको कान्छा छोराका रुपमा स्व.बचन केदेमकाे वि.सं. २०६० भदौ १४ गतेका दिन जन्म भएको थियाे । हाल दमक नगर पालिका वडा नं. ८ झापामा दिदी लगायत परिवारसँग बसोबास गर्दै आएका थिए । बचन केदेम दमकस्थित पद्मा इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट अध्ययनको सिलसिलामा जापानको आइची केनको नागोयास्थित नागोया एआइयुइओ इन्टरनेशनल स्कूलमा भाषा विद्यार्थीको रुपमा २०२३ फ्रेबुवरी ८ तारिखका दिन जापान पुगी अध्ययन गरिरहेको अवस्थामा सन् २०२३ जुन २३ तारिख शुक्रवार बिहान विद्यालय जानेक्रममा बाटोमा अचानक बेहोस भई कोमेइ मिनातो कु स्थित चुबु रोसाइ हस्पिटलमा उपचार गर्न पुर्याइएकाे थियोे । उनकाे उपचाररत अवस्थामा निधन भएको चुम्लुङ जापानका महासचिव मुक्साम लाओतीले जनाए । स्व. बचन केदेम जापान जानुपूर्व याक्थुङ् युवा मञ्च दमक नगर शाखाका सचिव समेत रहेका थिए ।


