भदौरे नाचको रौनक

गलकोट (बागलुङ), २० भदौ : बागलुङ बजारमा अहिले भदौरे नाचको रौनकता छाएको छ । यहाँको पुरानो नाचमध्येका विभिन्न नाचहरु दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ । लोपोन्मुख अवस्थामा रहेका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् ।

विसं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताउनुभयो । उहाँले उक्त नाच दुई सय ३७ वर्ष पुरानो हुनसक्ने बताउनुभयो ।

श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गत पर्ने अन्य केही नाचहरु भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले थेतर, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायतका नाचहरु प्रदर्शन भइरहेको जानकारी दिनुभयो । “शिखारी र नाग नागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे नाचहरु संरक्षित छन्”, उहाँले भन्नुभयो, “नेवार जातिका कला संस्कृतिअन्तर्गतका धेरै नाचहरु आर्थिक हिसाबले खर्चिला छन् । जुन बचाउनै गाह्रो छ ।”

अहिले भदौरे नाचको अवसरमा देखाइएका नाचका कारण बजार क्षेत्रमा रौनकता छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण पाँच वर्षमा एक मात्र देखाइने गरिएको जानकारी दिनुभयो । पछिल्लो समय युवाहरुले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुन देखाउन थालिएको उहाँको भनाइ थियो ।

नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरु अन्य जातजातिलेसमेत रोचक मानेर हेर्ने गरेका छन् । यस नाचलाई बर्खे नाच पनि भन्ने गरिएको स्थानीयवासी मञ्जुल शाक्यले बताउनुभयो । भदौरे नाच हेर्दा रमाइलो लागे पनि निकै खर्चिलो हुने गरेको भन्दै यसको संरक्षणमा थप चुनौती थपिएको उहाँले बताउनुभयो ।

यहाँ लोप हुन लागेका नाच संरक्षणका लागि शाक्य समाजले लामो समयदेखि सक्रियता देखाउँदै आएको शाक्यले बताउनुभयो । उहाँले पछिल्लो समयमा भदौरेअन्तर्गतका नाचहरु संरक्षणमा युवाहरुले समेत चासो देखाउन थालेकाले केही सहज भएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय नेवा ल्याम्ह पुचःले समेत नाच संरक्षणमा तदारुकता देखाएको छ ।

“नेवारभित्र पनि विभिन्न कला तथा संस्कृति फरकफरक पाइन्छन् । लामो समयदेखि बागलुङमा शाक्य कल्याण समाजले जोगी, रोपाइँ र लाखे नाच संरक्षण गर्दै आएको छ”, शाक्यले भन्नुभयो, “सबै नेवार समुदायले भदौरे नाचलाई पनि संरक्षण गर्नुपर्छ भनेर एकजुट भएका छन् ।”

उहाँका अनुसार गाईजात्राको दिन निकै खर्चिलो मानिएको बास्सा नाच सामूहिक रुपमा देखाइएको थियो । परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाच देखाउने भए पनि आर्थिक हैसियत हुनेले मात्रै उक्त नाच देखाउने गरेका शाक्यको भनाइ थियो ।

भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको अगुवा नेवार समुदायले बताउँदै आएका छन् । बागलुङको नेवार समुदायले संरक्षण गर्दै आएको हनुमान नाच भने नेपालमा नै लोप हुन थालेको छ ।

घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाचहरु प्रदर्शन भइरहने शाक्य कल्याण समाजले जनाएको छ । मध्य भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ देखिने उत्साह र सहभागिताले भने संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ ।

एक महिनासम्म बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउने समय र कलाकार व्यवस्थापनमा चुनौती रहे पनि त्यसलाई सबैको साथ र सहयोगबाट सम्भव हुँदै आएको नेपाल भाषाः मङ्काः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

भदौरे नाच बागलुङ बजारको इतिहाससँग जोडिएको उहाँको भनाइ थियो । बागलुङ बजार स्थापनासँगै भदौरे नाच देखाउन थालिएकाले यो यस क्षेत्रको इतिहाससँग जोडिएकाले पनि संरक्षण गर्नुपर्ने भन्दै अध्यक्ष राजभण्डारीले यसका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।