रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

शङ्कर श्रेष्ठ / मलेखु (धादिङ), २२ भदौ : गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए । जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए । मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए । त्यही ढ्याङ्ग्रो ठोकेर फलाक्नेमध्येका एक हुनुहुन्थ्यो धादिङ गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ ।

नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरुको मुख्य पर्व पनि हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वका रूपमा परिचित यो पर्वमा आफ्ना कूलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ ।

“नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ”, झाँक्री राजकुमार चेपाङले भन्नुभयो, “नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कूल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ ।”

चेपाङ समुदायले आफ्नो प्रमुख चाडका रूपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन् । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।

“पितृ नबुझाई र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ”, नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले भन्नुभयो, “यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फलाकेरमात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो ।”

छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन् । ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ । चेपाङले न्वागी पर्वलाई ‘पान्देइ घ्यासा’ चाड पनि भन्छन् । भेला भएर ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरूले वारनाको रूपमा मनाउने नेपाल चेपाङ सङ्घका केन्द्रीय सचिव एवं धादिङको गजुरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताउनुभयो ।

वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा गए राति (बिहीबार) रातभर ढ्याङ्ग्रोमा फलाकेर आज (शुक्रबार) बिहान न्वागी पूजा गर्ने चलन छ । चेपाङ समुदायले पर्वका रूपमा हरेक वर्ष भदौ २२ गतेलाई मनाउने भए पनि आ–आफ्नो कूलभित्र भने भदौ महिना लागेदेखि फलाक्न सुरु गर्छन् । कूल र भूगोलअनुसार साना–साना समूहमा पनि झाँक्री फलाक्ने र न्वागी मनाउने चलन छ ।

प्रकृति पूजकका रूपमा पनि चेपाङ जातिलाई चिनिन्छन् । सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन् । जल, जङ्गल र जमिन चेपाङ जातिको जीविकोपार्जनको मुख्य स्रोत हो । जमिनमा खोरिया खन्ने, जङ्गलमा सिकार गर्ने र जलमा बल्छी र जाल हानेर माछा मारी जीविका धान्ने चेपाङको परम्परागत विशेषता हो ।

सार्वजनिक बिदा

चेपाङ सङ्घले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउँदै आएका छन् । अघिल्लो वर्ष चितवनमा सामूहिकरूपमा मनाएकामा यो वर्ष धादिङमा मनाइरहेका छन् । न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । चितवन र मकवानपुर, गोरखालगायत जिल्लाका चेपाङ बिहीबारदेखि नै धादिङको गजुरी–५ च्याङ्लीमा जम्मा भएका छन् । न्वागी मनाउन सरकारले सार्वजनिक बिदा दिएको यो दोसो वर्ष हो ।

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ । चेपाङ समुदायको जनसङ्ख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ । गोरखा, तनहुँ र लम्जुङमा पनि चेपाङ समुदायको बाक्लो बसोबास छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो ।

चेपाङ भाषाबाटै ‘धादिङ’को नाम

धादिङ जिल्लाको नाम पनि चेपाङ भाषाबाटै राखिएको भन्ने कथन छ । चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी–देउता चथौत माटो’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो”, चेपाङ सङ्घ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले भन्नुभयो ।

न्वागीलाई माटो पूजाका रूपमा पनि लिएका छन् । चेपाङ समुदायको थातथलो नै महाभारत क्षेत्र हो । चेपाङहरू पहिलादेखि नै धादिङ, चितवन र मकवानपुरको सिमाना महाभारत शृङ्खलामा बसोबास गरेको र उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि धादिङ जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ ।

चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।