गन्धर्व पेसा : रहरभन्दा बाध्यता

काठमाण्डौ – कर्मसँग दिक्दारै परियो
रुँदारुँदै पोखरी भरियो

उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए ।

विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष पहिले सारङ्गी रेटेर परिवार पाल्न मुस्किल भएपछि रोजगारीका लागि विदेश जानुभयो ।

भारत पुगेर केही वर्ष सुरक्षागार्डको जागिर गरेपछि विष्णुका छोरा कमाउन सक्ने भएपछि विष्णु पुर्ख्याैली पेसामै फर्कनुभयो । पछिल्लो दुई वर्षदेखि विष्णु पुनः सारङ्गी रेट्दै हुनुहुन्छ ।

हिमाल चुच्चे टाकुरीमा सुन मेरो घर
खेती किसान केही छैन, सारङ्गीको भर

सारङ्गीको धुनसँगै गीत मिसाएर विष्णुले आफ्नो बाध्यता बोल्नुहुन्छ । ‘गरेर खाने जग्गा जमिन छैन, पेसा व्यवसाय गर्नलाई पुँजी छैन, रोजगार गर्नलाई शिक्षा छैन, सीप छैन,’ उहाँले भन्नुभयो, ‘सारङ्गी रेट्नु, गीत गाउनु उहाँको रहर माध्य होइन, बाध्यता हो ।’

सारङ्गी रेट्ने र गीत गाउने कला विष्णुका लागि ‘बाजे र बा’ ले छाडेर गएको पुख्यौँली सम्पत्ति हो । बाउ बाजेले सिकाएको सीपले १० वर्ष पहिलेसम्म विष्णुले आफ्नो परिवार सजिलै पाल्नुहुन्थ्यो । मङ्सिरमा मुरीका मुरी धान उठ्थ्यो, मौसमअनुसार प्रत्येक घरका इष्टले दुई/चार झोता मकै दिन्थे, माघमा कोदो, जेठ असारमा गहुँ, लाहुरे आउँदा कपडा र कम्मल उठाएर विष्णुको परिवार चल्थ्यो । तर, आजभोलि पहिलेजस्तो आम्दानी नभएको विष्णुको भनाइ छ ।

एउटा घरबाट एक मुठी चामल र २० रुपैयाँ पनि मुस्किलले मिल्ने गरेको बताउँदै उहाँले आफूले जस्तो दुःख भावी पुस्ताले गर्न नपरोस् भन्ने कामना गर्नुहुन्छ । सरकारले आफूजस्तै गन्धर्व र उनीहरुका परिवारको संरक्षणको लागि चासो नदिएको उहाँको भनाइ छ । स्थानीय जनप्रतिनिधिले आफ्नो समुदाय, कला र कलाकार बचाउनका लागि केही पनि नगरेको उहाँको गुनासो छ ।

‘हाम्रो त समुदाय नै लोप हुन थाल्यो, पेसा व्यवसाय सङ्कटमा पर्‍याे, अन्य पेसा आउँदैन, रोजगार गर्न शिक्षा दीक्षा छैन भनेर लिखितरुपमै वडा कार्यालयमा निवेदन लिएर गएका हौँ,’ विष्णुले भन्नुभयो, ‘हामी, हाम्रो समुदाय र हाम्रो कला संस्कृतिको संरक्षणका लागि जनप्रतिनिधिले चासो दिएनन् ।’

विष्णुले सारङ्गी रेट्ने मात्र होइन, सारङ्गी बनाउनु पनि हुन्छ । पाँच दिन लगाएर खिर्राको काठबाट बनाइएको एउटा सारङ्गी २३ हजार रुपंयाँमा बिक्री गर्नुहुन्छ । तर, नयाँ पुस्तामा पेसाप्रतिको घट्दो आकर्षणले सीप भए पनि मारेर बास्नुपरेको उहाँको दुखेसो छ ।

सरकारले चासो नदिँदा नयाँ पुस्तामा आकर्षण नभएको त्यसै ठाउँका ६५ वर्षीय भद्रबहादुर गन्धर्वको गुनासो छ । ‘बलेवामा मात्रै २७ घर गन्धर्वका थिए, अहिले घटेर १७ भएका छन्,’ भद्रबहादुरले भन्नुभयो, ‘हामी बाचुञ्जेल पेट पाल्नुपर्ने बाध्यताले पेसा छोड्न नसकिने भयो, छोरा नातीले त बरु गिट्टी कुट्छन् यो पेसामा रुचि देखाएनन् ।

उहाँले गन्धर्वको जीवन नै सारङ्गी भएको बताउँदै अरु केही गरौँला खाउँला भनेर सोच नबनाए पनि अहिले आएर बाध्यता भएको भद्रबहादुरको भनाइ छ । गन्धर्वलाई स्थानीयले नेता, जनप्रतिनिधिले समेत चासो नदेखाएको उहाँको गुनासो छ । भद्रबहादुरले पछिल्लो समय सारङ्गी रेट्न छोडिसक्नुभएको तर विष्णुलाई भने साथ दिँदै आउनुभएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माले अहिलेसम्म गन्धर्व समुदाय लक्षित कार्यक्रम र योजना नभएको भए पनि आगामी दिनमा योजना र कार्यक्रम ल्याइने बताउनुभयो।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।