बजेट अभावले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ओझेलमा

राजकुमार पराजुली /काभ्रेपलाञ्चोक, १ असोज : परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवर्द्धन एवं संरक्षण अभियान यसबर्ष बजेट अभावमा ओझेलामा परेको छ । गत आर्थिक बर्षसम्म बाग्मती प्रदेश सरकारले धुलिखेलस्थित कृषि ज्ञान केन्द्रमार्फत रैथाने बाली प्रवर्द्धन एवं संरक्षण कार्यक्रम प्राथमिकताकासाथ गर्दै आएको थियो ।

उक्त अभियानअन्तर्गत गत बर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ४० हेक्टर जमिनमा रैथाने बाली प्रवर्द्धन गर्न सुरु गरिएको थियो । यसका लागि दुवै जिल्लाबाट रैथाने बाली प्रवर्द्धन कार्यक्रम गर्न कृषक समूह तथा कृषि सहकारीसँग प्रस्ताव आह्वान गरी कार्यक्रम अघि बढाइएको केन्द्रका बागबानी विकास अधिकृत उमेश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक बर्षमा उक्त कार्यक्रमका लागि बजेट नहुँदा अभियाननै स्थगित गरिएको हो ।

यसअघि प्रदेश र सङ्घीय सरकारले रैथाने बाली प्रवर्द्धनका लागि बर्षेनी बजेट थप्दै आएको अधिकृत सापकोटाले बताउनुभयो । गतबर्ष प्रदेश सरकारले रैथाने बाली प्रवर्द्धनका लागि काभ्रेपलाञ्चोकमा बिनियोजित रु ४० लाखबाट सङ्घीय सरकारको ‘राष्ट्रिय खाद्य सुरक्षा मिसन रैथाने बाली प्रवर्द्धन ’ कार्यक्रमअन्तर्गत तालिम, प्रचारप्रसार, अनुदानमा कृषि सामग्री वितरण, उन्नत जातका रैथाने बालीको बीउ वितरण तथा होटल, होमस्टे ब्यवसायीलाई रैथाने बालीका परिकारमा आकर्षण गराउन तालिमलगायत कार्यक्रम गरिएको थियो ।

विशेषगरी गाउँमा सञ्चालित होमस्टेमा रैथाने बालीको परिकार दिन सकिने भएकाले तिनलाई कार्यक्रममा समेट्न थालिएको अधिकृत सापकोटाले बताउनुभयो । यसअघि उक्त अभियानमाअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका केही स्थानीय तहका खेतबारीमा रैथाने बाली लगाइएको थियो । कृषि विभागमार्फत केन्द्रले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी ती क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको थियो । रैथाने बालीको उत्पादन बर्षैपिच्छे बढ्दो परिमाणमा पाइएको बताइन्छ ।

पोषणको दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमीलगायत बाली पर्दछन् । केन्द्रले रैथाने बालीको वीउ निःशुल्करुपमा कृषकलाई वितरण गर्नाका साथै ८५ प्रतिशतसम्म अनुदानमा उपकरण दिइएको उल्लेख गर्दै उहाँले पोषणको दृष्टिले महत्वपूर्ण मानिएको तर हाल नेपाली भान्छामा कमै प्रगोग हुने गरेकाले रैथाले बालीलाई प्रवर्द्धन एवं संरक्षण गर्न यस्तो कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो । “लापोन्मुख अवस्थाका रैथाले बालीलाई नयाँ कृषि कार्यक्रममार्फत प्रवर्द्धन गर्न लगिएको थियो, बजेट अभावमा कुपोषणबाट मुक्त हुन तथा मानिसको स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्ने विषयमा हाल रुकावट आएको छ”, अघिकृत सापकोटाले भन्नुभयो ।

अनुसन्धान र प्रसारमा कम जोड दिइएको यस्ता बालीलाई मध्य तथा उच्च पहाडी क्षेत्रहरुमा खाद्य तथा पोषण सुरक्षाको आधार बनाइने लक्ष्य लिइएको छ । जलवायू अनुकुलित बाली, पौष्टिकताले भरिपूर्ण, उच्च प्रतिस्पर्धी क्षमता, मूल्य अभिबृद्धि तथा विविधिकरणको सम्भावना, बेजोड स्वाद, गुणस्तर उच्च, कृषि पर्यटन वृद्धि , कम लगानी, सिमान्त जमिनमा गर्न सकिने तथा ‘क्लाइमेट स्मार्ट भिलेज’ बन्ने भएकाले यसको प्रवर्द्धन तथा संरक्षण गर्नुपर्ने उद्देश्य रहेको थियो ।

रैथाने बालीमा धान र गहुँको तुलनामा प्रोटीन र फलामतत्व बढी हुने भएकाले यसप्रति कृषकलाई आकर्षण गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ । बालीविज्ञका अनुसार रैथाने बाली रोपेपछि त्यति रेखदेख गर्न नपर्ने भएकाले सजिलो हुने, जुनसुकै हावापानीमा कम लागतमा पनि उत्पादन हुन्छ ।

यसैबीच पाँचखाल नगरपालिकाले भने गत बर्षको स्थानीयस्तरमा रैथाने बालीका परिकार ख्वाउन होमस्टे सञ्चालन गर्ने गरी सञ्चालनमा ल्याएको कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरको १, ५, ८ र ११ नं वडामा रैथाने बालीको रुपमा रहेको कोदो, फापर, जौ, स्थानीय मकैलगायत बाली संरक्षण तथा रैथाने बाली प्रयोग गर्ने गरी घरबास(होम स्टे) सञ्चालन गर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको थियो । नगर कृषि शाखाका अनुसार नगरका चार वडामा क्लस्टर बनाइ २० समूहमार्फत रैथाने वीउ, हाते ट्याक्टर, जोख्ने मेसिन तथा अन्न राख्ने विशेष खालका (किराहरु नलाग्ने) बोरा वितरण गरिएको थियो। साथै अभियानअन्तर्गत् प्रारम्भिक चरणमा २० समूहलाई भटमासको बीउ वितरण गरिएको थियो । नगरको ५ नं वडास्थित खावा होमस्टेमा पाहुनालाई रैथाने बालीबाट बनेका परिकार खुवाईंदै आइएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा बार्षिक ४० हजार आठ सय आठ मेट्रिकटन मकै, १८ हजार छ सय ८३ मेट्रिकटन धान, १६ हजार पाँच सय ६८ मेट्रिकटन गहुँ, दुई हजार छ सय ७३ मेट्रिक टन कोदो र पाँच सय ४६ मेट्रिकटन फापर उत्पादन हुने गरेको छ । काभ्रेपलाञ्चोक खाद्यान्नमा आत्मनिर्भर भई खाद्यान्न स्थिति सन्तलुनमा तीन हजार ४१ मेट्रिक टन बढी खाद्यान्न उत्पादन हुने गरेको छ ।

रैथाने बाली प्रवर्द्धन गर्दा खाद्यान्न सन्तलुन स्थिति बढ्दै जाने प्रक्षेपण गरिएको पाइन्छ । कृषि विभागका अनुसार कोदोमा २८८ मिलिग्राम क्याल्सिएम तथा ४९ दशमलव दुई प्रतिशत फलाम पाइन्छ भने फापरमा ६४ मिलिग्राम क्याल्सियम पाइन्छ । यस्तै चामलमा १० मिलिग्राम क्याल्सियम र जिरो दशमलब सात प्रतिशत मात्र फलाम पाइन्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।