सामुदायिक बिद्यालयहरुमा पठन-पाठन ठप्प भएपछि पाख्रीबास नगरपालिकाले निकाल्यो यस्तो विज्ञप्ति
धनकुटा । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा हिजोबाट देशैभरिका शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौमा जम्मा भइ आन्दोलनरत छन् ।
शिक्षकहरुको आन्दोलनको कारण देशैभरिका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
यसै क्रममा पाख्रिबास नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा पनि पठन-पाठन ठप्प भएको छ ।
बिद्यालयहरुमा पठन-पाठन ठप्प भएपछि नगरपालिकाले प्र्स विज्ञप्ति जारी गरेको छ । नगर प्रमुख ज्ञान बहादुर गुरुंगद्नारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ :
प्रस्तुत विषयमा यस नगरपालिकाले शैक्षिक अभिवृद्धीका लागि शिक्षालाई सदैव प्राथमिकतामा राख्दै शिक्षक/कर्मचारी तथा बालबालिकाको हक तथा अधिकारलाई सम्मान गर्दै अघि बढेको सर्वविधितै छ । हाल संघिय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० को सन्दर्भलाई लिएर शिक्षक / कर्मचारीहरुले विभिन्न माग राख्दै विद्यालयको पठन पाठन स्थगन गरी आन्दोलनका कार्यक्रम आयोजना गरेकोमा यस नगरपालिकाको ध्यान आकर्षण भएको छ ।
यस्तो अवस्थामा आफ्ना मागहरुलाई वैकल्पिक तरिकाले सम्बन्धित निकायमा राख्दै वार्ताको माध्यमबाट समस्यको समाधान गरी विद्यार्थीहरुको पठन पाठनको अधिकारलाई सुनिश्चित गर्नका लागि यस नगरपालिका सम्बन्धित सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछ ।



