पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी

वासुदेव पौडेल/गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक(सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन् ।

कोरोनालगायत विविध कारण विगतका केही वर्ष यस क्षेत्रको पदयात्रामा पर्यटक आउने क्रम घटे पनि आगामी दिनमा पर्यटकको आगमन बढ्ने आशा पलाएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । कोरोना महामारीपछि सुस्ताएको यहाँको पर्यटन व्यावसायमा पछिल्ला दिनमा उत्साह थपिँदै गएको बताउँदै उहाँले नयाँ याम सुरु हुँदै गर्दा युरोपियन राष्ट्रका विभिन्न छ समूहले अग्रिम बुकिङ गरिसकेको जानकारी दिनुभयो ।

“पदयात्रा गर्नका लागि दिनानुदिन आउने गरेका सोधपुछका कारण पनि हामी उत्साहित छौँ”, गुरुङले भन्नुभयो, “युरोपियन राष्ट्रकै पदयात्री पर्यटकको एउटा समूह यतिखेर मिलेनियम ट्रकमा पदयात्राकै क्रममा छ ।” सुस्ताएको पर्यटनलाई गति दिने उद्देश्यले समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा गत जेठ २६ गतेदेखि ३२ गतेसम्म उक्त क्षेत्रमा पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा पदयात्रामा खटिने पथप्रदर्शकसहित सरोकारवाला समेतको प्रवर्द्धनात्मक भ्रमण गराइएको उहाँले बताउनुभयो ।

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने उक्त पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएको हो । यस पदमार्गको पहिलो नक्शाङ्कन विसं २०६४/६५ मा गरिएको थियो । “समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यस पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ”, गुरुङले भन्नुभयो, “पूरै पदयात्रा सम्पन्न गर्न एक हप्ता लाग्ने भए पनि बीचबीचमा छोटो दुरीमा एक दिने हाइकिङदेखि दुई तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य हो ।”

दुलेगौँडादेखि रामबाछासम्म जोडिएको पदमार्गको लम्बाई ७२ किलोमिटर रहेको मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो । “दुलेगौँडाबाट गाछेपानीस्थित रक गार्डेन, च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा हुँदै भैँसेगौँडा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “भैँसेगौँडाबाट चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै स्याङ्जाको रामबाछा पुगी पदयात्रा सम्पन्न हुन्छ ।”

कम उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिकले समेत यस क्षेत्रमा पदयात्रा गर्न सक्ने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार पदयात्री पर्यटकलाई लक्षित गरी यस मार्गका विभिन्न १७ स्थानमा होमस्टे(घरवास) सञ्चालनमा आएका छन् । पछिल्लो समयमा पदमार्ग क्षेत्रमा रिसोर्ट एवम् अन्य विभिन्न पूर्वाधार थपिने क्रममा रहेका छन् ।

पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारीतर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, कृष्ति आदिका मनोरम भूभागले यहाँ आउने पर्यटकको मन लोभ्याउने अध्यक्ष गुरुङको भनाइ थियो । यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यका साथै पदमार्ग क्षेत्रमा ऐतिहासिक एवम् धार्मिक सम्पदालाई विश्व पर्यटन बजारमा अझै पुर्‍याउन नसकिएको उहाँले बताउनुभयो ।

प्राकृतिक सुन्दरतासँगै पदमार्गमा विभिन्न गाउँमा जोगाइएका प्राचीन मौलिक संस्कृतिले पनि यहाँको आकर्षण थपेको अध्यक्ष गुरुङले बताउनुभयो । कोरोना महामारीअघि यस पदमार्गमा चहलपहल बढ्दै गएकामा कोरोनापछि भने पर्यटकको आगमन सुस्ताएको उहाँको भनाइ थियो ।

पदयात्रासँगै यस क्षेत्रमा अवलोकन गर्न सकिने झन्डै तीन सय वर्ष पुरानो ढोर मूलकोट दरबारसहित यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घरलगायत क्षेत्र यहाँको आकर्षक गन्तव्य रहेको ढोरमूलकोट दरबार व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाडले बताउनुभयो । ढोरदरबार सहितका ऐतिहासिक स्थललाई पदयात्रा पर्यटनसँग जोडिएको उहाँले बताउनुभयो ।

“पदयात्रा मार्गकै चन्द्रकोटस्थित सतौँ राजाको ‘समरप्यालेस’ यहाँको अर्को महत्वपूर्ण आकर्षण हो”, खाडले भन्नुभयो, “चन्द्रकोट दरबारले नेपालका बाइसेचौबिसे राजाको पालाका सतौँ राजाको हिउँदे दरबारका रूपमासमेत ख्याति कमाएको छ ।” उहाँका अनुसार भिरकोट कालिका, यहाँस्थित किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि एक हजार सात सय नौ मिटर उचाइको ऐतिहासिकस्थल बुढाकोटलगायत स्थानले पदमार्गको महत्व बढाएका छन् ।

पदयात्राको नयाँ याम सुरु हुँदै गर्दा पछिल्ला समयमा मिलेनियम ट्रेकका सम्बन्धमा आउने गरेका सोधपुछ एवम् अग्रिम बुकिङले आगामी दिनमा ठूलो सङ्ख्यामा पर्यटकले यहाँको पदयात्रा गर्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।