खोटाङको लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा तीन महिनादेखि कालापानीवासी समस्यामा

खोटाङ, १६ असोज : खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोशीबाट विसं २०७६ पुस २४ गते लिफ्ट गरेर पानी निकालिएको थियो ।

साविकको लिच्कीराम्चे–७ का ९७ घरलाई लक्षित गर्दै सञ्चालन गरिएको रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना विसं २०७७ पुस–११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

खानेपानी अभावमा बसाइँ सर्नुपर्ने बाध्यतामा रहेका कालापानीबासीका लागि सुरुका केही दिन लिफ्टिङ खानेपानी आयोजनाले राहत मिलेको थियो । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका कालापानीका स्थानीयवासी ढिलै भए पनि आफ्नो गाउँमा लिफ्टिङ खानेपानी आयोजना भएपछि हर्षित भएका थिए ।

कहिले बेलामा विद्युत् महसुल बुझाउन नसक्दा र कहिले उपकरण बिग्रँदा रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द हुने गरेको छ । नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको रु ३६ लाख बराबरको श्रमदान गरी रु एक करोड ८० लाखमा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना तीन महिनादेखि बन्द छ ।

एउटा लिफ्टको मोटर चलाउने पाइनल बोर्ड बिग्रेका कारण गत असारदेखि रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द भएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले जानकारी दिनुभयो । “खानेपानी आयोजना बन्द भएपछि समस्या भएको छ । स्थानीयस्तरबाट मर्मत गर्ने सम्भावना छैन”, उहाँले भन्नुभयो, “प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खोटाङले उपकरण खरिद गरिदिने र दसैँअघि लिफ्टिङ खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोशीको पानी लिफ्ट गर्ने प्रयासस्वरुप विसं २०७० मा डिटेल सर्भे गरिएको थियो । विसं २०७२ चैत ११ गते शिलान्यास गरेर पाँच वर्षपछि सञ्चालनमा ल्याइएको रसुवाघाट–कालापानी खानेपानी आयोजना खोटाङकै पहिलो लिफ्टिङ आयोजना हो ।

कालापानीमा खानेपानीको समस्या हल गर्न नदीको पानी निकाल्नु वा बस्ती सार्नुपर्ने अवस्था देखिएपछि तत्कालीन गाउँपालिका प्रमुख एवं वर्तमान प्रदेशसभा सदस्य राईकै पहलमा रसुवाघाट–कालापानी लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो । लिफ्टिङ आयोजनाका लागि नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ ।

विद्युत्को सहायतामा ५० एमएमको जिआइ पाइपमार्फत १०/१० हजार लिटर क्षमताको दुईवटा सप्लाई ट्याङ्कीमार्फत सबैभन्दामाथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको आरसिसि ट्याङ्कीमा पानी जम्मा गरेर वितरणको व्यवस्था मिलाइएको छ ।

कालापानीमा सुनकोशीको पानी तान्ने योजना सुरु भएसँगै हलेसी क्षेत्रमा दूधकोशीको, रावाबेँसीको डुम्रेधारापानीमा दूधकोशीको र दिक्तेलमा साप्सुखोलाको पानी लिफ्ट गर्ने योजनाको काम भइरहेका छन् ।

लिच्कीराम्चेमा केही समयअघिदेखि दिहुँखोला खानेपानी योजना सञ्चानलनमा ल्याइएपछि लिफ्टिङ आयोजनाको पानी प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था हटेको छ । लिफ्टिङ गरिएको नदीको पानीभन्दा दिहुँखोलाको पानीको महसुल सस्तो पर्ने भएकाले पछिल्लो समय उपभोक्ताले लिफ्टिङ गरिएको पानी कम प्रयोग गर्न थालेका छन् ।

लिफ्टिङ गरिएको खानेपानीको महसुल मासिक न्यूनतम रु पाँच सय पर्छ जब कि दिहुँखोलाको पानीको महसुल वार्षिक रु पाँच सय पर्ने गरेको अध्यक्ष राउतले जानकारी दिनुभएको छ । गत असारअघिको करिब रु दुई लाख विद्युत् महसुलमध्ये अझै रु ५०/६० हजार महसुल चुक्ता गर्न बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।