पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन,सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ

राधिका बुढाथोेकी / कमलामाई (सिन्धुली), २३ असोज : “व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।”

सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिनुभएको छ । कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उहाँले रु ३० लगानी गरेर व्यापार सुरु गर्नुभएको हो । उक्त पैसाले ३० वर्षअघि प्रतिमुठा रु पाँचमा छ मुठा फापरको साग किनेर बेचेको उहाँलाई हिजोजस्तै लाग्छ ।

व्यापार सुरु गर्दासम्म उहाँका आँखा चम्किला, दाँत भरिला थिए । कपालको रङ कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ । शरीरको छाला चाउरिँदै गयो । तर उहाँले व्यापार छाड्नुभएको छैन ।

७९ वर्षीया दर्जी सानो लगानीमा स–साना व्यापार गरेरै जीवन र जीविका धान्दै आउनुभएको छ । रोगले थलिएका श्रीमान्को दरिलो आड र भरोसा उहाँलाई छ । घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उहाँले जोहो गर्नुपर्छ ।

यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ । सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटबजारमा व्यापार गर्न आउनुभएकी दर्जी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बताउनुभयो । “तीस वर्ष पहिले रु ३० सापटी गरेर व्यापार सुरु गरेको थिएँ । आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घरव्यवहारको खर्च टार्न सहज भएको छ”, उहाँले भन्नुभयो ।

शनिबारे हाटबजारमा दसैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो । कपडा, भाडाँकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा ठूलै व्यापार गर्ने व्यापारीे थिए । सेवाग्राहीको उस्तै खचाखच । त्यही भीडमा निलो प्लाष्टिक बिच्छ्याएर अदुवा, लसुन, गुन्द्र्रुक, जिरे खुर्सानी भाग–भाग लगाएर उहाँ बेच्न बस्नुभएको थियो ।

विगत सम्झिँदै उहाँले सुनाउनुभयो, “म पहिलादेखि यस्तै व्यापार गर्ने हो । तन्नेरी उमेरमा पनि श्रीमान् रक्सी पिएर झगडा गर्ने, कुट्ने–पिट्ने र घरव्यवहारको वास्तै नगर्ने भएपछि आफैँले खर्च टार्ने गर्नुपथ्र्यो । खर्च टार्ने उपाय केही नभएपछि काम खोज्न भौतारिए । काम नपाएपछि विरक्तिएर घर फर्किँदा खम्बे चौरमा आफूजस्तै दीदी–बहिनीले दैनिक भान्छामा प्रयोग हुने तरकारीजन्य वस्तु व्यापार गरेको देखे । नजिकै गएर उहाँसँग व्यापार गर्ने तरिका सिके । व्यापार सुरु गर्न श्रीमान्सँग पैसा मागेको ३० रुपैयाँ त्यो पनि फिर्ता गर्ने शर्तमा दिनुभयो । त्यही पैसाले गाउँका किसानकामा गएर प्रतिमुठा रु पाँचका दरले फापरको साग किने । त्यो छ मुठा साग बजार ल्याएर प्रतिमुठा रु १० का दरले बेच्दा रु ३० नाफा कमाएँ । अर्को दिन त्यही नाफा आएको पैसाले अघिल्लो दिन जसरी नै व्यापार गरे । नाफा आएको ३० रुपैयाँ श्रीमानलाई फिर्ता दिए । तीस रुपैयाँले आफ्नो व्यापार बढाउँदै आज यो स्थानमा आइपुगेको छु ।”

फुटपाथमा गरेको व्यापारमा उहाँ हाल दैनिक रु पाँच हजारसम्मको कारोबार गर्नुहुन्छ । आफ्नो एक्लो स(ङ्र्घषमा सानो लगानीबाट सुरु गरेको स–सानो व्यापार परिवारको बाच्ने गतिलो आधार बनेको छ ।

मौसम अनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याई बेच्दा घाटा नहुने उहाँले बताउनुभयो । श्रीमान्सँग सापटी लिएको ३० रुपैयाँबाट व्यापारिक यात्रा सुरु गर्नुभएकी दर्जीले दृढ इच्छाशक्ति, इमान्दार प्रयास र आँट भए व्यापार गर्न धेरै लगानी नचाहिने आशय व्यक्त गर्नुभयो । भन्नुभयो, “थोरै लगानीमा सानै भए पनि जसले व्यापार सुरु गर्छ, उसले भोकै बस्नु पर्दैन । व्यापार नै जीविका धान्ने बलियो आधार बन्छ ।”

ढाटीमाया दर्जीले जसरी व्यापार गरेर आर्थिकरूपमा सवल र आत्मनिर्भर बन्ने महिलाको यकिन तथ्याङ्क जिल्लाका कुनै निकायसँग छैन । सानो लगानीमा स–सानै व्यापार गरेर मालामाल कमाइरहेका र समाजमा उदाहरणीय कहलिँदै गएका महिला भने सिन्धुलीमाढी बजार क्षेत्रको फुटपाथमा बाक्लै भेटिन्छन् ।

कमलामाई–५ बोजेकी फूलमाया वाइबाले सिन्धुलीमाढीमा साप्ताहिकरूपमा लाग्ने शनिबारे हाटबजार, धुराफाँटमा लाग्ने बुधबारे हाटबजार, भिमानमा लाग्ने शुक्रबारे हाटबजार र अन्य दिन बजार क्षेत्रको फुटपाथमा मौसमी तरकारी, तरकारीजन्य वस्तु तथा कागती, अम्बा, बयरजस्ता फलफूलको व्यापार गर्नुहुन्छ ।

श्रीमान् गणेश वाइबा बितेपछि तीन सन्तानको हुर्काइ, पढाइसहित घरव्यवहारकोे सम्पूर्ण जिम्मेवारी उहाँको काँधमा आयो । उहाँले २० वर्षअघि सानो लगानीमा व्यापार सुरु गर्नुभएको थियो । यसबाट अहिले उहाँ उत्साहित मात्रै हुनुहुन्न, आत्मनिर्भर पनि बन्नुभएको छ । व्यापारबाट महिनामा १५ हजार माथि नाफा कमाउने उहाँले बताउनुभयो । “खेतीपाती गरेर खाउ भने आफ्नो जग्गा छैन, यही व्यापारको कमाइबाट खर्च टार्छु । भान्छामा प्रयोग हुने सामान बिक्दैन कि भन्ने चिन्ता हुँदैन । सबैलाई दैनिक खान चाहिन्छ”, उहाँले भन्नुभयो ।

भान्छामा दैनिक प्रयोग हुने उपभोग्य वस्तु गाउँका किसानबाट थोरै–थोरै ल्याएर रु पाँचदेखि १५ सम्म नाफा हुने गरी बेच्नुहुन्छ । किसानले थौरे मात्रामा उत्पादन गरेका अग्र्यानिक स्थानीय उत्पादन बजारसम्म ल्याउँदा उपभोक्ताले खुसी भएर किन्ने गरेको उहाँको अनुभव छ ।

कमलामाई–६ की देवकुमारी आले सिजनअनुसार हरियो मकै पोलेर बेच्नुहुन्छ । किसानसँग प्रतिगोटा रु १० का दरले हरियो मकै किनेर पोलेर रु २० देखि ३० सम्म बेच्ने गरेको उहाँले बताउनुभयो । उहाँले वर्षौँदेखि हरियो मकै पोलेर बेच्दै आउनुभएको छ । सिजनअनुसारका स्थानीय उत्पादन हरियो अखबरे खुर्सानी, अमला, बेसार र साग बेचेर नाफा कमाएको पैसाले घरव्यवहार चलाउँदै आउनुभएको छ । स्वास्थोपचार र औषधिमा सबैभन्दा धेरै खर्च हुने उहाँले सुनाउनुभयो ।

“व्यापार राम्रो भएको महिना रु १७ हजारसम्म कमाएको छु । व्यापार गर्न लजाउन हुँदैन, आफ्ना हातगोडा चलुन्जेल आफ्नै पौरखमा बाँच्नुपर्छ”, उहाँले भन्नुभयो । आफूले खाएर बचेको करेसाबारीको उत्पादन थोरै भए पनि बारीबाटै बिक्ने भएपछि जिल्लाका मुख्य सडकले छोएका र बजारको सहज पहुँच भएका गृहणी पनि मेहनती र उद्यमशील बन्दै गएका छन् ।

पहिला खेर जाने जङ्गली फलदेखि खेतबारी र करेसाबारीमा उत्पादन भएका तरकारीजन्य वस्तु तथा सिजनअनुसारका फलफूल पछिल्लो समय आफैँ बजार पुर्याएर बिक्री गरी आम्दानी लिन थालेका छन् । यसले यहाँका महिलालाई आर्थिकरूपमा सवल र आत्मनिर्भर बनाउँदै लगेको छ ।

महिला आर्थिकरूपमा सवल र आत्मनिर्भर भएमा महिलामाथि हुने विभिन्न हिंसाजन्य गतिविधिमा कमी आउने जिल्लाका सफल व्यापारी तथा व्यवसायी महिला बताउँछन् । यसका लागि सरकारले परनिर्भर जीवन बाँचिरहेका महिलालाई सानो लगानीमा पनि व्यापार, व्यवसाय गर्न सकिन्छ भनेर आवश्यक जानकारी दिने, व्यापार, व्यवसायमा लागेकालाई प्रोत्साहन गर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने, स्वरोजगारमूलक सीप सिकाउने र व्यापार, व्यवसाय गर्न सहज वातावरण बनाइदिनुपर्ने उहाँहरूको धारणा छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।