बिरुवा उत्पादनले बदलिएको पहिचान

रामपुर (पाल्पा), २६ असोज : पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहनुभएका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहनुभएको छ ।

उहाँको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमीयामलाई मध्यनजर गर्दै बिरुवा उत्पादन गर्ने बस्यालले यस व्यवसायबाट नाम र दाम दुवै मिलेको बताउनुभयो । “बिरुवा उत्पादन सुरु गरेदेखि समाजमा मेरो पहिचान फेरिएको छ, छोटो समयमा आम्दानी हात परिरहेको छ, घरमै बसेर बिरुवा उत्पादन गरी बिक्री कार्यमै दिनहरू बित्छन्”, उहाँले भन्नुभयो ।

तरकारी खेतीको तुलनामा बिरुवाबाट छोटो समयमा आम्दानी तत्काल लिन पाइने, बिरुवा बिक्रीका लागि समस्या नरहेको बस्यालले बताउनुभयो । व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले तरकारीको बजारीकरण, उत्पादन लिन धेरै समय, रोग कीराको समस्याका कारण एक दशकयता भने बिरुवा उत्पादनलाई जोड दिनुभएको छ ।

“तरकारीको तुलनामा बिरुवाबाट धेरै फाइदा छ, तरकारीले बजार नपाएर कुहाएर फाल्नुपर्ने अवस्था पनि आउँछ”, उहाँले भन्नुभयो, “लागतअनुसारको मूल्य पाइँदैन, रोग कीराले सताउने गर्छ, बिरुवा बेच्न धेरै सजिलो छ ।” उहाँले एक वर्षमा करिब रु एक लाख बराबरको बिरुवा बिक्री गर्नुहुन्छ । नर्सरीबाटै धमाधम बिरुवा बिक्री भइरहेको छ ।

पाल्पाको रामपुरलगायत छिमेकी जिल्ला, स्याङ्जा, तनहुँलगायतका स्थानबाट ग्राहक घरमै बिरुवा खरिद गर्न आउने गरेको बस्यालको भनाइ छ । बिरुवा बिक्रीबाट घर खर्च चलाउन धेरै सजिलो भएको उहाँ बताउनुहुन्छ । बस्यालले बिरुवा उत्पादनका अलवा पशुपालन, कुटानी पिसानी मिलसमेत सञ्चालन गर्दै आउनुभएको छ ।

सोही ठाउँकै अर्का कृषक राधिका बस्यालले बिरुवा बिक्रीबाटै गत वर्ष रु एक लाख ४० हजार बराबरको आम्दानी गर्नुभयो । यस वर्ष पनि सो बराबरकै आम्दानी हुने उहाँको अनुमान छ । विगत आठ वर्षदेखि बिरुवा उत्पादन गरिहनुभएकी राधिकाले यस व्यवसायबाट आफू समाजमा चिनिने अवसर पाएकामा खुसी व्यक्त गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला घरपरिवार, आफन्त, साथीभाइले मात्रै चिन्नुहुन्थ्यो, अहिले यस व्यवसायका कारण धेरैका सामु व्यावसायिक कृषकको रूपमा परिचित हुन पाउँदा खुसी लागेको छ ।” बिरुवा उत्पादनका अलवा घरमा पशुपालन, धान, गहुँ, मकै, तरकारी खेती गरिरहेको उहाँ बताउनुहुन्छ ।

आफँैले बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि अरुको भर पर्नु नपरेको उहाँको भनाइ छ । घरायसी कामधन्दासँगै आयआर्जनका लागि मौसमी तथा बेमौसमी विभिन्न जातका बिरुवा लगाएर आत्मनिर्भर बन्न सकिने राधिकाको अनुभव छ ।

यतिबेला यहाँका किसानलाई ग्राहकको मागअनुसार बिरुवा पुर्याउन समस्या भइरहेको छ । बेमौसमी बिरुवा उत्पादन गर्ने किसान कम भएकाले बिरुवा खरिद गर्न आउने बर्सेनि ग्राहक बढिरहेका छन् । बिरुवा राम्रो पाइने भएकाले पनि धेरै ग्राहकले खोजी–खोजी घरमै पुगेर खरिद गर्ने गर्दछन् ।

राम्रो मूल्य लिनका लागि यहाँका किसानले असोज र कात्तिकमा काउली, बन्दा, गोलभेँडा, ब्रोकाउली, प्याजका बिरुवा उत्पादन गर्छन् भने माघ र फागुनमा लहरेबालीका बिरुवा उत्पादन गरी बिक्री गरिरहेका हुन्छन् । बेमौसमीयामका बिरुवा भएकाले किसानले मूल्य राम्रै पाउँछन् । अहिले काउली र बन्दाको प्रतिबोट बिरुवा रु पाँचमा बिक्री भइरहेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।