प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

कञ्चनपुर, २८ असोज ः शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् ।

यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गर्नुभएको छ ।

उहाँले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडनुभएको छ ।

“दसैँका बेला मेरो खातामा तलब आइपुग्यो”, उहाँले भन्नुभयो, “आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको तलब पछि सोध भर्ना हुनेगरी बाँडिदिए ।”
“दसैँको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाइएपछि खाली हात घर जान थाले, भावुक भएर हेर्न थाले”, प्रधानाध्यापक भण्डारीले भन्नुभयो, “मुटु भक्कानियो, मन थाम्न सकिन, त्यसपछि आफ्नै तलबबाट रकम बाँड्ने निधो गरे, बाँडे ।”

तलब नपाएर हैरान भएकाबेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैँ खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताउनुभयो । थोरै रकम पाए पनि दसैँका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उहाँले बताउनुभयो ।

“स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौँ, हतास मनस्थितिमा पनि छौँ ।”

“गुणस्तरीय शिक्षाको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले नगर शिक्षक राख्ने बहानामा विद्यालयमा वर्षौंदेखि पठनपाठनको काम गर्दै आएका शिक्षकलाई विस्थापन गराउन तलब रोक्ने निर्णय कतिको ठिक हो”, उहाँ भन्नुहुन्छ ।

कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहतबाहेक अन्य छ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । विद्यार्थीको सङ्ख्या एक सय ६२ रहेको छ । नगरपालिकाले निजी स्रोतका शिक्षकको तलब रोके पनि वडा कार्यालयले विद्यालयलाई रु दुई लाख अनुदान रकम उपलब्ध गराउने गरी बजेट विनियोजन गरे पनि खाता सञ्चालन नहुँदा विद्यालयको खातामा रकम आई पुगेको छैन ।

खातामा रकम नआइपुग्दा निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्ना लुहार विद्यालयमा पढ्नेमध्ये ८० प्रतिशत बढी विद्यार्थी दलित समुदायको रहेको बताउनुहुन्छ ।

“अभिभावकको आर्थिक अवस्था कमजोर हँुदा निजी स्रोतका शिक्षकको तलब जुटाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले अनुदान रकम रोक्दा विद्यालय सञ्चालन गर्न निकै अप्ठ्यारो भएको छ”, उहाँ भन्नुहुन्छ, “नगरपालिकाले विद्यालयले निजी स्रोत शिक्षकको तलबबापतको अनुदान रकम रोक्ने हो भने विद्यार्थी अनुपातमा दरबन्दीका शिक्षकको व्यवस्था गर्न सक्नुपर्छ, विद्यालयलाई राजनीति गर्ने थलोका रुपमा विकास नगरी स–साना बालबालिकाको भविष्यका बारेमा सोच्नुपर्छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।