वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

मध्यविन्दु (नवलपरासी), २८ असोज : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् ।

केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गर्नुहुन्छ । “वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ । तरकारी बेचेर मनग्य कमाइ भइरहेको छ । जीविकोपार्जनमा पनि सहज हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकैको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुर कहाँ ग्राहक झुम्मिने गरेका छन् । उहाँले लुँडे, खोले साग, फर्सीको मुन्टा, लोकल खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्नुहुन्छ । कावासोती हाटबजारमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन जाने गर्नुभएको छ ।

“नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ”,उहाँले भन्नुभयो, “पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु । व्यापार त गर्नै पर्छ, कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु ।”

पूख्यौली पेसा सङ्कट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको स्थानीयवासी रमिया मुसहरले बताउभयो । “हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो । नदीमा माछा पाइन छाड्यो”, उहाँले भन्नुभयो, “निकुञ्जको निगरानी पनि बढ्दै गयो । गैँडा, बाघलगायत जङ्गली जनावरको जोखिम भएकाले मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ ।”

पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आउनु भएका स्थानीयवासी धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेतीकिसानीले परिवारमा केही खुसियाली थपिएको बताउनुभयो । उहाँका अनुसार केही मुसहर परिवारले बस्ती छेवैको खाली जग्गामा खनिएको माछा पोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन् ।

माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्ने क्रम बढेको स्थानीयवासी सन्तबहादुर माझीले बताउनुभयो । “माझी, मुसहर र बोटे समुदायका मानिसहरू अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारी र कतिपय सिकर्मी÷डकर्मी पेसातर्फ उन्मुख भएका छन्”, उहाँले भन्नुभयो, “पहिलेपहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट वञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन् ।”

नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरुको गुनासो छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।