चाडबाडले गाउँबस्ती खेलमय

बेदकोट (कञ्चनपुर), २९ असोज ः ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन् ।

घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा क्रिकेट प्रतियोगिता चलिरहेको छ । “प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको छ”, आयोजक सुदूर मिडियाका सञ्चालक सुरेश भट्टले भन्नुभयो, “चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ ।”

उहाँका अनुसार प्रतियोगितामा दोधारा चाँदनी नगरका प्रत्येक वडाका एक÷एक टिमसहित १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद रु ७५ हजार र उपविजेतालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

चाडबाडमा सबै फुर्सदमा हुनाले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भूपेन्द्रसिंह रावलले बताउनुभयो ।

“विद्यार्थीको बिदाको समय छ, चाडबाडले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेका घर फर्किएका छन्, खेतीपाती सकेर चाडबाडको यो समयमा अधिकतर फुर्सदमा छन्”, उहाँले भन्नुभयो, “त्यसैले चाडबाड लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ, खेलले चाडबाडको समयमा फुर्सदमा रहेकालाई जोड्ने काम गरेको छ ।”

भीमदत्त नगरपालिकाको वडा नम्बर १२ को कार्यालयले प्रत्येक वर्ष पूर्णा माध्यमिक विद्यालयको खेलमैदानमा क्रिकेट प्रतियागिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा भीमदत्त नगरभित्रका २८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद रु एक लाख ५१ हजार एक सय एघार र उपविजेताले रु ७७ हजार सात सय ७७ पुरस्कार हात पार्ने छ ।

विद्यालय बिदा भएर फुर्सदिमा बनेका विद्यार्थी तथा युवायुवती चाडबाडको समयमा कुलतमा फस्ने खतरा हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उहाँको भनाइ छ । कञ्चनपुरको नौ वटै स्थानीय तहका गाउँबस्ती सहर बजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका ‘खसी कप’ तथा नगद धनराशी पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन् ।

चाडबाड सुरु भएसँगै खेलकुदका गतिविधि ह्वात्तै बढेको हो । कञ्चनपुरको भीमदत्त, दोधारा, बेदकोट, बेलडाँडी, पुनर्वास, बेलौरीलगायतका ठाउँमा क्रिकेट, फुटबल, ब्याडमिन्टर, भलिबललगायतका खेल आयोजना भइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।