राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नु पर्छ : सांसद राई

अशोक घिमिरे/काठमाडौँ, १ कात्तिक : मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । दशवर्षे जनयुद्ध, जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक नाघिसकेको छ । गणतन्त्र स्थापनापछि तीनवटा निर्वाचन सम्पन्न भइसकेका छन् । तर हाम्रो संसदीय अभ्यास र सोच अझै पनि राजतन्त्रकालीन अवस्थाको रहेको भन्दै सदनमा बारम्बार आवाज उठ्ने गरेको छ ।

सदनमा सांसदहरूले संसदीय अभ्यासलाई अहिलेको व्यवस्थाअनुकूल चलाइनुपर्छ भनेर आवाज उठाइरहँदा विकृति संसदीय अभ्यासले ‘परम्परा’का नाममा निरन्तरता पाइरहेको देखिन्छ । नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राई पुरानो अभ्यासलाई यथास्थितिमा अगाडि बढ्दा प्रभावकारी काम गर्न नसकिने दाबी गर्नुहुन्छ ।

राजतन्त्रकालीन संसदीय अभ्यास र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संसदीय अभ्यास एकै हुन नसक्ने उहाँको भनाइ छ । “हाम्रो संसदीय अभ्यासमा सुधार गर्दै जानुपर्छ । कमीकमजोरी सुधारेर अगाडि बढ्नुपर्छ”, सांसद राई भन्नुहुन्छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउन, सङ्घीयता कार्यान्वयन तथा गणतन्त्रलाई संस्थागत गर्न सबैको ध्यान जानुपर्छ । नराम्रा संसदीय अभ्यासलाई सुधार्दै अगाडि बढ्नुपर्छ ।”

संसद् अवरुद्ध गर्नु नपर्ने विषयलाई लिएर पनि सदन अवरुद्ध भइरहेको उल्लेख गर्दै उहाँले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने तथा गलत कामको खबरदारी गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । “सरकारले राम्रो काम गरिरहेको छ, तर दलीय स्वार्थका कारणले संसद् अवरुद्ध भइरहेको छ । प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्नुपर्छ”, सांसद राईले भन्नुभयो, “प्रतिपक्ष जो पनि हुनसक्छ । आज एउटा पार्टी सत्तामा छ । भोलि अर्को पार्टी सत्तामा हुनसक्छ । प्रतिपक्षी रचनात्मक र सिर्जनात्मक हुनुपर्छ, राम्रा काममा समर्थन र गलत कामको खबरदारी गर्नुपर्छ ।”

सदनमा धारणा राख्ने क्रममा कतिपय अवस्थामा असीमित समय दिँदा समयको दुरुपयोग भइरहेकोतर्फ उहाँले बारम्बार आवाज उठाउँदै आउनुभएको छ । पूर्वप्रधानमन्त्री भइसकेका सांसदलाई सदनमा असीमित समय दिइएको विषयमा सांसदहरूले बारम्बार सभामुखको ध्यानाकर्षण गराइरहनुभएको देखिन्छ ।

सांसद राई कानुन निर्माणसँगै जनताको आशा र अपेक्षा पूरा गर्न ध्यान दिनुपर्ने भएकाले सांसदको दोहोरो भूमिका रहेको बताउनुहुन्छ । सङ्घीय सांसद भएको हुनाले निश्चयरूपमा आफूहरूको भूमिका कानुन निर्माणमै केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

“सांसद जनतासँग प्रत्यक्ष जोडिने भएको हुनाले जनताको समस्या तथा आशा, अपेक्षा पनि पूरा गर्नुपर्ने हुन्छ । सांसदहरू दोहोरो भूमिकामै रहन आवश्यक हुन्छ”, उहाँ भन्नुहुन्छ, “सदनमा दर्ता भएका विधेयक संशोधन गर्दै त्यसलाई उत्कृष्ट बनाउन भूमिका खेल्नुपर्ने हुन्छ । जनतासँग प्रत्यक्ष जोडिएर विकास निर्माणमा पनि ध्यान दिनुपर्ने हुन्छ, जनतासँग नजोडिएको अवस्थामा जनता असन्तुष्ट हुने भएकाले दुवै काममा सांसद सक्रिय हुनुपर्छ ।”

सङ्घीयता कार्यान्वयनमा बाधा सिर्जना गर्ने प्रवृत्ति देखिएको सांसद राईको ठम्याइ छ । “संसद्मा प्रतिनिधित्व गर्ने दलहरूमा पनि सङ्घीयतालाई लिएर फरक बुझाइ छ । सङ्घीयता कार्यान्वयन नहोस् भन्ने दलको पनि सदनमा उपस्थिति छ”, उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन गर्ने ठाउँमा हामीलाई जटिलता छ । तर मुलुक कुनै पनि हालतमा पछाडि फर्कँदैन । पछाडि फर्केर गन्तव्यमा पुगिँदैन । पूर्णरूपमा सङ्घीयता कार्यान्वयन हुन्छ ।”

नेकपा (माओवादी केन्द्र) की सांसद राई शान्ति प्रक्रियाका बाँकी कामलाई जतिसक्दो छिटो निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुहुन्छ । शान्ति सम्झौता भएको लामो समय भइसक्दा पनि निष्कर्षमा पुग्न नसक्नु विगतका सरकारको कमजोरी भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन काम गरिरहेको बताउनुभयो ।

विसं २०१९ कात्तिक २७ गते भोजपुरको टेम्केमैयुङमा जन्मनुभएकी सांसद राई २०३५ सालदेखि राजनीतिमा आबद्ध हुनुभएको थियो । उहाँ चौथो महाधिवेशनको विद्यार्थी सङ्गठन छैटौँमा २०३५ सालदेखि संलग्न, २०३८ सालमा चौथो महाधिवेशन पार्टी सदस्यता प्राप्त, २०४२ सालपछि मसाल, एकता केन्द्र हुँदै माओवादी सेल कमिटीदेखि राजनीतिक समितिसम्म आबद्ध हुनुभयो । उहाँ हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।

“शान्ति सम्झौता सम्पन्न भएको डेढ दशक नाघिसकेको छ, तर शान्ति प्रक्रियाका केही काम अझै बाँकी छन् । सङ्क्रमणकालीन न्यायको विषय अगाडिका सरकारले नै टुङ्ग्याउनुपर्ने थियो । वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सबै राजनीतिक दलसँग छलफल गरिरहेको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रक्रियामा छ । सरकार र संसद्ले शान्ति प्रक्रियाका कामलाई तत्काल निष्कर्षमा पुर्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुगेमात्रै मुलुक स्थिर शान्तिको बाटोमा अगाडि बढ्ने सांसद राईको भनाइ छ । “एउटा पार्टी, अर्को पार्टी भन्नेभन्दा पनि समग्र मुलुकलाई दिगो शान्तिको बाटोमा अगाडि बढाउनका लागि शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन सरकार र सांसदको पहिलो जिम्मेवारी हुनुपर्छ । अलिहेको संसद्को पहिलो काम नै शान्ति प्रक्रियामा टुङ्गोमा पुर्याउने हुनपर्छ”, उहाँले भन्नुभयो, “आफ्नो अनुकूलताअनुसार शान्ति प्रक्रियालाई बिथोल्ने, बल्झाउने काम भयो भने मुलुकले समृद्धि हासिल गर्न ढिला हुन्छ । सरकार र संसद्ले यस विषयलाई गम्भीररूपमा ध्यान दिनुपर्छ, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनुको बिकल्प छैन ।”

सांसद राईले दसैँ, तिहार, नेपाल संवत्, छठ, उधौली, ल्होसारलगायत राष्ट्रिय पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नु गर्नुभयो । “देश र जनताको पक्षमा राम्रा काम गर्न राष्ट्रिय पर्वले प्रेरणा देओस्, मुलुक दीर्घकालीन शान्तिको बाटोमा अगाडि बढोस्”, उहाँले भन्नुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।