खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ :ऐनबहादुर शाही

नारायण न्यौपाने/काठमाडौँ ,५ कात्तिक : नेपाली काङ्ग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानून निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउनुहुन्छ ।

सांसदसँग रासस संवादमा उहाँले सङ्घीय संसद्मा आफ्नो पहिलो प्रवेश भएकाले संसदीय अभ्यासको सिकाइसँगै कानून निर्माण र जनताका समजल्दाबल्दा विषयबस्तु सदनमार्फत सम्बोधन गर्न÷ गराउन आफू क्रियाशील रहेको प्रतिक्रिया दिनुभयो ।

सांसद शाही भन्नुहुन्छ, “जिल्लावासीले कानूनभन्दा विकास निर्माण चाहेका छन् । प्राकृतिक विपत्तिबाट र आगलागीबाट पीडितलाई सहयोग एवं पुनःस्थापना, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक र सिँचाइ समस्यामा आवाज उठाइरहेको छु ।”

विक्रम सम्वत् २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका शाहीले सङ्घको कर्णाली काठमाडौँ सम्पर्क समिति उपसभापति, २०४८मा मुगुबाट नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य हुँदै २०५९ मा नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएर काम गर्नुभयो ।

पार्टी एकीकरणपछि २०६७ र २०७८ मा नेपाली काङ्ग्रेस मुगुका सभापति बन्नुभएका शाहीले पाँच वर्ष अध्यापन पनि गर्नुभयो ।

प्रतिनिधिसभाले मिटर ब्याजसम्बन्धी एउटा मात्र विधेयक पारित गरेको उल्लेख गर्दै उहाँले अन्य विधेयक विचाराधीन रहेको बताउनुभयो । कानून निर्माणको मुख्य दायित्वभन्दा अन्य विषयमा अल्मलिँदा जनअपेक्षाअनुसार संसद्ले काम गर्न नसकेको बताउँदै सांसद शाही भन्नुहुन्छ, “हाम्रो मुख्य दायित्व भनेको कानून बनाउने हो तर जनतालाई राज्यबाट सहज र सुलभ सेवा उपलब्ध गराउन सरकारलाई झक्झक्याउनु पनि हाम्रो जिम्मेवारी हो ।”

मुलुकले सङ्घीय शासन प्रणालीलाई आत्मसात गरेपछि सबभन्दा बढी विकासनिर्माणसँग स्थानीय तह जोडिए तापनि पुरानो अभ्यास र निर्वाचनका बेला गरेको वाचाका कारण ससाना विकास र बिरामीको उपचारमा समेत सांसदले सहयोग गर्नुपर्ने बाध्यता रहेको वास्तविकता उहाँले सुनाउनुभयो ।

सांसद शाही भन्नुहुन्छ, “कानून निर्माणको पहिलो जिम्मेवारीप्रति हामी सचेत छौँ, विकास–निर्माणका कामलाई गति दिने जिम्मेवारी पनि छ । जनताका माग हामीले नै सम्बोधन गर्नुपर्छ भन्ने मान्यता जनतामा छ । विकासका जनचाहना पूरा गर्न मन्त्रालय धाउनु र मन्त्रीलाई भेट्नु दैनिकी नै बनेको छ ।”

वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसमा व्यापक सुधारको खाँचो औँल्याउँदै उहाँले निष्ठाको राजनीति गर्ने सामान्य परिवारको व्यक्तिलाई चुनाव लड्नु चूनौतिपूर्ण भएको बताउनुभयो ।

समाजमा सबैतिर सुशासनको विषय उठिरहेको बताउँदै उहाँले भन्नुभयो, “जनता निराश भएका छन्, विगतको शासन प्रणाली ठीक नभएर गणतन्त्रको विकल्प रोजियो तर जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् ।” भ्रष्टाचार निवारणको प्रतिबद्धता व्यवहारमा लागू नहुँदा जनतामा निराश भएका उहाँको विश्लेषण छ ।

रोजगारीको अभावमा युवावर्ग विदेश पलायन भएकामा चिन्ता व्यक्त गर्दै सांसद शाहीले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउन सके अर्थतन्त्रमा पनि टेवा पुग्ने बताउनुभयो । उच्च शिक्षाका निम्ति विदेशिनेको लस्करले पनि उहाँलाई चिन्तित तुल्याएको छ, भन्नुभयो, “शिक्षा सहज छैन, भोलि यो पढेर राम्रो अवसर र रोजगारीको सुनिश्चिता हुन्छ भन्ने पनि भएन । भविष्यको सुनिश्चितताको विकल्प खोज्ने क्रममा युवा विद्यार्थी विदेश जानु पर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको छ ।”

चिकित्सा र इन्जिनियरिङ मात्र होइन, अरु विषयको पढाई पनि नेपालमा निकै महँगो हुँदै गरेको बताउदै सांसद शाहीले शिक्षा सर्वसुलभ नभएको, विपन्न वर्गका विद्यार्थीले ती विषय पढ्ने कल्पना पनि गर्न नसक्ने भएकाले यस क्षेत्रमा तत्काल सुधार हुनुपर्ने बताउनुभयो । आन्दोलन नगरी कुनै माग सुनुवाइ नहुने स्थिति आउनु विडम्बना भएको टिप्पणी गर्नुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।