जनताको काम भएन भने कानुन बनाएको बेकार हुन्छ : नेत्री सेजुवाल

नारायण न्यौपाने/काठमाडौँ, ७ कात्तिक : नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुहुन्छ ।

सांसदसँग रासस संवादमा उहाँ भन्नुहुन्छ, “राजनीतिक खिचातानी र निरन्तर सरकार परिवर्तनले निर्धारित लक्ष्यअनुरुप प्रगति हासिल गर्न सकेनौ । अहिलेसम्म जति उपलब्धि हासिल गर्न पथ्र्याे, त्यो हुन सकेन भन्ने कुरा मलाई मात्र होइन, धेरैलाई खड्केको छ ।”

देशभरकै समस्या र प्राथमिकता संसद्मार्फत सरकारद्वारा सम्बोधन गराउन ध्यानाकर्षण गर्ने विधि र प्रक्रियाको अभ्यास सिकिरहेको बताउँदै नेत्री सेजुवाल सदनमा सत्तापक्ष र प्रतिपक्ष भनेर गरिने जुहारी आफूलाई पटक्कै चित्त नबुझेको प्रतिक्रिया दिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “कुनै पनि सरकारले सुरु गरेका असल काम र अभ्यास जुनसुकै सरकार परिवर्तन भए पनि निरन्तरता दिएर कार्यान्वयन गरी पूर्णता दिनुपर्छ, गुणस्तरीय कानुन निर्माणलाई जोड दिँदै प्रभावकारी कार्यान्वयनमा साझा धारणा आउनुपर्छ भन्ने मेरो दृढ मान्यता छ ।”

प्रतिनिधिसभाको नियमावलीअनुरुप कार्यको जिम्मेवारी र प्रक्रियालगायत विषयवस्तुको जानकारी लिँदै कानुन निर्माणको मुख्य काममा अहिले आफूहरू परेको लागि परेको सांसद सेजुवाल बताउनुहुन्छ ।

जनताको ठूलो आकाङ्क्षा भएकाले सीमित स्रोतसाधनका कारण उठाइएका ती सबै माग सम्बोधन गर्न कठिनाइ हुने स्थानीय तहको नेतृत्वमा रहँदाको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “स्रोतसाधन कम छ, सम्बोधन गर्नुपर्ने जनसङ्ख्या र भूगोल ठूलो छ ।”

जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएकी सेजुवालले शिक्षक सङ्घको विशिष्ट सदस्य र साविक कर्णालीको प्रथम महिला प्रधानाध्यापकको अनुभव पनि सम्हाली सक्नुभएको छ ।

मुुलुक सङ्घीयताको अभ्यासमा प्रवेश गरेपछिको निर्वाचनमा पहिलो निर्वाचित महिला नगरप्रमुख घोषित उहाँ नेपाली कांगे्रसको निर्वाचित केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो।

सांसद सेजुवाल अहिले आफूले प्रतिनिधित्व गर्ने जुम्लाका प्रमुख समस्या विद्युत्, टेलिफोन, कालोपत्रे सडक सञ्जाल विस्तार, महिलामा काममाथि कामको बोझ, बालविवाह र युवामा लागुऔषध दुरुपयोग नियन्त्रणजस्ता विषय रहेको बताउनुहुन्छ ।

उहाँ नेपाल विकासन्मुख देश भएकाले विकासका दृष्टिले स्तरोन्नतीका लागि सांसदको मुख्य जिम्मेवारी कानुन बनाउने भए पनि प्रणालीमा नचलेकाकारण सांसदले विभिन्न खाले समस्याको भारी बोक्न पर्ने बाध्यात्मक अवस्था रहेको प्रतिक्रिया दिनुहुन्छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समिति सदस्य सेजुवाल भन्नुहुन्छ, “समाजले प्राप्त गर्नुपर्ने न्यूनतम आधारभूत कुराको समेत अभावका कारण जनप्रतिनिधिले विकास निर्माणलगायत कार्यमा दगुर्न परेको छ । त्यो सांसदको नभई नागरिकको एजेण्डा हो ।”

उहाँसहित समितिको टोलीले दसैँ, तिहार, छठलगायत पर्वका बेला अत्यावश्यक दैनिक उपभोग्य सामग्रीमा हुनसक्ने मूल्य वृद्धि तथा कालोबजारी नियन्त्रणका लागि देशका विभिन्न स्थानमा पुगेर अनुगमन गरेको थियो ।

एक प्रश्नमा नेत्री सेजुवाल भन्नुहुन्छ, “यो मुुलुकमा कानुनका दस्तावेज कति बने कति, कानुन बनाएर मात्र हुन्न । बनेका कानुन कार्यान्वयन हुनुप¥यो । कामै भएन भने कानुन बनाएको बेकार भयो नि हैन र !”

संविधानको अनुसूचीमै आवश्यक कानुन बाउने अधिकार र जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारलाई पनि रहेको उल्लेख गर्दै उहाँ प्रदेश र स्थानीय तहमा स्रोत र साधनको स्थिति कमजोर रहेकाले त्यो जुटाउन सासदले भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुहुन्छ ।

सांसद सेजुवाल भन्नुहुन्छ, “कतिपय स्थानीय तह र प्रदेश सरकारको नेतृत्व फरक दलको भएकाले बराबर अनुदान बाँडफाँट भएको छैन, जबसम्म स्थानीय तह स्रोतसाधनले आत्मनिर्भर र प्रणाली स्थापित हुँदैन तबसम्म सांसद विकास निर्माण कार्यमा संलग्न हुनुपर्ने देखिन्छ ।”

एक प्रश्नमा उहाँ संसदमा जनताप्रति उत्तरदायी भएर जिम्मेवारी बहन गर्ने, जिम्मेवारीपूर्वक आवाज बुलन्द गर्ने, समस्या र मुद्दा उजागर गर्ने र उठाइएको विषयलाई सरकारले सम्बोधन गर्ने हो भने आवेगमा बोल्न पर्ने र रेकर्डबाट हटाउने परिस्थिति नै नआउने विचार प्रकट गर्नुहुन्छ ।

लोकप्रीय बन्ने होडमा आवेगमा बोल्दा मिडियाले स्थान दिन्छ भन्ने गलत बुझाइले मलजल गरेको बताउँदै नेत्री सेजुवाल एक–अर्काेलाई आक्षेप लगाउनुभन्दा अनुशासित, रचनात्मक, सुझबुझ, ज्ञानबद्र्धक र शिष्टतापूर्वक राखिने मन्तव्यलाई नै सबैले सम्मान गर्ने धारणा व्यक्त गर्नुहुन्छ।

उहाँ भन्नुहुन्छ, “सबैलाई नेतृत्व गर्ने राजनीतिक क्षेत्र साझा विकास निर्माणका लागि भन्दा पनि व्यक्ति र समूहमा मात्र केन्द्रित हुन पुग्यो । यसो हुनुमा समाज क्षेत्रको दोष छ । देशलाई प्रणालीमा नढालेसम्म सुशासनको नारालाई कार्यान्वनमा लैजान चुनौती छ ।”

राजनीतिमा ठूलो त्यग, तपस्या गरेको र देशका लागि समर्पित व्यक्तिलाई नागरिकले निर्वाचनमा सहयोग पु¥याउन पर्ने खाँचो औँल्याउँदै नेत्री सेजुवाल निष्टामा रहनेभन्दा चारैतिर हात हालेका व्यक्ति चयन गर्ने मतदातासमेत दोषी रहेको धारणा व्यक्त गर्नुहुन्छ ।

अर्थमुखी राजनीतिले स्थान पाउँदै गएकाले निष्टा ओझेलमा परेको बताउँदै उहाँ गुणस्तरीय शिक्षा र रोजगारीका अभावले युवा विद्यार्थीलाई विदेश पलायन हुन नदिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुहुन्छ ।

नेत्री सेजुवाल भन्नुहुन्छ, “आफ्नो देशको महत्व र पैसाको मूल्य नदेख्ने, विदेशी डलरलाई जुहारत ठान्ने सोच गलत छ । युवा विद्यार्थीलाई लक्ष्य गरी स्वदेशमै रोजगारी सिर्जना तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गराउनुपर्छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।