दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटे

अजयकुमार साह /धनुषा, २४ कात्तिक : दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ ।

अघिपछिको समयमा फुर्सदिला बनेका उनीहरु दीपावली, तिहारजस्ता चार्डपर्वहरु आएपछि व्यस्त हुने गरेका छन् । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दसैँ सकेलगत्तै कुमालहरु माटाका भाँडा बनाउन दिनरात नभनी जुटेका छन् । चाडपर्वका बेला बढी खपत हुने माटोको भाँडा माग अनुसारको पूरा गर्न यतिबेला कुमाले निकै व्यस्त देखिन्छन् ।

दीपावली ९तिहार० र छठ पर्वमा कलश, दियो, घडा ९गाग्रो० र छ्याँची ९दही जमाउने भाडा०, तौला ९माटोको डेक्ची० र ढकना ९बिर्को० सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार धनुषासहित तराईका जिल्लाहरुका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ । यसै बेलालाई आफ्नो कमाईको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन् ।

“अन्य चाडपर्वमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दसैँ टारियो”, क्षीरेश्वरनाथ नगरपालिका–८ इच्छापुरका कुमाले टोलका सुरेन्द्र पण्डित कुमालले भन्नुभयो, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ । दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सुरेन्द्रको थप भनाइ छ ।

अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको माग बढेको देखिन्छ । कुमाल जातिले परम्परादेखि माटोको भाँडा बनाउँदै आए पनि अहिलेका युवा पुस्ताले परम्परागत पेसालाई नअपनाएपछि बजारको मागअनुसार धान्न गाह्रो भएको उनीहरु बताउँछन् ।

दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मी पूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ ।

माटोको दियो तथा अन्य माटोको भाँडा बनाउन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–हरैयामा बसोबास गर्ने कुमालेहरु यतिबेला व्यस्त भएको देखिन्छ । उनीहरुले बनाएका माटाका भाँडाहरु सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामदेखि महोत्तरीको बर्दिवाससम्म बिक्री वितरण हुने गरेको छ ।

दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले धनुषाका सबैजसो गाउँ, नगर बस्तीका हटियामा माटाका भाँडाका छुट्टै बजार लाग्ने गरेको छ । साप्ताहिक हाट बजारबाहेक नगरगाउँ बस्तीका चोकचोकमै कुमालेले माटाका भाँडाको बजार लगाउन सुरु गरिसकेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादव बताउनुहुन्छ । उहाँले मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको बताउनुभयो ।

विष्णु पण्डित कुमालेको अनुसार आफूले माटाका भाँडा बनाउन थालेको ४५ वर्ष जति भयो । हजुरबुबाहरुबाट आफूले यो सीप सिकेर माटाका भाँडा बनाउँदै बिक्री विवतरण गरिरहेको उहाँले बताउनुभयो । उहाँले एक दिनमा पाँच सय जति माटोको दिया बनाउने गरेको बताउनुभयो । चिने जानेकाले घरमा आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो । बढी जसो होलसेल पसलमा माटाका भाँडा बिक्री गर्ने गरेका पण्डितले बताउनुभयो । अहिले आफूसँग भए जतिको माटाका दियोहरु सबै बिक्री वितरण गरिसकेको उहाँले बताउनुभयो । उहाँले भाँडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दसैँ मनाइएको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आपूmहरुको उपयुक्त अवसर भएको बताउनुहुन्छ ।

यसपालि दसैँ सकिएलगत्तै जमेको माटाका भाँडाको बजार छठसम्म रहने भएकाले र मूल्य वृद्धिसमेत भएकाले यो छठ पर्वसम्म करिब रु १५ लाखभन्दा बढीको कारोबार हुने जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ बताउनुहुन्छ । कुमालेहरुको मुख्य पेसा माटाका भाँडा बनाउने रहे पनि थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेसालाई अवमूल्यन गरेका कारण चाडपर्वको बेला बढेको माग पूरा गर्न हम्मेहम्मे परेको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजारका ५५ वर्षीय लक्ष्मण पण्डित कुमालेले बताउनुभयो । सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवद्र्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उहाँको आशय छ ।

झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयको भन्दा बढी माटाको दियो धुपोउरोलगायत सामग्रीको माग हुने गरेको कारण यो समयमा कुमाले माटाका सामग्री बनाउन व्यस्त बनेका छन् । सखुवाबजार नयाँटोल बस्ने ६० वर्षीय जयनारायण पण्डितले माटोको भाँडाकुँडा बनाउँदा अरू बेलामा भनेजस्तो आम्दानी नहुने हुँदा जीविकोपार्जनमै समस्या हुने गरेको बताउनुभयो । पुर्खाले अँगाल्दै आएको पेसालाई आफूहरुले छोड्न नसकिएको उहाँको भनाइ छ । भनेजस्तो आम्दानी नभए पनि सामान्य रुपमा घर खर्च चलिरहेको छ ।

केही वर्ष आगाडिसम्म माटाका भाँडा बनाउने पेसा अँगाल्दै आएका कुमालेहरु बढ्दो आल्मोनियम र प्लास्टिकका भाँडाहरुसँग माटाको भाँडाले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।प्लास्टिकका सामानहरु सस्तोमा पाउने तथा आफूहरुले प्रयोग गर्ने माटो, दाउरा र रङरोगनका सामग्रीको मूल्य बढेका कारण पेसालाई निरन्तरता दिन कठिनाइ भएको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दशरथप्रसाद पण्डितले बताउनुभयो । आफूहरुले ३६ किसिमका माटाका भाँडाहरु बनाउने गरेको उहाँको भनाइ छ । अहिले माटोलगायत बनाइएको सामग्रीहरु आगोमा पकाउनको लागि आवश्यक सबै सामग्रीहरु खरीद गर्नुपर्ने हुँदा लागत अनुसारको आम्दानी नहुने भएकाले युवा पुस्ताले परम्परागत पेशाप्रति उदासीनता देखाएको दशरथ पण्डितको भनाइ छ । अहिलेसम्म पुख्र्यौली पेसालाई आफूहरुले जसोतसो धाने पनि नयाँ पुस्ताले देखाएको उदासीनताका कारण भविष्यमा माटोको भाँडाको विकल्पमा अन्य भाँडाले ठाउँ लिनेमा यो समुदाय चिन्तित देखिन्छ ।

यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्वलित गर्ने चलन रहेको पनि पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट जल्ने झिलीमिली बत्तीको प्रचलन बढ्दो छ । “केही वर्षअघि सम्म पाला नै धेरै प्रयोग गरिन्थ्यो,” आफ्नो बुबासँगै लामो समयदेखि पाला बनाउन सिकेका महेन्द्रनगरका ४५ वर्षीय रामदेव पण्डितले भन्नुभयोे, “अहिले चीनले प्लास्टिकका र बत्तीबाट जल्ने दियोको आकृतिका सामग्री बनाइदिएपछि पाला बिक्री हुन अलि समस्या पर्न गएको छ ।” केही वर्ष पहिलासम्म तिहारमा मात्र रु एक लाख पाला बेच्ने गरेको अनुभव रामदेवले सुनाउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।