मुगु घटना : भिसा नमिलाएकाे रिस फेर्न र सुन लुट्ने मनसायले हत्या

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।

टोलीले घटनामा संलग्न रहेकाे आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । दुवैलाई आज शुक्रवार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका छायाँनाथ रारा–७ पिना गाउँ घर भई अहिले बाँकेकाे बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहाेरालाई प्रहरीले सार्वजनिक गरेको हो ।

हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नम्बर २ बाट प्रहरीले पक्राउ गरेको थियो । यही कात्तिक ८ गते राति मन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उहाँका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र पाँच महिनाका छोरा रहरको घरभित्रै हत्या भएको थियो ।

हत्या आरोपी गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ । घरमा दशैँ मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो ।

हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई भिसा लगाइदिन दुई वर्षअघि आग्रह गरेका थिए । दीपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए । त्यही भिसा नमिलाई दिएका कारण रिस साँधेको प्रहरीले बताएको छ ।
उनीहरूले शुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको छ । २०८० जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाल बोहोरालाई भेटेको, त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०/१२ तोला सुन लुटपाट गर्ने योजना बनाई त्यही योजनाअनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आई गोपालको घरमा बसेको, ७ गते र ८ गते राति गोपालको पुरानो गोठमा लुकी बसेको, गोपालले लुकाएर खाना खुवाएको र कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किएपछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा खुलेकाे कर्णाली प्रहरी प्रमुख भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताउनुभयो ।

हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरी लुटी लिएर फरार भएका थिए । प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाई हिँडेका थिए । गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए । प्रहरीका अनुसार अनुसन्धान टोलीले बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादोकामा रहेकाे गजेन्द्रविक्रम शाहीको घरमा गोर्खराज शाहीले लुकाइछिपाइ राखेको एक लाख ७९ हजार रुपैयाँ, राहदानी, मुगुबाट गएको बसको टिकट फेला पारेको थियो ।

घटनाको अनुसन्धानका लागि शुरुदेखि जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको टोली र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको दुई वटा अनुसन्धान टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट आएको नतिजालाई केलाएर प्रहरीले मुगु सामूहिक हत्याका आरोपी प्रक्राउ गर्न सफल भएको हो । अनुसन्धानका क्रममा सीआईबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो ।

अनुसन्धानमा चार टोलीका १४ सदस्य खटिएका थिए । प्रत्यक टोलीलाई छुट्टाछुट्टै क्षेत्र बनाएर अनुसन्धान गरिएको थियो । प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि सामूहिक हत्याको थप अनुसन्धान जारी रहने पनि प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।