‘माननीय’ शब्दको सम्मान गर्न आचारविचार र व्यवहार मननीय हुनुपर्छ– नेता मैनाली

नारायण न्यौपाने/काठमाडौँ, २७ कात्तिक : चार दशकभन्दा बढी राजनीति गर्नुभएका सांसद अच्युतप्रसाद मैनालीले सदनमा शालीन, बौद्धिक र प्रखरवक्ताको परिचय बनाउनुभएको छ ।

विसं २०३८ देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा संलग्न उहाँ नेपाल ल क्याम्पस स्ववियु सभापति, नेकपा (एमाले) बारा जिल्ला कमिटी सदस्य, कोल्हवी गाविस उपाध्यक्ष, जिविस सदस्य, एमाले बारा जिल्ला सचिवको जिम्मेवारी सम्हालेको उहाँसग अनुभव छ ।

विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतत्वको सरकारको जनसम्पर्क सल्लाहकार भई काम गर्नुभएका नेता मैनालीले राजनीतिक परिवर्तनको आन्दोलनमा विभिन्न समयमा करिब दुई वर्ष कारागार जीवन बिताउनुभएको छ । उहाँ विसं २०७९ को निर्वाचनमा बारा क्षेत्र नं १ बाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएको हो ।

सांसदसँग रासस संवादमा नेता मैनालीले वर्तमान कार्यकालका दुई अधिवेशनमा सदनमा भएका अभ्यासबाट आफू सन्तुष्ट हुन नसेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “जुन सोच र उत्साहका साथ जनताले जसरी मलाई विश्वास गरेर निर्वाचनमा विजयी गराएर सदनमा बढाउनुभयो, कार्यजिम्मेवारी र परिणामका हिसाबले अपेक्षित भूमिका हुन सकेन । समग्रमा भन्नुपर्दा म त्यति सन्तुष्ट छैन ।”

नेता मैनालीले सडक निर्माण, पूर्वाधार विकास, खानेपानी, विद्युतीकरणका कार्यक्रम वडादेखि पालिका, प्रदेश हँुदै सङ्घसम्मले गर्नुपर्ने जिम्मेवारी तत् तत् संस्था र व्यक्तिले जिम्मेवारी नगरिदिएका कारण सबै विषयको गुनासा र आक्रोश सांसदलाई आएर ठोकिने गरेको घटना सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो भूमिका भनेको स्थानीय तहदेखि प्रदेश र सङ्घसम्ममा समन्वय गर्ने, समस्याको पहिचान गर्ने र समाधान दिने, जनताका आवाज र विकास निर्माणसम्बन्धी पक्षलाई सम्बोधन गर्ने जिम्मेवारी रहिआएको छ ।”

मुलुकको सङ्कटपूर्ण अर्थतन्त्रका कारण जनताले प्रस्ताव गरेका नयाँ योजना अघि बढाउन चुनौती खडा गरेको जनाउँदै उहाँले आफ्ना मुख्य प्राथमिकता निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभारम्भ गर्नु, काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माण सम्पन्न गराउन र सिमरौनगढको ऐतिहासिक महत्वको संरक्षण र प्रवद्र्धन गर्नुभएको स्पष्ट पार्नुभयो ।

सांसद मैनालीले भन्नुभयो, “जिल्ला र प्रदेशकै प्रतिष्ठा द्रुतमार्ग र निजगढ विमानस्थल समयै निर्माण सम्पन्न हुनुपर्छ, हजारौँ वर्षको इतिहास बोकेको संस्कृति र इतिहासको विराशत बोकेको सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा पार्न सकियो भने आर्थिक समृद्धिमा ठूलो योगदान दिन सक्छ ।”

कृषिमा आधुनिकीकरण, सिँचाइ, बीउबिजन, माछापालन र अरु सडक पूर्वाधार विस्तारका कार्यक्रमलाई पनि प्राथमिकतामै राख्न पर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । स्थानीय तहमा कार्यकारी टिकाउन र बजेट अभाव कारण जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नसकिएका विषय पनि सङ्घीय सांसदसँग आएर ठोकिने गरेको जनाउँदै उहाँले पछिल्लो समय आफूले गरेको घरदैलोमा मतदाताले आफ्ना समस्या कुनै पनि तहका सरकारले गहनरुपमा लिएर सम्बोधन नगरेको गुनासो गर्नुभएको जानकारी दिनुभयो ।

संसद्को यस कार्यकाल प्रारम्भ भएसँगै गर्नुपरेको उपचुनाव, ससदीय समितिका गठनमा भएको ढिलाइ तथा संसद्लाई प्रभावकारी तुल्याउन सरकारले आवश्यक ध्यान नदिँदा हुन पुगेको अवरोधका कारण सोचेअनुरुप कानुन निर्माणमै आफ्नोसमेत प्रस्तुति कमजोर हुन पुगेको उहाँले स्पष्ट गर्नुभयो ।

सदनमा उठेको प्रश्न र भूमिकाबारे प्रतिपक्षका आवाजलाई सम्बोधन गर्न नसकिए पनि सम्मान प्रकट गर्नुपर्नेमा त्यो हुन नसकेको सुन प्रकरणलगायतका घटना सुनाउँदै उहाँले उठेको महत्वपूर्ण विषयलाई सरकारले रत्तिभर सम्बोधन नगर्ने र बहुमतको दम्भ राख्ने प्रवृत्तिले सदनको ओज र गरिमा कम्जोर भएको आरोप लगाउनुभयो ।

निर्वाचित प्रतिनिधि नयाँ र संसदीय अभ्यासको अनुभव कमजोर रहेका कारण परिणाम दिने र प्रभावकारी हुनेमा पनि कमजोरी देखिएको बताउँदै नेता मैनालीले सदनलाई परिणाममुखी बनाउन सांसद अभ्यास, प्रशिक्षण र अनुभवको कमी महसुस भएको विचार प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “आवेशमा आएर बोल्ने प्रवृत्तिले सिङ्गो सदन र देशको गरिमालाई राम्रो गर्दैन, जिम्मेवार नेता र प्रमुख सचेतकले यस पाटोलाई बुझ्नपर्छ, मिडियाले यसलाई उजागर गर्नुपर्छ भने हामी सच्चिनै पर्छ ।”

नकारात्मक र अराजक गतिविधिले चर्चामा आउने र त्यो नै सर्वाेपरि हो भन्ने मानसिकतालाई कदायी स्वीकार गर्न नहुने विचार राख्दै सांसद मैनालीले भन्नुभयो, “‘माननीय’ भनी सम्बोधन गरिसकेपछि आचारविचार र व्यवहार पनि मननीय र माननीय हुन जरुरी छ । यर्थाथ आत्मदेखिनै स्वीकार्य आचरण हुनुपर्छ भन्नेमा म ढुुक्क छु ।”

भ्रष्टाचारविरुद्धको नारा दिए पनि हाम्रा व्यवहार र आचार त्यसअनुरुप नभई फरक गरिएको उदाहरणका रुपमा भ्रष्टाचार मौलाउन गएको बताउँदै उहाँले पछिल्लो समय आत्मसात् गरिएको खर्चिलो निर्वाचन प्रणाली र क्रियाकलापले सादगी राजनीतिलाई ओझेलमा पारेको र राजनीतिक बदनाम भएको प्रतिक्रिया दिनुभयो ।

सांसद मैनालीले अभिभावकले बालबालिकालाई र विद्यालयले विद्यार्थीलाई दिइने शिक्षामै जसरी भए पनि पैसा कमाउनुपर्छ भन्ने मनोवृत्तिमा परिर्वन ल्याउन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा केही पनि छैन, जेछ, विदेशमै छ, पैसा नै सबै कुरा हो, विदेश गएपछि अथाह पैसा कमाइन्छ भन्ने युवा र विद्यार्थीको सोचमा परिर्वतन ल्याउन सक्नुपर्छ । त्यसका लाग देशभित्र अवसर सिर्जना र गुणस्तरीय शिक्षा दिन सक्नुपर्छ । ”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।