प्रविधिको विकासले मादल व्यवसाय सङ्कटमा

डम्मर बुढा मगर/ढोरपाटन (बागलुङ), २८ कात्तिक (रासस) : नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्व । अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मादलबिना हरेक लोकगीत सङ्गीत अपुरो हुन्छन् । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । तिहार पर्व होस् या अन्य मेला महोत्सव गाउँ सहर जताततै मादल घन्किन्छन् । जब मादलको ताल बज्छ, तब हरेक मानिसको मनमा उमङ्ग भरिन्छ । पछिल्लो समय मादलको प्रयोग घट्दै गएकामा सङ्गीतका पारखी मात्र होइन, मादल बनाउने व्यवसायीहरु पनि चिन्तितमा छन् ।

यतिबेला गाउँ सहर जताततै तिहारको रौनक छ । पहिला पहिला देउसी भैलो खेल्नेले बजाएको मादलको धुन परपरसम्म सुनिने गर्दथ्यो तर आजभोलि मादल कम बज्ने गरेका छन् । तिहारमा देउसीभैलो खेल्ने टोलीहरुले एक महिना अगाडि नै मादल किनिसकेका हुन्थे । दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले जोर मादल किन्ने गर्दथे । तर यस वर्ष भने तिहार भित्रिसके पनि मादल विक्री नहुँदा बागलुङका मादल व्यवसायीहरु चिन्तित बनेका छन् । नेपालको सांस्कृतिक बाजामध्येको मादल विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला बजाएर रमाइलो गर्ने नेपालीजनको पहिचान नै हो ।

विगतका वर्षहरुमा यो याममा सयौँ मादल बच्ने व्यवसायी यतिबेला घाम तारेर ग्राहक कुरेर बसिरहेका छन् । तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय सकटमा पर्न थालेको हो । पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरु मोबाइल, डेक र ठूला–ठूला स्पिकरमै रमाउँछन् । उहिलेका मादलको तालमा नाचिने नाचहरु पनि लोप भइसकेका छन् । आधुनिक, पप र रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ ।

एक दशक अगाडिको तिहारको समयमा एउटै पसलबाट पाँच सयको हाराहारीमा मादल बिक्री हुने गर्थे तर यस वर्षको तिहारमा १० वटासम्म पनि बिक्री नभएको यहाँका व्यवसायीहरुको गुनासो छ । बागलुङका विभिन्न ठाउँहरुमा वर्षौँदेखि मादल व्यवसाय गर्ने व्यापारीहरु हिजोआज निकै चिन्तित बनेका छन् । पहिले–पहिले दसैँ तिहारका समयमा गाउँ र सहरबाट मादलको माग निकै हुने गरे पनि अहिले तीन वर्ष अगाडि बनाएका मादल पनि विक्री नभएको स्थानीय पिरताम्बर दर्जी बताउनुहुन्छ ।

आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादलको व्यापार घट्नको साथै परम्परागत बाजा लोप हुन थालेको दर्जीले दुःखेसो पोख्नुभयो । “पेसा धरापमा पर्दै गएको छ, रोजीरोट घुम्ने डर भयो, हातमा सीप मात्र भएर के गर्ने ?, बनाएका सामान विक्री हुँदैनन्, आधा बढी उमेर यही पेसामा बिताएँ, अब बुढेसकाल पनि लाग्यो, के काम गर्ने, मादल त बसीबसी पनि बनाउन सक्थे” उहाँले भन्नुभयो, “ कुनै बेला पसलमा मान्छेको भीड हुन्थ्यो, मागअनुसारको मादल पु¥याउन सक्दैनथे, अहिले कोही आउँदैनन्, दिनभरि पसल खोल्यो, पुराना मादललाई रङ्गरोगन गरेर नयाँ बनायो, तुना खुस्काकाको कस्ने बाहेक अरु केही उपलब्धि छैन ।”

विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ । बागलुङमा विभिन्न जातजातिका आफ्नै कला, संस्कृति छन् । हरेक चाडबाडका बेला उनीहरुले आफ्नो रीतिरिवाज अनुसारका गीत गाउने, बजाउने र रमाइलो गर्ने प्रचलन छ ।

युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन् ।सत्ताइस वर्षदेखि मादल व्यवसाय गर्दै आउनु भएका दिलबहादुर नेपालीले सरकारले मौलिक संस्कृतिसँगै बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो गर्नुभयो । विगतमा तिहारका लागि वर्षभरि मादल बनाउने गर्ने र एक महिनामा बच्ने गरेको स्मरण गर्दै पहिले बनाएका मादल विक्री नहुँदा आजसम्म पनि गोदाममै थन्किएको सुुनाउनुभयो । उहाँ मादल व्यवसायको संरक्षण गर्न सरकारले गाउँ–गाउँ विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम समावेश गर्नु पर्ने बताउनुहुन्छ । जिल्लाका १० वटै पालिकाले कला संस्कृति संरक्षणका लागि पश्चिमा संस्कतिलाई निरुत्साहन गरे मादल व्यवसाय फस्टाउने र स्थानीय संस्कृतिको जगेर्ना हुने नेपाली बताउनुहुन्छ ।

आफूले उत्पादन गरेको मादल बागलुङ जिल्लाका विभिन्न स्थानसँग गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, पर्वत, म्याग्दी र बुटवलसम्म पुग्ने गरेको भन्दै अचेल कतैबाट पनि माग नआउने उहाँले सुनाउनुभयो । मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने उहाँको भनाइ छ । मादलको माग घटेसँगै कच्चा पदार्थ पनि पाउन छोडेको नेपालीले बताउनुभयो । अन्य समयमा भन्दा तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९५ प्रतिशतले कमी आएको उहाँको भनाइ छ । पहिले विदेल जानेहरुले पनि आफू कहाँबाट मादल किनेर लैजाने गरेको उहाँ सम्झिनुहुन्छ ।

नेपाली भन्नुहुन्छ, “मैले मादल बनाउन थालेको २२÷२२ वर्ष भयो, काम सुरु गर्ने बेला धेरैले हेप्थे, छालाको काम गर्छ भन्थे, त्यस्तो भन्दा मन खिन्न हुन्थ्यो, पछि–पछि मादल विक्री भएर पैसा कमाउन थालेपछि जसले जे भने पनि मैले केही मतलब नै राखिन, परिवार राम्रोसँग चलेको थियो, छोराछोरी पढाउने, हुर्काउने पनि यहीँबाट भयो, वर्षभरि मादल बनायो, तिहार आउने बेला बेच्ने गरिन्थ्यो, कुनै मेला महोत्सवमा पनि लगेर पनि विक्री हुन्थ्यो, अहिले जहाँ लगेर राखे पनि विक्री नै हुँदैन, हातमा भएको सीप बिक्न छोड्यो ।”

पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल विक्रीमा कमी आएको धेरैको बुझाई छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै सङ्कटमा परेपछि व्यवसायीहरु पनि पलायन हुने अवस्था आएको छ । अचेल देउसी भैलो खेल्नेले इलेक्ट्रोनिकक्स साउण्ड सिस्टम किन्ने गर्छन् । साउण्ड सिस्टमलाई न्यूनतम पनि पाँच हजार पर्छ । तर मादल दुई हजार पाँच सय रुपैयाँमै पाइन्छ । मादल सस्तो हुँदा हुँदै पनि देउसी भैलो खेल्नेहरुले स्पिकर र माइक्रोफोन किन्ने गरेका छन् । भैलो खेल्नेले पहिलेको जस्तो मौलिक गीत र नाच नदेखाउने स्थानीय ६७ वर्षीय दलबहादुर घर्ती मगरले बताउनुभयो ।

उहाँले तिहारमा पुराना मौलिक गीत गाउने, मादल, झ्याली, बजाएर देउसी भैलो खेल्ने गरे पनि अचेल त्यो सबै हराउँदै गएको बताउनुभयो । आफ्ना पालामा तिहारका बेला सोरठी, मारुनीलगायतका नाचहरु देखाउने गरे पनि अहिलेका युवा पुस्ताले चासो नदिँदा त्यस्ता नाँचहरु हराउँदै गएको उहाँको भनाइ छ । सोरठी र मारुनी नाच गीत र मादलकै तालमा नाचिने घर्तीमगर बताउनुहुन्छ । आफूहरुको पुस्ताले नाच्न, गाउन र बजाउन नसक्ने भएपछि त्यस्ता मौलिक संस्कृति लोप हुँदै गएको घर्ती मगरको गुनासो छ । स्थानीय सरकारले पुराना कला संस्कृतिलाई संरक्षण गर्न चाहे बुढापाका मिलेर निःशुल्क सिकाउन सक्ने उहाँ बताउनुहुन्छ ।

“हाम्रो जिजु बाजेदेखि नै चल्दै आएका रीतिथिति हामीहरुले मनायौँ, उहाँले गाउने गीत, बनाउने, मादल, डम्फु हामीहरुले पनि बजायौँ, हाम्रो पालासम्म पुराना संस्कृतिहरु बँचेका थिए, अहिले हामीहरु नसक्ने भयौँ, बुढेसकाल लाग्यो, हात पाखुरा चल्दैनन्” उहाँले भन्नुभयो, “हाम्रो पालामा अहिलेको जस्तो गीत बजाउने, सुन्ने चलन थिएन, उतिबेला त हामी आफैँ गाउने, बजाउने र मेला महोत्सवमा रमाइलो गर्ने चलन थियो, रोधी बस्ने पनि गरिन्थ्यो अहिले त यो कहीँ कतै सुनिदैन, रोधी जस्तै तिहारमा नाच्ने मारुनी र सोरठी पनि लोप भएर जाने भए ।”पछिल्लो समय मादल विक्री हुन छोडेपछि ‘इलेक्ट्रोनिक्स साउण्ड सिस्टम’को माग बढी रहेको व्यापारीहरु बताउँछन् । ठूला–ठूला मेला महोत्सवका लागि मात्र विक्री हुने स्पिकर हिजोआज तिहारमा भैलो खेल्नका लागि किनिन्छन् ।

स्पिकरमा रेकर्ड गरेको गीत बजाएर नाच्न सहज हुने हुँदा धेरैले साउण्ड सिस्टम किन्न थालेको बागलुङका मिलन सुवेदीले बताउनुभयो । उहाँले यस वर्ष तिहार अगाडि नै ७० वटा साउण्ड सिस्टमका लागि माग आएको हुँदा आफूले काठमाडौँदेखि १०० बढी खरिद गरेर ल्याएको भन्दै त्यसले नपुगेर थप डेढ सय मगाएको बताउनुभयो । आफ्नो पसलबाट हरेक गाउँ र बजारमा साना ठूला माइक तथा स्पिकरहरु पुग्ने हुँदा आम्दानी पनि राम्रो गर्न सफल भएको उहाँको भनाइ छ । आफूले १३ वर्षदेखि घडी, रेडियो, टिभी, मोबाइल लगायतका विद्युतीय सामग्री विक्री तथा मर्मत गर्दै आएको बताउँदै सुवेदीले तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढेकाले यसको व्यापारतिर लागेको बताउनुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नयाँ पुस्तालाई मौलिक संस्कृतिको संरक्षणमा आकर्षित गर्न पाठ्यपुस्तकमै स्थानीय स्तरमा रहेका कला, संस्कृति, परम्परालगायतका विषयवस्तु समावेश गरेर पठनपाठन सुरु गरेको बताउनुभयो । “हामी सानो हुँदा हाम्रो बुबा, हजुरबुबाहरुले तिहार र मेला महोत्सवको बेला गीत गाएर मादल बजाउँदै नाच्ने गर्नुहुन्थ्यो’’, अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘‘कला संस्कृति लोप हुनबाट जोगाउनका लागि अहिलेदेखि नै नयाँ पुस्तालाई आकर्षण गर्ने खालका कामको थालनी गर्दै छौँ ।” पहिले यस क्षेत्रमा रहेका यानीमाया, सुनियाया, झ्याउरेलगायत मादलको तालमा गाइने गीतहरु लोप भएको अध्यक्ष बुढा मगरले बताउनुभयो । युवा पुस्तालाई मौलिक संस्कृति संरक्षणमा अग्रसर गराउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको र कामसमेत भइराखेको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।