व्यवसायीलाई फूलमाला बिक्री गर्न भ्याइनभ्याइ

रामपुर (पाल्पा), २८ कात्तिक : तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफँै पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् ।

यतिबेला हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा सयपत्री फूल खरिद गर्न विभिन्न ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । तिहारको चहलपहलले फूल टिप्ने र बिक्री गर्दैमा समय बितेको पत्तो नभएको व्यवसायी दिलबहादुर थापा बताउनुहुन्छ ।

“तिहार सुरु भएदेखि नै फूलमाला खरिद गर्न ग्राहक आउन थाल्नुभएको हो, बिहानदेखि साँझसम्म फूलवारीमा फूल टिप्ने, माला तयार पार्ने कार्यमा व्यस्त छौँ, फूलमालाको व्यापार राम्रो हँुदै गएको छ”, उहाँले भन्नुभयो ।

यसपटक मात्रै करिब रु चार लाखसम्मको फूलमाला बिक्रीबाट आम्दानी हुने व्यवसायी थापाले बताउनुभएको छ । गत वर्षको तिहारमा मात्रै रु दुई लाख ५० हजार बराबरको आम्दानी भएको उहाँको भनाइ छ । चार वर्षअघि रामपुर नगरपालिकाको सहयोगमा बुटवलमा एक हप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएर रामपुरमा व्यावसायिक उत्पादन सुरु गरेको उहाँले बताउनुभयो ।

फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढङ्गबाट उहाँले व्यावसायिक रुपमा खेती गर्नुभएको छ । करिब १५ मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफूमात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ ।

एक वर्षमा तीन पटकसम्म सयपत्रीको व्यावसायिक खेती गर्न सकिन्छ । तिहारमा फूलमालाको अभाव हुन नदिनका लागि हरेक वर्ष क्षेत्रफल बढाएर खेती गरिरहेको अर्का व्यवसायी लालबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक वर्ष तिहारमा फूल अभाव भएर धेरै ग्राहकलाई रित्तै पठाउनुपरेकाले अहिले व्यवसाय बढाएर खेती गरिरहेकाले यो वर्षको तिहारमा फूल अभाव हुँदैन, प्रशस्त मात्रामा फूल छन्, जतिबेला पनि ग्राहकलाई हामी उपलब्ध गराउनेछौँ” ।

यहाँ उत्पादन भएको सयपत्री फूल प्रतिकिलो रु पाँच सय, प्रतिमाला रु एक सय ५० मा धमाधम बिक्री भइरहेको छ । गुणस्तरीय फूलमाला पाएपछि ग्राहक सन्तुष्ट छन् । करिब साढे चार रोपनी जग्गामा लगाइएको फूल यतिबेला ढकमक्क पहेँलै फुलेका छन् । परीक्षणका रुपमा एक रोपनीमा सुरु गरेको व्यवसायले पहिलो वर्षमा नै राम्रो व्यापार भएपछि यसलाई निरन्तरता दिँदै हरेक वर्ष व्यावसाय बढाउँदै गएको व्यवसायी बताउँछन् । फूलमा बसेर फोटो, भिडियो, टिकटक बनाउने हरेक उमेर समुहको चहलपहल पनि उत्तिकै छ ।

रामपुर नगरपालिकामा हाम्रो आधुनिक कृषि फार्मले मात्रै सयपत्री फूलको व्यवसाय सुरुआत गरेको छ । यसकारण पनि यहाँ उत्पादन भएको फूल रामपुर नगरपालिकाभित्र हुने विभिन्न सभा, समारोह, कार्यक्रम, विवाह, व्रतबन्धलगायतका कार्यमा राम्रै खपत हुने गरेको छ । स्थानीयस्तरमा नै माग धेरै आएकाले बाहिरी बजारमा फूलमाला नपठाउने व्यवसायीको सोच छ । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई व्यवसायीले पहिलो प्राथमिकता दिएका छन् ।

पछिल्लो समय विभिन्न सङ्घ संस्था, विद्यालयमा दीपावली, शुभकामना आदानप्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनु अघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् । फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ ।

‘हाइब्रिड’ जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फूल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री फूललाई व्यवसायीकरण र संरक्षण गर्दै रामपुर नगरपालिकाले प्रोत्साहनस्वरुप विभिन्न अनुदानका कार्यक्रम सहयोग गरेको छ । यहाँ जुनसुकै समयमा पनि सयपत्री फूल उपलब्ध हुने गरेको छ । हाम्रो आधुनिक कृषि फार्ममा प्रविधि सिकेर यस वर्ष विभिन्न विद्यालयमा शिक्षक, विद्यार्थीले सयपत्री फूलखेती सुरु गरेका छन् । यो वर्ष रामपुरमा विगतका वर्षमा जस्तो तिहारमा सयपत्री फूलमालाको अभाव नहुने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।