माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

रुपनी जिएम/जानकी (बाँके), १ मङ्सिर : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले ५० नाघिसक्नुभएका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउनुहुन्छ । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन सुरु गर्नुभएका उहाँले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताउनुभयो । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उहाँ यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउनुहुन्छ ।

“बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु”, अमिनले विगत सम्झिँदै भन्नुभयो ।

बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउनुहुन्छ । “जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु”, उहाँले भन्नुभयो, “माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।”

अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा रु १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा रु पाँच–छ हजार आम्दानी भएको अमिनले बताउनुभयो । “यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ ?” निरास हुँदै उहाँले यस वर्ष दसैँतिहारमा भएको घाटाको कथा सुनाउनुभयो ।

अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उहाँले तीन घोडा पाल्नुभएको छ । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउनुहुन्छ । “सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।”

अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आउनुभएको छ । कसगर भाँडा बनाउन सासूबाट सिकेको बताउनुहुन्छ । नेपालगञ्ज उपमहागनर पालिका–५ स्थित मसानघाट टोलकी उहाँले आफूसँगै दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाउनुभएको छ ।

पुख्र्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्नुहुन्छ । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उहाँको भनाइ । गत वर्षको दसैँतिहारमा रु १३ हजारको व्यापार गर्नुभएकी सुफियाले रु १० हजार नाफा कमाएको बताउनुभयो । तर यस वर्ष भने जम्मा रु पाँच हजार जतिको नाफा भएको उहाँको भनाइ छ । अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउनुहुन्छ ।

“हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो । तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ ।” सुफियाले यस वर्षको दसैँतिहारका लागि एक ट्रली माटोका भाँडा बनाउनुभएको थियो । तर उहाँले सोचेजस्तो नाफा हुन सकेन ।

बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुख्र्यौली पेसाका रूपमा चिनाउँदै आइरहनुभएको छ । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहनुभएको छ ।

पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड–१९ पछि भने ओरोला लाग्दै गएको कसगरहरूको भनाइ छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्नुहुन्छ । एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ । अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ । उमेरले झण्डै चार दशक नाघिसक्नुभएका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आइरहनुभएको छ । पप्पुको सातजनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गर्नुहुन्छ । तर माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउने उहाँको भनाइ छ ।

पप्पुले भन्नुभयो, “फुर्सदको समयमा छोराले ज्याला मजदुरी गर्ने गर्छ र तर जब माटो मुछेर भाँडा पकाउनुपर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्यालामजदुरीको काम छाडेर हामीसँगै भाँडा बनाउन सहयोग गर्छ ।” एक ट्रली माटोको मूल्य रु चार हजार तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि माटोको मूल्य बढेर रु साढे चार हजार तिरेको पप्पु, मोहम्मद र सुफियाले बताउनुभयो । उहाँहरूका अनुसार माटो बिक्री गर्ने साहुले यसै वर्षदेखि मूल्य बढाएपछि साढे एक ट्रलीको मूल्य साढे चार हजार भएको हो ।

काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । “पहिला–पहिला गोबरको गुइँठामा भाँडा पकाइन्थ्यो तर अहिले पशुाचौपाया पाल्न छाडेकाले गोबर पनि पाउन छाडेको छ”, सुफियाले भन्नुभयो, “हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा भाँडा पकाएर तयार गर्ने गर्छौँ ।”

एक क्विन्टल दाउरालाई रु एक हजार पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले कसगरहरू प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । रु दुईदेखि दुई सय ५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन् । माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउनु हुँदैन । त्यो चार महिनामा मात्रै उहाँहरू दैनिकीरूपमा ज्यालामजदुरीको काम गरेर साँझ–बिहानको छाकको जोहो गर्ने गर्नुहुन्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।