नारायणी नदीमा छठको तयारी

भरतपुर (चितवन), १ मङ्सिर : चितवनको नारायणी नदीमा छठ पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिरहेको छ ।

समितिका उपाध्यक्ष राजेशबाबु गुप्ताका अनुसार यस वर्ष व्रतालुहरुको सुविधाका लागि टेन्ट निर्माण भइरहेको छ । “नारायणीमा अघ्र्य दिँदा सुविधा होस् भनेर घाट सम्याउने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “भरतपुर महानगर र चितवन प्रशासनसँग समन्वय गरी काम गरिरहेका छौँ ।”

नारायणी नदी किनारमा छठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यस वर्ष पनि गतको तुलनामा बढी भक्तजन आउने गुप्ताले बताउनुभयो । पहिले पहिले तराईवासीले मात्रै मनाउने छठ पछिल्लो समय पहाडी समुदायका मानिसले समेत पूजा गर्ने र हेर्न आउने उहाँको भनाइ छ ।

नदी किनारमा पूजाका लागि छुट्टाछुट्टै ठाउँ निर्माण गरिएको छ भने ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका मूर्ति राखिने समितिका उपाध्यक्ष गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ चितवनसहित नवलपरासी पूर्व (नवलपुर), तनहुँ, धादिङ, गोरखा र लमजुङबाट व्रतालु छठ मनाउन आउने गरेका छन् ।

समितिका सदस्य दिलीपकुमार गुप्ताले १६ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठ पर्व मनाउन थालिएको बताउनुभयो । “कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो । त्यसैले प्रत्येक वर्ष छठको अवसरमा व्रतालुहरु यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो, “विसं २०४८ देखि सानो समूह बनाएर यहाँ छठ मनाइन्थ्यो । समिति स्थापना भएपछि व्यवस्थित रुपमा मनाउन थालिएको हो ।” व्यवस्थापनका लागि समितिले घरदैलो कार्यक्रममार्फत स्वेच्छिक रुपमा आर्थिक सहयोग सङ्कलन गरेको उहाँको भनाइ थियो ।

नारायणगढमा व्यवसाय गर्दै आउनुभएको राकेश यादवले आस्था र विश्वासको धरोहरका रुपमा छठ पर्व मनाउँदै आएको उहाँले बताउनुभयो । उहाँले छठ नयाँ पुस्ताका लागि पनि उल्लासको पर्व भएको बताउनुभयो । “छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जाने गरिएकामा पछिल्लो समयमा यही नदी किनारमा व्रत बस्न थालेका छन् । सोही कारण हरेक वर्ष भक्तजनको सङ्ख्या बढ्दै गएको हो”, यादवले भन्नुभयो । यस क्षेत्रमा नारायणी किनारसँगै माडी नगरपालिकाको रिउ, बाँदरमुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी, बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ ।

उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ । आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । चामल, पीठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायत प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।