प्रेम र समर्पणको पर्व : ‘सामा–चखेवा’

गोपालप्रसाद बराल/महोत्तरी, २ मङ्सिर : मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्र सांस्कृतिक र धार्मिक चाडपर्वको उर्वर भूमिका रुपमा रहेको छ । यहाँ आपसी प्रेम र सद्भावका धेरै चाडपर्व तथा लोक परम्परा छन् । साउन पूर्णिमाको ‘राखी’, कात्तिक शुक्ल द्वितीयाका दिनको ‘भैयादुज’लगायत पर्वले दिदीबहिनी–दाजुभाइबीच प्रेम र समर्पण दर्शाउँछन् ।

‘सामा–चखेवा’ पनि दिदीबहिनी–दाजुभाइबीच प्रेम, सद्भाव र समर्पणको पर्वका रुपमा मनाइन्छ । यसलाई बोलीचालीमा ‘सामा खेल’ पनि भनिन्छ । मिथिलामा आज कात्तिक शुक्ल पञ्चमीसँगै यो पर्व प्रारम्भ भएको छ । ‘सामा–चखेवा’ पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइन्छ ।

मैथिल परम्परामा प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चखेवा आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन सुरु हुने यो पर्व आज सुरु भई १० दिनसम्म चल्ने छ । एघाराँै पूर्णिमाका दिन सामा–चखेवाको विसर्जन गरी समापन गरिन्छ ।

दश दिनसम्म मिथिला क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा–चखेवा खेल्नेछन् । आज बिहानै मिथिला क्षेत्रका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा पोखरी र नदीका भीर (पाखा, कान्ला) मा गएर सामा–चखेवा बनाउन दाजुभाइको हातबाट माटो खन्न लगाई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा–चखेवा (माटाका कलात्मक मूर्ति, आकृति) बनाएका छन् ।

सामा–चखेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर रङ्गीचङ्गी बनाइन्छन् । रङ्गिसकेको चखेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा लगेर दश दिनसम्म गीत गाउँदै, नाच्दै चेलिबेटीले सामा–चखेवा खेल्छन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीले आ–आफ्ना दाजुभाइको सौर्यको बखान गर्दै गाइने गीत अत्यन्त प्रेमिल र कर्णप्रिय लाग्छन् । बहादुरीपूर्ण, परोपकारी र देशभक्तिका काम आफ्नै दाजुभाइले गर्नसक्ने भावका गीत गाइन्छ । ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिय’ (गाउँका मुख्य भनिने नै हाम्रा जेठा दाजु हुन्, हे दाइ, गाउँमा राम्रो पोखरी खनाएर मगमग बासना चल्ने चम्पा पूmल छेउमा लगाइदिनोस्) । दाजुभाइको सौर्य बखान गर्दै दिदीबहिनीहरु पर्र्वभित्रका प्रत्येक रात सामा चखेवा खेल्दै समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।

दश दिनसम्म सामा चखेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामा चखेवालाई पुनः बनाउने, रङ्गरोगन गर्ने, दिनभरि सुकाएर बेलुका दही चिउरा खुवाएर सोही सामा चखेवाबाट दाजुभाइको फार (पोल्टा) भराउने र दाजुभाइबाट सामा चखेवा फुटाउन लगाएर बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँ/नगर बस्ती नजिकको वन वा जोतिएको खेतमा लगेर उक्त चखेवाको विसर्जन गर्छन् ।

मिथिला क्षेत्रका दिदीबहिनीका लागि सामा–चखेवा पर्व विशिष्ट रहँदै आएको छ । सामान्यतया विवाहित चेलीबेटी यो पर्व माइतमा मनाउने गर्दछन् । दाजुभाइ दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको यो पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निकै महत्वपूर्ण मानिन्छ । आफ्ना दाजुभाइ/दिदीबहिनी नहुनेले नजिकका नाता पर्नेबाट पनि यो पर्व मनाउँछन् ।

सामा–चखेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने र दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप प्राचीन मिथिलाका महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ ।

यो पर्व करिब साढे पाँच हजार वर्षपहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चखेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्तिले बताउनुभयो ।

उहाँका अनुसार कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चखेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामा–चकेवा पर्वको परम्परा बसेको मिथिला क्षेत्रकै प्रसिद्घ साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ ।

मिथिला क्षेत्रको यो पर्व पछिल्लो समयमा भने आकर्षण घट्दै गएको भन्दै बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । नयाँ पिँढीका छोरीहरुले सामा खेलमा चासो नदेखाएपछि अबका केही वर्षपछि यो इतिहासमा मात्रै पढ्न पाइने विषय हुने हो कि भन्ने लाग्न थालेको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका पूर्वअध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी ८४ वर्षीय वरिष्ठ पत्रकार विन्देश्वरीप्रसाद मण्डलले बताउनुभयो ।

यो पर्वको महत्त्व कायम राख्न नयाँ पिँढीले चासो बढाउनुपर्ने पाका मैथिल (मिथिलाका बासिन्दा) को मत छ । अहिलेका युवा पुस्ताले सामाचखेवासहितका सांस्कृतिक पर्वका महत्त्व कायम राख्न यससँग जोडिएका परम्पराको संरक्षण र संवद्र्धनमा चासो बढाउनु आवश्यक रहेको जलेश्वर–६ बखरीका महेश्वर रायको भनाइ थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।