आधुनिकताले पञ्चेबाजा संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ), ७ कात्तिक : हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुञ्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन् । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारी निकायबाट पहल हुनुपर्ने बुढापाका बताउँछन् ।

प्छिल्लो एक दशकयता पञ्जेबाजाको सट्टा ठूलाठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बज्ने गर्छन् । मौलिक संस्कृतिका रुपमा रहेको पञ्चेबाजा दलित समुदायअन्तर्गतका दमाइँ जातिले बजाउने प्रचलन रहेकामा पछिल्लो समय मगर र गुरुङ समुदायका युवाले पनि बजाउन थालेका स्थानीय बताउँछन् ।

बुढापाकाले नसक्ने र युवा पुस्ताले चासो नदिँदा पञ्चेबाजा लोप हुन थालेका स्थानीय भक्तबहादुर दर्जीले बताउनुभयो । उहाँले बागलुङ जिल्ला पञ्चेबाजाका लागि चर्चित मानिए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बताउनुभयो । सहर बजारमा एक दशक अगाडिदेखिनै बाजाको सट्टा साउण्ड सिस्टम बजाउने गरिएको उहाँको भनाइ थियो ।

“अहिले दूर दराजका गाउँमा पनि रेकर्डेड गीत बजाउने प्रचलन बढेको छ । विवाहका लागि पञ्चेबाजा नभइ नहुने माध्यम थियो । अझ पश्चिम बागलुङको केही ठाउँमा मृत्यु पश्चात् पनि बाजा बजाउने चलन थियो”, दर्जीले भन्नुभयो, “अचेल दहसंस्कारका लागि शवलाई मसानघाट लैजाँदा बाजा बजाउने चलन पनि हराउँदै गएको छ ।” उहाँका अनुसार एकदशक पहिले जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा दर्जन बढी बाजा बजाउनेको समूह रहेकामा अहिले हराउँदै गएका छन् ।

अहिलेका युवा शक्ति विदेशीन थालेपछि समूह बनाउन सङ्ख्या नपुग्दा बाजा बजाउन छोडिएको दर्जीले बताउनुभयो । गाउँमा भएका युवाले पनि चासो नदिँदा पञ्चेबाजा हराउँदै गएको उहाँले गुनासो गर्नुभयो । छ वर्षको उमेरदेखि बाजा बजाउन थालेको सुनाउँदै उहाँले पछिल्लो तीन वर्षदेखि भने बजाउन छोडेको बताउनुभयो ।

पञ्चेबाजाको एक समूहका लागि न्यूनतम आठ जना चाहिने भन्दै गाउँमा त्यो सङ्ख्यामा युवा नभएको दर्जीको भनाइ छ । अहिलेका युवाले बाजा बजाउन लजाउने र बजाइ हाले पनि ताल मिलाउन नसक्ने उहाँले बताउनुभयो । आफूले बाजा बजाएरै परिवार पालेको भन्दै अहिले बाजाको सट्टा आधुनिक विद्युतीय बाजाको चलन बढे्को उहाँले बताउनुभयो ।

“बाजा जोकोहीले बजाउन जान्दैनन् । सबै जातिमा बाजा बजाउनका लागि कला हुँदैन । हामीले सानैदेखि बाउबाजेले बजाएको देखेर बजाएका हौँ । अहिलेका छोरा नातिले हामीलाई पनि नबजाउ भन्छन् । पहिले बाजा बजाउनेलाई हेपाइको दृष्टिकोणले हेर्थे”, दर्जीले भन्नुभयो, “अहिले हेराइ परिवर्तन भएको छ । अन्य जातिकाले पनि पञ्जेबाजा बजाउन थालेका छन् ।”

पहिले बाजा बजाउनेलाई हेपाइको दृष्टिकोणले हेरिने भए पनि अहिले आधुनिकतासँगै शिक्षाका कारण मानिसको हेराइँमा परिवर्तन आएको स्थानीय भीमबहादुर नेपालीले बताउनुभयो । उहाँले यहीँ पेसाबाट जीविकोपार्जन भएको भन्दै अहिलेसम्म गाउँमा बुढापाकाले नै पञ्चेबाजा संरक्षण गर्दै आएको बताउनुभयो ।

सानैदेखि बाजा बनाउने, बजाउने र नाचगानमा बढी चासो भएकाले बुढेसकालमा पनि नछोडेको नेपालीको भनाइ थियो । पहिलेपहिले गाउँका साथै सहरबजारमा पनि बाजा बजाउन जाने गरेको अनुभव सुनाउँदै उहाँले आधुनिक प्रविधिको विकासले पञ्चेबाजालाई विस्थापित गर्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो । अब पञ्चेबाजाको संरक्षण गर्न नसके एक दशकपछि गाउँ÷सहर कतै पनि पञ्चेबाजा नबज्ने स्थिति आउने उहाँको भनाइ थियो ।

“वैशाख, मङ्सिर र माघमा धेरै विवाह हुने गर्थे । विवाह हुने सिजनमा कहिल्यै खाली बस्नु पर्दैनथ्यो । अहिले विवाह गर्ने चलन पनि फेरियो । पहिलेको जस्तो भातखुवाई, छैटी, छेवारलगायत परम्परामा बाजा बज्न छोडेका छन्”, नेपालीले भन्नुभयो, “त्यहीँ भएर बाजा बजाउने काम पनि कम भयो । अहिले महिनामा चार दिन पनि बाजा बजाउनु पर्दैन । हरेक दिन बाजा बजाउने समूहमा सदस्य घटिरहेका छन् ।” उहाँले सिजनमा एकै महिनाको कमाइ पचास हजारभन्दा बढी हुने गरेको भएको सुनाउनुभयो । बढ्दो पाश्चात्य संस्कृतिलाई नियन्त्रण गर्न नसके मौलिकता हराउने र पञ्चेबाजा पनि लोप हुने नेपालीको भनाइ थियो ।

जिल्लामा पञ्चेबाजा हराउँदै जान थालेपछि केही पालिकाले संरक्षणमा चासो दिएका छन् । बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरुप बागलुङ र गलकोट नगरपालिकाले पञ्चेबाजा, सनाइँ, झ्यालीलगायतका आवश्यक सामग्री सहयोग गरिरहेका छन् ।

कला संस्कृतिको संरक्षण गर्ने जिम्मा आफूहरुको भएको भन्दै बेलाबेला प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । बाजा समूहलाई नगरपालिकाले बाजासहित, कर्नाल र पोसाक उपलब्ध गराएको उहाँले बताउनुभयो । स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा मौलिक संस्कृतिसँग जोडिएका बाजा बजाउनुपर्ने गरी नीतिसमेत बनाउन थालिएको उहाँको भनाइ थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।