आफन्त र पीडितका नाममा जिम्मेवारी दिने सोच राखिए सभा ‘डम्पिङ साइट’ बन्न सक्ने खतरा : नेत्री देवकोटा

नारायण न्यौपाने/काठमाडौँ, ११ मङ्सिर :राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गर्नुहुन्छ ।

उहाँले सरकार को आयो आएन, बजेट कस्तो ल्याइयो, महाभियोग र अविश्वासको प्रस्ताव किन भन्ने विषयमा राष्ट्रियसभाले वास्ता नराख्ने भएकाले त्यसरी बेग्ला–बेग्लै तोकेर जिम्मेवार बनाएमा निरन्तर र समयमै कानुन निर्माण हुने विचार प्रकट गर्नुभयो ।

सदस्य देवकोटाले भन्नुभयो, “विकास कसरी गर्ने, बजेट कहाँ हाल्ने अनि सरकार गठन र विघटनको काम उसले गर्छ । कानुन समयमै निर्माण गर्ने हो भने विधेयक निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ भन्ने पाटोबाट बहस चलाइनुपर्छ ।”

विसं २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएकी उहाँसँग नेपाल महिला सङ्घ दाङको अध्यक्ष, महिला सङ्घकै केन्द्रीय सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य, दोस्रो संविधानसभा सदस्य भई काम गरेको अनुभव छ ।

देशमा भएका विभिन्न घटनाका कारण प्रतिनिधिसभा लामो समयसम्म अवरुद्ध भएको विगतका घटना सुनाउँदै उहाँले कानुन निर्माणको प्रमुख थलो मूल जिम्मेवारी र कर्तव्यबाट प्रभावित हुँदा राज्य सञ्चालनमा पर्न सक्ने असरलाई समयमै सम्बोधन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

माथिल्लो सदनमा प्रतिनिधित्व गराउँदा विषयविज्ञको चयन गरिनुपर्ने सुझाव दिँदै उहाँले दललाई चुनावमा सहयोग गरेको, आफन्त र पीडितका नाममा जिम्मेवारी दिने सोच राखिए सभा ‘डम्पिङ साइट’ बन्न सक्ने खतराको चेतावनी दिनुभयो ।

बजेट विनियोजन र अवसर प्रदानका विषयमा सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच विभेद गरेको आरोप लगाउँदै नेत्री देवकोटाले हालसम्मका सबै सरकारले धेरै ठाउँ र विषयमा विभेद गरेकाले सांसद कानुन निर्माणमा मात्रै केन्द्रित हौँ भनिएको बताउनुभयो ।

राष्ट्रियसभालाई प्रतिनिधिसभाको छायाँका रूपमा मान्न नसकिने स्पष्ट गर्दै सदस्य देवकोटाले भन्नुभयो, “केही अभ्यासले त्यो देखाएको हुनसक्छ, त्यसलाई सुधार्नुपर्छ, तर यहाँ सरकारले बरु छायाँ बनाउन खोजेको छ ।”

जनता र राष्ट्रहितलाई शिरमा राखेरमात्र विधि निर्माण गरिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सबैको साझा भएकाले देश निर्माणमा राजनीतिक दल, जनप्रतिनिधि, राज्य र राष्ट्र लाग्नुपर्छ । सरकारमा को छ–छैन गौण विषय हो ।”

बनाइएका कानुन कार्यान्वयनको प्रभावकारिता परीक्षण र मापन हुनुपर्नेमा जोड दिँदै नेत्री देवकोटाले कानुन तर्जुमा सबैको स्वामित्व कायम गराउँदै बनेका कानुन कार्यान्वयनमा सरकारको तदारुकताको खाँचो औँल्याउनुभयो । राष्ट्रियसभामा आफ्नो छवर्षे कार्यकाल पूरा गरी तीन महिनापछि बाहिरिन लाग्नुभएकी सदस्य देवकोटाले ‘सांसदसँग रासस संवाद’मा सभाको गरिमालाई प्रभावकारी तुल्याएर दू्रतगतिमा कानुन निर्माण गर्ने आफ्नो सोच पूरा हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “द्रुतगतिमा काम गर्न सकिएको भए यसबेला सङ्घीयतासँग जोडिएका सबै कानुन निर्माण भइसक्नुपथ्र्याे, त्यो भएन । तथापि, बुद्धि, बर्कत र विवेकले भ्याएसम्म कोसिस गरियो । यस अवधिमा सकेजति राम्रो गरियो, नराम्रो भने गरिएन भन्नेमा पूर्ण विश्वास छ ।”

संविधानअनुकूल बनाइनुपर्ने कतिपय कानुन उपसमिति संयोजकका हैसियतले जिम्मेवारीकै बखत सम्पन्न गरेको विवरण सुनाउँदै उहाँले मुलुक सङ्घीयतामा प्रवेश गरिसकेपछि कानुन बनाउने र अधिकार प्राप्तिका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच दोषारोपणकै अवस्था रहेको बताउनुभयो ।

कानुन निर्माणमा सरकारको अग्रसरताका लागि बारम्बार घचघच्याएको प्रसङ्ग सुनाउँदै सदस्य देवकोटाले प्रधानमन्त्रीसँग छलफल गरी सरकारको प्रतिबद्धता लिइए पनि परिणाम देखिने गरी प्रगति हासिल हुन नसकेको गुनासो गर्नुभयो ।

प्रतिनिधिसभाबाट प्राप्त विधेयक छिटो टुङ्ग्याउनुपर्ने कानुनी व्यवस्थासँगै सरकारको समेत दबाब खेप्नुपरेको घटना सुनाउँदै उहाँले राष्ट्रियसभाबाट गएका विधेयक भने लामो समयसम्म अड्किने प्रवृत्तिको तीतो अभ्यास र अनुभूति झेल्नुपरेको भनाइ राख्नुभयो ।

सङ्घीय संसद्ले स्थानीय तह र प्रदेशलाई साधनस्रोत र कानुनमार्फत बलियो बनाउनतर्फ विशेष पहलको खाँचो औँल्याउँदै नेत्री देवकोटाले त्यसका लागि अधिकार र कार्यक्षेत्र स्पष्ट गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समाजका सबै तह र तप्का सक्रियपूर्वक लाग्नुपर्छ भन्नुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध जोडिएको कानुन निर्माण भए पनि प्रधानमन्त्रीको नेतृत्वमा रहने अन्तरसम्बन्ध परिषद्को बैठक नियमित र ठोस हुन नसकेको बताउँदै सदस्य देवकोटाले कानुनको गति पनि धिमा रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार कानुनभन्दा सरकार बनाउने, टिकाउने तथा प्रधानमन्त्री र मन्त्री बन्ने एवं बनाउने प्रतिस्पर्धामै सीमित रहन पुगेको छ ।”

सङ्घीयताको पूर्ण कार्यान्वयन र जनहितका लागि तालिका बनाएर काम गर्न संसद् र सरकारलाई सुझाव दिँदै नेत्री देवकोटाले प्रतिनिधिसभा विघटन भएको अवस्थामा स्थायी सदनलाई पन्छाएर पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरिनु व्यवहारिक नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस्तो बेला संविधान हेर्ने नभई असल अभ्यासको सुरुआत गर्न सक्नुपथ्र्याे । मुलुकलाई समृद्धितर्फ लैजान कानुनी पाटोबाट साझा र एकल अधिकारका प्रश्न टुङ्ग्याएर अब अघि बढ्नुको विकल्प छैन ।” नेत्री देवकोटाले निष्ठा, कुण्ठा र आक्रोशलाई बेलैमा सम्बोधन नगरिँदा हुने विस्फोटनबाट पुग्ने क्षति निकै भयवह र आकलन गर्न नसकिने भएकाले भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, रोजगारी सिर्जना र उद्योग कलकारखाना स्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहलाई सुदृढ तुल्याउन विशेष समिति गठन तथा महिला अधिकारका सम्बन्धमा सङ्कल्प प्रस्तावमा सरकारबाट भएको प्रतिबद्धता कार्यान्वयनको खाँचो औँल्याउँदै सदस्य देवकोटाले कानुन निर्माणमा राष्ट्रियसभामा सत्ता र प्रतिपक्षको व्यवहार कहिलै महसुस नभएको प्रतिक्रिया दिनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मतदाता, समाज र अभिभावकले पठाएको संस्थाको गरिमा र शिर निहुर्याउने काम गरिनँ । जतिसके राम्रो गरेँ । राजनीतिबाट यो मेरो विश्राम होइन, भूमिका र परिवेशानुसार कामबाट सन्तुष्टि छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।