रबिनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ,पालिकाले दियो लहिनो गाई

झापा, १७ मङ्सिर : गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उहाँले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिनुभएको थियो । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उहाँको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो ।

सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्नुहुन्छ । घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन् । यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो ।

ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ । तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।

अहिले तीनजना शिशु हुर्काउन पत्नी एक्लैले नसक्ने भएकाले पतिसहित परिवारका सबै सदस्य लागेर स्याहार गर्दै आएका छन् । ज्यालादारी काममा जान नभ्याउँदा दैनिक कमाइ शून्य भएको छ ।

ताजपुरिया परिवारलाई खाद्यान्न सहयोग र लत्ताकपडाको खाँचो छ । ऐलानी जग्गामा रहेको भुइँघरमा ओछ्याउने र बस्ने न्याना कपडा छैनन् । शिशु बिरामी हुने जोखिम बढेको छ । शिशुलाई लगाइदिने पर्याप्त न्यानो कपडा परिवारसँग छैन । शिशु सुताउने कोक्रो नभएकाले साडीको कामचलाउ झोलुङ्गो बनाइएको छ । सुत्केरी आमा र शिशुलाई लामखुट्टबाट जोगाउने झुल पनि छैन ।

पालिकाले दियो लहिनो गाई

गौरीगञ्ज गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुको भरणपोषणका लागि लहिनो गाई प्रदान गरेको छ । पालिकाको तर्फबाट अढाइ लिटर दूध दिने एउटा लहिनो गाई निःशुल्क उपलब्ध गराइएको पालिकाकी उपप्रमुख पुजन न्यौपानेले बताउनुभयो । नवजात तीन शिशुलाई हुर्काउन सहज होस् भनेर पालिकाले दुधालु गाई रु ३३ हजारमा किनेर दिएको उहाँले जानकारी दिनुभयो ।

लहिनो गाई प्रदान गर्न गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी र उपाध्यक्ष न्यौपाने सुत्केरी महिलाको घरैमा पुग्नुभएको थियो । नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा पनि पालिकाको टोलीले जानकारी लिएको थियो । अर्थाभावले सुत्केरी र नवजात शिशुको ताजा स्वास्थ्य अवस्थाको परीक्षण हुनसकेको छैन ।

यसैबीच जर्मनीमा रहेका गौरीगञ्जका गजेन्द्र न्यौपानेले पुष्प बरुवाल फाउण्डेसनमार्फत सुत्केरी ताजपुरियाको सहयोगका लागि रु ३० हजार पठाइदिएको पालिकाका उपाध्यक्ष न्यौपानेले बताउनुभयो । उक्त रकम परिवारको आवश्यकतानुसार खर्च गरिने र नवजात शिशुका नाममा बैंकमा मुद्दति खाता खोलेर जनही रु पाँच हजार जम्मा गरिदिन दाताले आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

गौरीगञ्ज गाउँपालिकाले सुत्केरीका लागि दमकसम्मका अस्पताल पुर्याउन गाउँवासीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिँदै आएको र सीमान्तकृत र दलितका कक्षा १ मा पढ्ने छोराछोरीलाई रु पाँच हजारको मुद्दति खाता खोलिदिने कार्य गरिरहेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । चालु आर्थिक वर्षदेखि नै कक्षा १ का विद्यार्थीलाई बैंकको मुद्दति खातामा पैसा जम्मा गरिदिने गरी रु १० लाखको बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।