एक साताको यात्रा चार घण्टामा

ढोरपाटन (बागलुङ), २१ मङ्सिर : डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो ।

सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ । सडक सञ्जालको पहुँच र लोकमार्ग कालोपत्र गरिएपछि हिजोआज यहाँका गाउँबाट बागलुङ बजार चार घण्टामै आउजाउ गर्न सकिन्छ । जिल्लाको सबैभन्दा टाढाका मानिने सीखोला गाउँपालिका ५ र ६ का बस्तीलाई अहिले सडकले नजिक बनाएको छ ।

पहिले निकै दुर्गम मानिने यस क्षेत्रको अहिले रुपै स्वरुप बदलिएको छ । स्थानीयको घरै अगाडिबाट दैनिक दर्जनौँ गाडी गुड्न थालेका छन् । लोकमार्ग बागलुङ हुँदै पूर्वी रुकुमसँग जोडिएपछि शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोलामा अवसर र सम्भावनाका ढोका खुलेका छन् । लोकमार्ग वरपरका खाली जग्गामा धमाधम भवन बन्न थालेका छन् भने व्यापार व्यवसाय पनि बढ्दै गएको छ । हजारौँ नागरिकले बजारको सुविधा यही पाउन थालेका छन् । पहिले एक साता हिँडेर बागलुङ आएपछि बजार देखेका अहिले आफ्नै ठाउँमा बजार बसेपछि दङ्ग छन् ।

स्थानीय ७६ वर्षीय थमबहादुर पुन मगरले ३० वर्ष अगाडि आफू पहिलोपटक बागलुङ पुग्दा साढे छ दिन लागेको सुनाउँदै अहिले बिहान गएर साँझ घर आइपुग्ने वातावरण बनेको बताउनुभयो । घर जग्गा किनबेच गर्दा र नागरिकता बनाउन बागलुङ पुग्दा झण्डै एक महिना बिताउनु परेको स्मरण गर्दै आजभोलि सबै काम बुर्तिवाङमा हुन थालेको उहाँले सुनाउनुभयो । लोकमार्गले गाउँ नजोडिँदा दैनिक उपभोग्य सामान बुटवल, पाल्पालगायत स्थानबाट बोकेर उपभोग गरेको सुनाउँदै उहाँले अहिले घरघरमा पसल खुलेपछि निकै सहज भएको बताउनुभयो ।

“विकास हुन धेरै समय लाग्दो रहेनछ, यहाँका कसैले पनि यो ठाउँमा सडक आउला र गाउँको मुहार फेरिएला भन्ने कल्पना गरेका थिएनन्, विकट ठाउँ हुँदा उही गोठालो गर्ने, खेतीपाती गरेर जीवन चलाउने गरिन्थ्यो, यस्तो मोटरबाटो थिएन”, पुन मगरले भन्नुभयो, “उतिबेला म बागलुङ बजार जाँदा धेरै दिन लागेको थियो, अहिले चार घण्टामै पुगिन्छ, म छक्क परेको छु । हामीभन्दा अगाडिका पुस्ताले यो सुविधा पाएनन्, हामीहरुले बुढेसकालमा भए पनि हामीले पायौँ ।”

स्थानीय सुन्तली सुनारले लोकमार्गले गर्दा गाउँमा ठूलो परिवर्तन आएको बताउनुभयो । पहिले–पहिले ग्रामीण क्षेत्रमा कुनै पनि पक्की भवन नभएको भन्दै उहाँले अहिले धमाधम पक्की भवन, सडक र विद्यालय बन्न थालेको सुनाउनुभयो । पाँच वर्ष अगाडिसम्म आफ्नो ठाउँमा कच्ची घर रहेकामा अहिले बजारबाट सिमेन्ट छडलगायत सामग्री सहजरुपमा ढुवानी गरेर पक्की भवन बन्न थालेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लोकमार्गले यात्राका लाग समय कम लाग्ने मात्रै भएन, यसले हामीजस्ता विकट ठाउँका मान्छेको जीवनशैलीनै बदलियो, सरसफाइदेखि लिएर स्वास्थ्य शिक्षामा हामी धेरै पछाडि थियौँ, तर अहिले धेरै सुधार भएको छ, बाहिरबाट मान्छे पनि आउँछन्, उनीहरुबाट नयाँ कुरा सिक्ने अवसर पनि मिलेको छ, गाउँका उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ ।”

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङको मालढुङ्गादेखि रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेसम्म जोडेको छ । करिब एक सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौँ गाउँलाई जोडेको छ । यो मार्ग कालोपत्र भएपछि निसीखोला क्षेत्रमा ठूलो परिवर्तन आएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।