खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

झापा, २२ मङ्सिर : सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।

मेचीनगरको वडा नं ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त आगो मेचीनगर र दमक नगरपालिकाका दुई दमकलले निभाएको थियो ।

“बेलैमा नगरपालिकाको दमकल नआएको भए अरु धेरै क्षति हुन्थ्यो”, सोही वडाको प्रगतिशील टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले भन्नुभयो, “हेर्दाहेर्दै कुञ्जनमणि धमलाको गोठ जलेर खरानी भयो, गोठमा भण्डारण गरेको डेढ बिघाको पराल र मालसामान पनि डढ्यो ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार यस मङ्सिरमा जिल्लाका विभिन्न स्थानमा आगलागीका १५ घटना हुँदा रु नौ लाख ५६ हजार पाँच सय बराबरको धनमाल क्षति भएको छ । प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार खेतमा असरल्ल फ्याँकिने परालमा स्थानीयले नै आगो लगाउने गरेका छन् । पर्यावरणीय दृष्टिलेसमेत हानिकारक र मानव बस्तीमै क्षति पुग्ने भएकाले खेतभरि धेरैमात्रामा परालमा आगो लगाउने कार्य रोक्न जनचेतनाको खाँचो रहेको रेग्मीले बताउनुभयो ।

गत कात्तिक र साउनमा परालको कुन्युमा आगलागीका नौ घटना हुँदा रु चार लाख १९ हजार बराबरको धनमाल क्षति भएको उहाँले जानकारी दिनुभयो । जिल्लाका गाउँमा धान काटेर खेतमै कुन्यु लगाएर राख्ने र थ्रेसर मेसिन ल्याएर पालैसँग धान झार्ने चलन छ । धान झारेपछि पराल नबिक्ने भएकाले कृषकले पराललाई खेतमा फिजाएर आगो लगाइदिने गर्छन् । त्यही आगो अनियन्त्रित भएर बस्तीसम्म पुग्ने गरेको भट्टराई बताउनुहुन्छ ।

विर्तामोड–१० विराटपोखरमा यसै साता धानको कुन्युमा दिउँसै आगलागी हुँदा शन्तकुमार लोहारले अधिया कमाएको डेढ सय मन धान डढेर नष्ट भयो । लाइटरबाट निस्किएको आगो फैलिँदा उक्त आगलागी भएको थियो ।

यसै साता मेचीनगर–९ मागुरमाडीमा पाँच बिघा खेतको धान र चार वटा परालको कुन्युमा आगलागी भएको वडाध्यक्ष कञ्चन तामाङले बताउनुभयो । उक्त आगलागी अनियन्त्रित हुँदा नजिकैको टङ्कप्रसाद उप्रेतीको घरमा आंशिक क्षति पुगेको थियो । नगरपालिकाबाट आएको दमकलले आगो निभाउनुपरेको थियो ।

सुक्खा मौसममा धान र परालमा छिटो आगो सल्किने हुँदा त्यसबाट तीव्र गतिमा आगो फैलिन्छ । चुरोटको ठुटा जथाभावी फ्याँक्दा, लागुऔषधका प्रयोगकर्ताले नसालु पदार्थ खान जथाभावी आगो बाल्दा र बालबालिकाले आगो निस्कने वस्तु चलाउँदा आगलागी हुने गरेको छ ।

घरैपिच्छे गाईबस्तु पाल्ने चलन हराउँदै गएको र व्यावसायिक गाई फार्मले कलिलो मकैको साइलेज बनाएर खुवाउने गरेका कारण धानको पराल बिक्न छाडेको मेचीनगर–१० धुलाबारीका बिपी भट्टराई बताउनुहुन्छ । पराल नबिकेपछि भण्डारण गरेर राख्नुको साटो खेतमै छरेर आगो लगाउँदा बस्तीमा वायु प्रदूषणसमेत फैलिएको पाइन्छ । डढेको परालको पिरो धुँवाले आँखा पोल्ने समस्या आउने गरेको स्थानीय बताउँछन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।