साकेला उँधौली : भूमिको पूजा गर्दै साकेला नाचियो

खोटाङ, ११ पुस : किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन् ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किरात समुदाय ऐतिहासिकस्थल रुपाकोटगढीमा भेला भएर किराती पुर्खा÷धामीले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको सुरुआत गरेका छन् । साकेला उँभौलीको अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गरिएको दुमकिम खार्मीका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो ।

रुपाकोटगढीमा किराती पुर्खा खारम्बु राजाले शासन गरेको इतिहास छ । उँभौलीमा आ–आफ्नो थुम (टोल)मा रहेको साकेला थानमा भेला भएर भूमिको पूजा गर्दै साकेला चाड मनाउने खार्मीका किरात समुदायले उँधौलीमा भने एकै ठाउँ (रुपाकोटगढी)मा भेला भएर सामूहिकरूपमा भूमिको पूजा गर्दै मनाउने गरेका छन् ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको जनाइएको छ ।

साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ । उँधौली र उँभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेशभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ ।

उँधौली तथा उँभौली जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ ।”

साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमादेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उँधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःखसुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।