समय सीमा, मुख्य विषय र प्रक्रियामा नयाँ अनुभव लिँदैछौँ – सांसद कार्की

नारायण न्यौपाने / काठमाडौँ, १३ पुस : पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको छ ।

नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य मैना कार्की भन्नुहुन्छ, “बाहिर मञ्च पाउँदा धेरै बोलिन्थ्यो, सदनमा समयसीमा र विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ । शून्य समयमा प्राप्त एक मिनेटमा मतदाता, जिल्ला र देशका जल्दाबल्दा विषय राख्न सक्ने नयाँ अभ्यास सिकाएको छ ।”

उहाँले विधायक भएपछि कानुनको अध्ययन, निर्माण प्रक्रिया, विधेयकको सैद्धान्तिक छलफल, संशोधनजस्ता विषयमा आधारभूत ज्ञान लिँदै नयाँ कानुन निर्माण तथा विद्यमान कानुन संशोधनको आवश्यकता र संशोधन प्रस्ताव दर्ता गर्नाका कारण पुष्ट्याइँजस्ता विषयमा नयाँ सिकाइ भइरहेको बताउनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घीय संसद्मा पहिलोपटक पुग्दा खुशी लाग्नु स्वाभाविक भएको बताउँदै ‘सांसदसँग रासस संवाद’मा उहाँले भन्नुभयो, “पहिलो अभ्यास भएकाले उत्सुकतापूर्वक अनुभव लिने सिलसिला चलिरहेको छ ।”

कानुन निर्माणको सिकाइकै अभ्यास चलिरहेको बखत गत कात्तिक १७ गते जाजरकोटको भूकम्पमा ज्यान गुमाएका र घाइते भएका तथा घरगोठ भत्किएर बिचल्लीमा परेका परिवारको उद्धार र राहत सङ्कलन, वितरण तथा अस्थायी बसोबासका लागि प्रभावित क्षेत्रमै उहाँ खटिएर योगदान पु¥याउनुभयो ।

भूकम्पलगत्तै जाडोयाम सुरु भएकाले सुत्केरी, वृद्धवृद्धालगायत पीडितको जनजीवन थप कष्टकर भइरहेको जनाउँदै उहाँले अहिलेको मुख्य चुनौती अस्थायी टहरा निर्माण गरी बसोबास व्यवस्थापन गर्नुभएको बताउनुभयो ।

भूकम्पपछि स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायको समन्वयमा तत्काल उद्धार र खोजतलासको काम गरिएको घटना सुनाउँदै सांसद कार्कीले भूकम्पबाट मानवीयका साथै घरलगायत संरचना भत्किएर व्यापक भौतिक क्षति भएको बताउनुभयो ।

निर्वाचित गराएर पठाएका सांसदलगायत जनप्रतिनिधिसँग विपद्मा परेका बेला मतदाताले आशा राख्नु स्वाभाविकै भएको बताउँदै नेत्री कार्कीले छिटो अस्थायी बसोबास मिलाउन सकिएमा केही हदसम्म पीडितलाई राहत मिल्ने भएकाले तीव्ररुपमा काम गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

सरकारले उनीहरुका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्ने उहाँको भनाइ छ । भूकम्पमा उहाँका आफन्त, नातागोता र गाउँका धेरै चिनजानका व्यक्तिसमेत परेका थिए । सांसद कार्कीले भन्नुभयो, “तिनै पीडित परिवार, नेता र कार्यकर्ताको साथ, सहयोग र सद्भावमा पहिलोपटक सांसद हुने मौका पाएँ । दुःखमा परेको बेला उहाँहरुलाई सकेसम्म मल्हम लगाउन कोसिस गरिरहेकी छु ।”

आफ्ना पति जयबहादुर रावलको दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा विसं २०६१ पुस १९ गते काठमाडौँ असनमा विद्रोही पक्षबाट गोली प्रहार गरी हत्या भएपछि आफूजस्तै दुःख पाएकालाई सहयोग र न्याय दिन नेत्री कार्की सामाजिक सेवामा समेत संलग्न हुनुहुन्छ । विसं २०५४ बाट राजनीतिमा प्रवेश गर्नुभएकी नेत्री कार्कीसँग नेपाल महिला सङ्घ जाजरकोट जिल्ला अध्यक्ष, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको जिम्मेवारी सम्हालेको अनुभव छ ।

उहाँले पार्टीको जिल्ला कार्य समिति मनोनीत कोषाध्यक्ष, गरिबसँग विश्वेश्वर कार्यक्रमको जिल्ला अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी सचिव र अध्यक्ष तथा एकल महिला संस्थाको अध्यक्ष भएर काम गर्नुभयो । राजनीतिक शास्त्रमा स्नात्तकोत्तर सांसद कार्कीका पत्रपत्रिकामा सिर्जना र अभिव्यक्तिसम्बन्धी विभिन्न लेखरचना प्रकाशित छन् ।

निर्वाचनकै क्रममा विधायक भनेको कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधि हुन् भनेर राजनीतिक दल र उम्मेदवारले बुझाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँका अनुसार, निर्वाचनका बेला विगतदेखि नै सबै दलका उम्मेदवारले पुल, बाटो र विद्यालय बनाउने तथा खानेपानी ल्याउने जस्ता कुरामा मतदातासँग प्रतिबद्धता जनाउँदै गर्दा जनताले त्यो प्राप्त गर्नेमा आशा गर्नु स्वाभाविक नै छ । ‘माननीय’ले भनिदिएपछि मेरो यहाँ पुल आउँछ, बाटो, स्कुल र स्वास्थ्य चौकी बन्छ भन्ने उहाँहरुको त्यो सोचाइ र बुझाइ छ ।

नेत्री कार्कीले भन्नुभयो, “निर्वाचनका बेला हामी कानुन बनाउन जाने हो, कानुनमा के कस्ता समस्या छ, कुन बनाउँदा तपाईंहरुका सेवा, सुविधा र हकअधिकार सुनिश्चित हुन्छन् भन्ने बुझाएको भए हुन्थ्यो, त्यो भनेको भए आशामा रहने थिएनन् ।”

माननीयलाई यहाँ धारा, कुलो र पानी भएन भनेर बारम्बार फोन आउने गरेको घटना सुनाउँदै उहाँले एउटा सांसद जिल्लाको विकासका लागि बजेट हाल्न दौडिएपछि अर्काेलाई पनि दौडन दबाब पर्ने गरेको बताउनुभयो ।

सरकारले एउटा प्रणाली स्थापित गरेर बजेट विनियोजन र विकासका काम हुन्छ भनी सुनिश्चित गरे धाउन नपर्ने जनाउँदै सांसद कार्कीले सांसदलाई विकास निर्माणमा संलग्न हुनु कार्यभार थपिएको बताउनुभयो ।

उहाँका अनुसार, सांसदको मुख्य कार्यभार कानुन बनाउने हो, तर कानुन कति बनाउनुभयो भनेर जनताले खासै प्रश्न गर्दैनन् । तपाईंले जिल्लामा कहाँ बाटो बनाउनुभयो, कहाँ बजेट हाल्नुभयो, कहाँ खानेपानी र सिँचाइ व्यवस्था गर्नुभयो, कहाँ स्कुल र स्वास्थ्य चौकी निर्माण गर्नुभयो भनेर सोध्नुहुन्छ । जिल्ला र निर्वाचन क्षेत्रमा यसैका आधारमा सांसदको प्रभावकारिता मापन हुन्छ । अर्काे जिल्लाको उदाहरण दिएर तपाईंको पहुँच र प्रभाव भएन भन्ने जस्ता कुरा आउने गर्छन् ।

एक प्रसङ्गमा उहाँले जनताका हकअधिकार स्थापित गर्न कस्तो कानुन तर्जुमा गर्न आवश्यक छ भनी रायसुझाव लिन जरुरी रहेको बताउनुभयो ।

सरकारलाई राम्रो कामका लागि ठीक बाटोमा हिँडाउन प्रतिपक्षको जहिले पनि आलोचनात्मक र रचनात्मक भूमिका आवश्यक पर्ने जनाउँदै अर्काे प्रसङ्गमा उहाँले विरोधका लागि विरोध गर्ने परम्परा भने आफूलाई उचित नलागेको प्रतिक्रिया दिनुभयो ।

प्रतिपक्षले उठाएका राम्रा कुरा सरकारले सुनेन र कार्यान्वयन भएन भने लोकतान्त्रिक विधिबाटै सरकारलाई सजग र सचेत गराउन पाउनुपर्छ भन्दै नेत्री कार्कीले दलीय र व्यक्तिगत स्वार्थमा भने सदन अवरुद्ध गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

वडा तहदेखि, स्थानीय तह, प्रदेश र सङ्घसम्म खर्चिलो निर्वाचन प्रणालीका कारण विजयीहरु चुनावमा भएको खर्च उठाउनका लागि विभिन्न गलत क्रियाकलापमा संलग्न हुनसक्ने बताउँदै सांसद कार्कीले कर्मचारीतन्त्रमा पनि विकृति, विसङ्गति मौलाउँदै गएको र दण्डहीनता बढेका कारण भ्रष्टाचार बढिरहेको छ भन्नुभयो ।

उहाँका अनुसार, देशभित्र भ्रष्टाचार र अव्यवस्था बढ्नुमा राजनीतिक दल र जनप्रतिनिधि मात्र नभई समाजका सबै क्षेत्र जिम्मेवार छन् । जबसम्म भ्रष्टाचार अन्त्य हुँदैन, तबसम्म सुशासन कायम हुन सक्दैन अनि नेपाल पनि बन्दैन, हामी विकासमा अघि बढ्न पनि सक्दैनौँ । उहाँले भन्नुभयो, “यसको जरो पत्ता लगाएर न्यूनीकरण गर्नुपर्छ । समाधानका लागि सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । यसप्रति हामी चिन्तित छौँ । अभियान आफूबाट सुरु गर्नुपर्छ ।”

विगतमा पनि धेरै मानिस सशस्त्र द्वन्द्वको चपेटामा परेर गाउँ छोडेर सहर पसेका थिए । पछिल्लो समय कोरोना महामारी, भूकम्पलगायतले उत्पन्न गरेको आर्थिक सङ्कटले अध्ययन र रोजगारीका लागि पलायन हुन बाध्य भए । यी घटनाले पनि तीव्र पलायन निम्त्याएको धारणा राख्दै नेत्री कार्कीले समाजको देखासिकी गर्ने प्रवृत्ति र देशभित्र रोजगारीका अवसर नहुँदा यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वदेशमै बसेर दाम र नाम कमाएका उदाहरण धेरै छन् । नेपालमै बसेर केही गरे केही हुन्छ भन्ने सकारात्मक सन्देश र आडभरोसा सरकार र राजनीतिक दलले दिनुपर्छ । आफ्नै देशमा श्रम र पौरख गर्नुपर्छ भन्ने भावना हुनुपर्छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।